arrow

पम्फा भूषाल ठूलो नेता हुनुहोला, तर ललितपुरका जनताले उहाँलाई ठूलो मान्दैन : अमात्य (कुराकानी)

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
amatye.JPG

ललितपुर–३ बाट आफ्नो जीत सुनिश्चित भएको नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले बताए । आफू स्थानीयवासीको प्रिय नेता मात्र होइन, विकासपे्रमी भएका आफ्नो जीत सुनिश्चित भएको उनको जिकिर छ । अमात्यले भने, ‘मेरा प्रतिस्पर्धी वाम गठबन्धनको ठूलै नेता होला, तर उनलाई ललितपुरवासीले ठूलो नेता मान्दैन ।’ यिनै निर्वाचनको सेरोफेरोमा रहेर अमात्यसँग गरिएको कुराकानीः
० घरदैलो कार्यक्रममा हुनुहुँदो रहेछ, मतदाताको प्रतिक्रिया कस्तो आयो ?
– सबैले राम्रो रेस्पोन्स गरिरहेका छन्, मतदाता खुशी छन् ।
० चुनाव जितिन्छ ?
– विश्वस्तका साथ भन्छु, चुनाव म जित्छु ।
० चुनाव जित्छु भनेर ढुक्क हुने आधार के छन् ?
– धेरै आधार छन्, पहिलो कुरो म यहाँको स्थानीय हुँ, यहाँका जनताको धेरै अगाडिदेखि सेवा गर्दै आएको छु । दोस्रो कुरो २०७० सालको संविधानसभाको निर्वाचनमा मलाई बहुमत दिएर जिताउनु भएको हो । संविधान ल्याउन हामी सफल भएका छौं । सन्तुष्ट हुने ठाउँ नभए पनि केही विकास निर्माणका काम पनि मैले गरेको छु । मभन्दा अघिका सांसदले केही नगरेकाले म काम गर्न सक्छु भन्ने विश्वास जनतामा छ ।
० वाम गठबन्धनको लहरले प्रभाव पार्दैन ?
– वाम गठन्धन भएर पनि मलाई खासै प्रभाव पारेको छैन । किनभने पहिलेका जनप्रतिनिधिले राम्रो काम गरिदिएको भए मलाई अप्ठ्यारो हुन्थ्यो होला, ललितपुरका जनता जनप्रतिनिधिबाट विकासका काम चाहन्छन् ।

० महत्वकांक्षी घोषणापत्र सार्वजनिक गरेर वाम गठन्धन पनि आएका छन् नि ?
– उहाँहरुले गर्छु मात्र भन्नुभएको छ, गर्नुभएको छैन । उहाँहरुको घोषणापत्रमा सबै मैले गरेको कामको लिस्टिङ भएको छ । मेरा प्रतिस्पर्धीले ०६४ सालमा जित्नुभएकै हो, संविधान दिन सक्नुभएन । ०७० सालको संविधानसभाको चुनावमा उहाँहरु बहिष्कार गरेर भाग्नुभयो, बम हान्दै हिड्नुभयो । उनीहरुले पड्काएको बमले भोटेवहालमा एक बालको मृत्यु भएको थियो । अब उहाँ के गर्नुहुन्छ, थाहा छैन, तर म यहाँको स्थानीय हुँ, प्रजातान्त्रिक विचार राख्छु, यही ठाउँको सेवा गरेर बसेको छु ।

० घरदैलो कार्यक्रममा पार्टीको घोषणापत्र अघि सार्नुहुन्छ कि आफ्ना प्रतिबद्धताहरु सुनाउनु हुन्छ ?
– ललितपुरका जनतासँग मैले भन्ने गरेको छु, जहाँ गए पनि पानीको समस्या तेर्सिएको छ, यो क्षेत्रमा मैले पहिला पनि काम गरेको हुँ, सफल भइँन, यसपटक मलाई भोट दिनुस्, म पानी ल्याएर देखाउँछु ।
ललितपुरका जनतालाई भनेको छु, सफा, व्यवस्थित ललितपुर र सुरक्षित ललितपुर दिन्छु भनेर मैले धेरे प्रतिबद्धता गरेको छु । घोषणापत्र पढेर सुनाउने काम गरेको छैन, मैले गर्नुपर्ने कामप्रति प्रतिबद्धता जनाएको छु ।

