arrow

काँग्रेसको गाँउ अधिवेशन सर्ला की नसर्ला ?

सर्ने हल्लाले गाँउ जाने नेता अन्यौलमा

logo
प्रकाशित २०७२ माघ १० आइतबार
13th-congress.png.png.png
काठमाडौं । नेपाली काँग्रेसको आसन्न १३औं महाधिवेशन अन्तर्गतको गाँउ तथा नगर अधिवेशन सर्ने हल्लाले काँग्रेसका नेता तथा कार्यकर्ताहरु अन्यौलमा परेका छन् । 
 
आउदो १५ गते हुने गाँउ तथा नगर अधिवेशनका लागि गाँउगाउमा जानु पर्ने नेता तथा कार्यकर्ताहरु संवन्धीत ठाउहरुमा जाने की नजाने भनेर अन्यौलमा परेका हुन । 
 
पाल्पाको रामपुर घर भई काठमाडौ बस्दै आएका गोपाल जोशीले आफु गाँउ जान भनेर हिडे पनि अधिवेशन सर्ने हल्लाले थानकोट पुगेपछि फर्किएको बताए । उनले एक केन्द्रीय सदस्यलाई सोध्दा उहाँले सर्न सक्ने भएकाले एक दुई दिन नजान सुझाव दिएकाले आफु फर्किएको जानकारी दिए । “हेरौ अझै एक दुई दिन, त्यसपछि जे हुन्छ, त्यही गर्नुपर्ला । काठमाडौमा आमा विरामी हुनुहुन्छ, उहाँलाई छोडेर धेरैदिन बस्न मिल्ने अवस्था छैन, सर्ने भएछ भने अहिले नै गएर फेरी आईजाई गर्न मिल्दैन, त्यही भएर अल्मलिएको छु”, काँग्रेस नेता जोशीले भने ।  
 
जोशी जस्तै गाँउ तिर जानु पर्ने अरु पनि सयौ नेता तथा कार्यकर्ताहरुले काँग्रेसका केन्द्रीयस्तरका नेता तथा निर्वाचन समिति र केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई अधिवेशन सर्ने हो की होईन भनेर सोध्ने गरेका छन् । 
 
काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले अधिवेशन सर्ने बारेमा आफुलाई पनि धेरै जनाले सोधेको र त्यही अनुसार आफुले पनि निर्वाचन समितिका व्यक्ति र शिर्ष नेताहरुलाई सोध्दा नसर्ने जवाफ पाएको बताए । उनले भने “सर्ने हल्ला व्यापक छ, तर नेताहरुले सर्दैन भनेपछि म पनि गाँउ तिर लागेको छु, सायद अव सर्दैन होला । ”
 
काँग्रेसकै अर्का केन्द्रीय सदस्य मानवहादुर विश्वकर्माले पनि गाँउ अधिवेशन सर्ने कुरा हल्ला मात्रै हो भने । उनले निर्वाचन समितिले सवै जिल्लामा निर्वाचन अधिकृतहरु खटाईसकेको अवस्थामा अधिवेशन किन सर्नु पर्यो भन्दै प्रति प्रश्न गरे।  
 
काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले कुनैपनि तहको अधिवेशन सर्दै नसर्ने दावी गरे । “सवै जिल्लामा निर्वाचन अधिकृत र निर्वाचनका लागि आवश्यक सामग्रीहरु पठाई सकिएको छ, अव अधिवेशन सर्ने कुरै आउदैन, सतप्रतिशत सर्दैन,” केसीले भने । 
 
केसीले निर्वाचन सामग्रीहरु सवै जिल्लामा पुर्याउनका लागि एउटा गाडी पुर्वतर्फ र एउटा गाडी पश्चिम तर्फ लागेको जानकारी दिए । ति गाडीबाट सवै निर्वाचन सामग्रीहरु सवै जिल्लामा आज दिनभरीमा पुग्ने केसीले बताए । 
 
केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले त अधिवेशन सर्ने भन्दै आशंका गर्नेहरु प्रति नै आशंका गरे । उनले अधिवेशनको संपुर्ण तयारी राम्रै तरिकाले भईरहेकाले सर्ने कुरा कहाँबाट आयो भन्दै प्रश्न गरे । “जस्ले जेसुकै भनोस् निर्धारित समयमा सवै तहका अधिवेशन हुन्छन्, निर्वाचन अधिकृतहरु गईसकेका छन्, निर्वाचन सामग्रीहरु पनि शनिवार नै पठाईसकिएको छ,” अधिकारीले भने । 
 
उनले अधिवेशन संवन्धी कुनै समस्या आएमा पार्टीका स्थानीय नेता र निर्वाचन अधिकृतले मिलाउने बताए । 
 
काँग्रेसको गाविसस्तरको गाँउ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने भएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ । निर्वाचन क्षेत्रस्तरको अधिवेशन माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गते देखि २३ गते सम्म गर्ने तय भएको छ ।  
 
देशभरका तिन हजार एक सय ६५ गाविस र दुई सय १७ नगरपालिकाका तिन हजार ९० ठाउको निर्वाचन गराउनका लागि एक ठाउको कम्तीमा तिन जनाका दरले ९ हजार भन्दा बढी निर्वाचन अधिकारी परिचालन गर्न लागिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । उनले जिल्ला जिल्लामा खटिएका निर्वाचन अधिकृतहरुले अन्य निर्वाचन अधिकारी नियुक्त गर्ने भएकाले उनीहरुले आजैदेखि गाँउगाँउमा निर्वाचन अधिकारी पठाउन थालेको बताए । 
 



नयाँ