काठमाडौं। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले व्यवस्थापिका–संसद्को आजको बैठकमा रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन् । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चा आबद्ध सांसदहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् । सभामुख घर्तीले विरोधमा उभिएकामध्ये तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लालाई बोल्ने समय प्रदान गरेको थियो ।
सांसद शुक्लाले प्रमुख तीन राजनीतिक दलसंग भएको वार्ता सार्थक निष्कर्षमा पुग्न नसकेको भन्दै पछिल्लो दिनमा मोरङको रङ्गेलीको घटनाले आफूहरुलाई सशङ्कित बनाएको बताए । प्रमुख तीन दलका तर्फबाट अगाडि बढाइएको संविधान संशोधन प्रस्तावले आफूहरुको माग सम्बोधन गर्न नसक्ने टिप्पणी गर्दै संशोधन प्रस्ताव हात्तीको देखाउने दाँतमात्रै भएको आरोप उनले लगाए ।
संविधान संशोधन गर्न शनिबार साँझ बसेको संसद बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लले संविधान संशोधन अपूरो भएको भन्दै अस्वीकार गरेका हुन् । ‘प्रस्तुत संशोधनले न मधेस, न थारु, मुस्लिम, आदिवासी जनजातिको मागलाई सम्बोधन गर्दैन,’ उनले भने ।शुक्लले सरकारले संविधान संशोधनपछि मधेसीका माग पूरा गर्ने भनेर अन्तर्राष्ट्रिय समूदायलाई भ्रम फैलाएको आरोप लगाए । उनले सरकारसँग निष्कर्षविहीन वार्तामा भाग लिने वा छाड्ने भन्ने मनस्थितिमा पुगेको बताए ।
शुक्लले मोरङको रंगेली घटनाले सरकार स्वयं साम्प्रदायिक दंगा भड्काउन उद्धत भएको आरोप लगाए । उनले आन्दोलन सुस्ताएकोबेला सरकारले मधेसी जनतामाथि गोली चलाएर आन्दोलन फेरि उचाईमा पुर्याउन उक्साएको बताए ।शुक्लले सम्बोधन गरेलगत्तै मोर्चाआबद्ध तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टीसहित थरुहट तराई पार्टीले संसदमा नाराबाजी गरेको छ ।
तराई मधेसको आन्दोलनलाई बदनाम गराउन खोजिएको भन्दै उनले सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल सम्बद्ध सांसदहरुले नाराबाजी गर्ने बताए । उनले आफ्नो धारणा राखिसकेपछि तराई मधेस केन्द्रित दलका सांसदहरुले सभामुख घर्तीको आशन अगाडि पुगेर नाराबाजी सुरु गर्नुभयो । यस्तै, सङ्घीय सद्भावना पार्टीकी सांसद डिम्पलकुमारी झाले पनि संविधान संशोधन प्रक्रियामा आफ्नो असहमति भएको बताए ।