० ललितपुर–३ वाम गठबन्धनको प्रभाव भएको क्षेत्र हो भन्छन् नि ?
– जसले जसरी हेरे पनि हुन्छ, तर वास्तविकता के हो भने यहाँ वाम गठबन्धनले काम गर्न सक्दैन । किनभने, यहाँका जनताले पार्टीभन्दा पनि व्यक्तिलाई हेरिरहेका छन् । यहाँका जनताले आवश्यकता पूर्ति गर्ने मान्छे खोजेका छन् । मेरो प्रतिद्वन्द्वीको विगत यहाँका जनतालाई थाहा छ ।

० लामो समय सत्तामा बसेर कांग्रेसले चाहिँ के गर्‍यो ?
– नेपाली कांग्रेस लामो समय सत्तामा बसेर जति गर्नुपथ्र्यो, त्यो गर्न नसकेको पक्का हो । तर कांगे्रसले केही गरेको छ, जुन अरुले गरेका छैनन् । कांग्रेसले केही गर्न खोजेको हो, पार्टीको आन्तरिक व्यवस्थापन नमिलेर केही नोक्सानी भएको छ, यो कुरा हामीले महसुस गरेका छौं । ललितपुरको सन्दर्भमा कांग्रेस एकजुट छ, हामी मिलेर काम गरिरहेका छौं । म मात्र होइन, यो जिल्लाका कांग्रेसका तीनजना उम्मेदवारले धेरै काम गरिरहेका छौं ।

० पटक पटक कांगे्रसलाई जिताए, यसपटक वाम गठबन्धनलाई जिताउ भन्ने जनताले निर्णय गरे के हुन्छ ?
– ललितपुरका जनताले हचुवाको भरमा निर्णय गर्दैनन् । यहाँका जनता शिक्षित र सचेत छन् । जनता भेडाबाख्रा होइनन, बुझ्छन् ।
० प्रतिद्वन्द्वीलाई कसरी हेर्नुभएको छ ?
– उहाँ माओवादी केन्द्रको केन्द्रीय नेता हुनुहुन्छ, ठूलो मान्छे हुनुहुन्छ । म उहाँलाई ठूलै मान्छे मान्छु । तर ललितपुरका जनताले ठूलो मान्छेलाई हेर्दैन । ललितपुरको विकास र सेवा गर्ने जनप्रतिनिधि यहाँका जनतालाई चाहिएको छ । ललितपुरका जनतालाई थाहा छ, पम्फा भुषाल पछि ललितपुर बस्नु आएका हुन्, त्यो पनि कुसिङगालमा घर किन्नुभयो, फेरि घर बेचेर कहाँ बस्न चाहनुभएको छ, कहाँ खोज्न जाने उहाँलाई ? मेरो पुर्खेली घर गाबहाल हो, अहिले सानेपा बस्छु । मलाई जुन बेला पनि भेट्न सकिन्छ, म सरल स्वभावको मान्छे हुँ, त्यसकारण जनताले मलाई विश्वास गर्छन् ।

० ठूलो मान्छेले ठूलै काम गर्लान् नि ?
– माओवादी पार्टीको कति सिट आउँछ भन्न सकिन्न । ०६४ सालमा जनताले ठूलो पार्टी बनाए, अहिले तेस्रो भएको छ । अहिले स्थानीय तहको चुनाव हेर्नुस्, माओवादी पार्टी कहाँ पुग्यो । पम्फा ठूलो नेता हुनुहोला, तर ललितपुरका जनताले उहाँलाई ठूलो मान्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