भक्तपुर । जिल्ला प्रशासन कार्यालयले ६ नगरपालिकामार्फत भूकम्पपीडितलाई न्यानो कपडा किन्न २५ करोड ३१ लाख ५० हजार वितरण गरेको छ । भूकम्पबाट पूर्ण क्षति पुगेका २५ हजार ३ सय १५ परिवारलाई रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।
लगतअनुसार २६ हजार २ सय ८२ घर पूर्ण क्षति भएको भएपनि कम्तिमा पनि तीन सय घरधुरी नक्कली भूकम्पपीडित रहेको उजुरी परेकाले छानविनका क्रममा रहेका त्यस्ता घरधनीलाई भने तत्काललाई रकम वितरण रोकेको छ । समितिले भूकम्पपीडितलाई रकम बाँड्न भक्तपुर नगरपालिकाकामार्फत ६ करोड २० लाख ६० हजार, अनन्तलिङ्गेश्वर नगरपालिकाकामार्फत तीन करोड १३ लाख १० हजार, नगरकोट नगरपालिकाकामार्फत पाँच करोड २० लाख ७० हजार, सूर्यविनायक नगरपालिकाकामार्फत तीन करोड ९२ लाख, चाँगुनारायण नगरपालिकाकामार्फत पाँच करोड १६ लाख २० हजार र मध्यपुर थिमि नगरपालिकाकामार्फत एक करोड ६८ लाख ९० हजार रकम वितरण गरेको छ ।
यसैअन्तर्गत नेपाल रेडक्रस सोसाइटी भक्तपुरमार्फत अनन्तलिङ्गेश्वर नगरपालिकाका ७ सय २४ र नगरकोट नगरपालिकाका चार हजार ८० परिवारलाई १० हजारका दरले कूल चार करोड ८० लाख ४० हजार वितरण गरेको थियो । एकद्वार प्रणालीअन्तर्गत रेडक्रसमार्फत रकम वितरण गरेको परिवारलाई सरकारले रकम दिएको छैन ।
यसअघि समितिले अस्थायी टहरा निर्माणका लागि भने २६ हजार २ सय ८२ परिवारलाई १५ हजारका दरले कूल ३९ करोड ४२ लाख ३० रकम वितरण गरेको थियो । जसअन्तर्गत रेडक्रसले दुई हजार परिवारलाई तीन करोड वितरण गरेको थियो । पुनःनिर्माण प्राधिकरण गठन र कार्यकारी नियुक्तिपछी भूकम्पपछीको पुनःनिर्माणको काम अघि बढेको छ । कतिपय जिल्लामा सरकाले स्वेत पत्रअनुसार न्यानो कपडा वितरणको कार्यक्रम अघि बढाएपनि काम भएको छैन ।