arrow

भारतमै थन्कियो करोडौँ नेपाली पैसा

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
naya-note.jpg.jpeg
जनकपुरधाम । भारतीय रुपैयाँको अभाव देखिएपछि सीमावर्ती भारतीय बजार जयनगरमा ५० करोड नेपाली रुपैयाँ थन्किएको छ । नेपाल राष्ट्र बैंकले आफ्ना उपभोक्तालाई भारतीय रुपैयाँ पर्याप्त मात्रामा उपलब्ध नगराएपछि बढी कट्टा तिरेर नेपाली रुपैयाँ नै प्रयोग गर्न थालेकाले सो परिमाणको नेपाली रुपैयाँ भारतीय बजारमा थन्किएको हो । 
 
जनकपुरस्थित नेपाल राष्ट्र बैंक अगाडि बिहान ६ बजेदेखि भारतीय रुपैयाँको लागि लाइनमा बस्दा पनि पाँच घन्टापछि तीन हजार मात्र भारतीय रुपैयाँको कारोबार बढ्न गएको उपभोक्ताहरुको गुनासो छ । भारतीय बजार जयनगरमा नेपाली उपभोक्ताहरु बढी बट्टा तिरेर भारतीय रुपैयाँ लिन थालेपछि अहिले त्यहाँ नेपाली रुपैयाँको अवमूल्यन भएको हो ।
 
धनुषा र सिरहाका करिब ७० प्रतिशत उपभोक्ताहरु भारतीय बजार जयनगरमा करोबार गर्ने गरेकाले अहिले यहाँ ५० करोड नेपाली रुपैयाँ थन्किन गएको जयनगर चेम्बर अफ कमर्शका महासचिव अनिलकुमार बैरोलिया भन्नुहुन्छ–“व्यावहारिक रुपमा हामीले उपभोक्तासँग नेपाली रुपैयाँमा कारोबार गर्छौं तर उही रुपैयाँ साट्न नेपाल जाँदा सीमा क्षेत्रमा प्रहरीले समात्ने गरेका छन् ।” करिब एक हजार ठूलासाना व्यापारी रहेको जयनगर बजारमा दैनिक रु पाँच करोड बराबरको व्यापार हुने गरेको छ । त्यहाँका व्यापार धनुषा र सिरहाका ७० प्रतिशत उपभोक्तामाथि टिकेकाले नेपाली रुपैयाँको प्रयोग हुने गरेको हो । 
 
सटही काउन्टको अभावका कारण जयनगरको रेल्वे स्टेसनमा रहेको एक्सचेन्ज व्यापारीहरुले जथाभावी रुपैयाँ बट्टा काट्दा नेपाली उपभोक्ता ठगिँदै आएको बताइएको छ । विनिमयको नाममा नेपाली रुपैयाँको कालोबजारी हुने गरेको छ । 
नेपाली रुपैयाँ साट्न भारतमा पनि ठोस व्यवस्था गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरिएको भन्दै जयनगर चेम्बर अफ कमर्शले यो समस्या समाधान गर्न नेपाल–भारत दुवै देशको सरकार गम्भीर हुनुपर्ने बताएको छ । 
 
अहिले भारतको जयनगरमा भारतीय रुपैयाँ लिँदा सयकडा १२ देखि १३ रुपैयाँ बट्टा लिने गरिएको बताइएको छ । साउन ३० गतेदेखि अनिश्चितकालीन मधेस बन्द र असोज ७ गतेदेखि नाकाबन्दी जारी रहेकाले भारतीय रुपैयाँको अभावमा नेपाली उपभोक्ता चर्को दरमा भारु किन्न बाध्य रहेका छन् । 



नयाँ