arrow

देश बनाउन बाबुरामको नयाँशक्तिमा सरोज, अशोक र करिश्मा

अशाेकले भने: निर्माणवादलाई मुख्य एजेण्डा बनाएर हिँडेको हुनाले म यता आएको हुँ

logo
प्रकाशित २०७२ माघ १० आइतबार
Artist.jpg.jpeg
काठमाडौं । अमेरिकामा १२ वर्ष बसेर केही समय अघि मात्र नेपाल फर्किदै पुनः फिल्म क्षेत्रमा सक्रिय अभिनेता सरोज खनाल पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार घोषणा गरेको नयाँ शक्तिको परिषद सदस्य बनेका छन् । सरोज चितवन जिल्लाको प्रतिनिधित्व गर्दै सदस्य बनेका हुन् ।

अभिनेता सरोजले डा. भट्टराईको नयाँ शक्तिको लक्ष्य र उद्देश्य आफुलाई चित्त बुझ्दो लागेकोले त्यसमा आबद्ध रहेको बताए । ‘हामी कलाकारहरु देश निर्माणमा अग्रसर हुन आवश्यक छ, मनोरञ्जनसँगै देश निर्माणको योजनामा पनि अघि बढ्नु पर्ने बेला आएको छ, उहाँको उद्देश्य पनि मुख्य रुपमा देश निर्माणकै कुरा हो,’उनले भने,‘मलाई मन्त्री, प्रधानमन्त्री हुन कुनै लोभ छैन, उहाँले काम गर्न सक्नुहुन्छ भनेर नै मैले उहाँलाई साथ दिएको हुँ ।’

अभिनेता सरोजले नयाँ शक्तिमा राजनीतिकरण घुस्यो भने चाहिँ आफुले छोड्ने खुलाए । ‘मलाई लाग्छ राजनीतिकरण त हुँदैन होला, तर भविष्यमा त्यस्तो अवस्था आयो भने म त्यहाँ बस्दिन ।’ उनले भने । उनले अमेरिकाको क्यालिफोर्निया राज्यको उदाहरण दिँदै त्यहाँ पनि अभिनेता आर्नोल्डले राज्यलाई कुशलतापूर्व हाँकेको स्मरण गरे । ‘हामी पनि कलाकारहरु किन देशलाई अघि बढाउन सक्दैनौं भनेर आएको हुँ,’उनले भने,‘अब अन्य कलाकार साथीहरुलाई पनि यता तिर आउन प्रोत्साहित गर्नेछु ।’

झापा जिल्लाको प्रतिनिधित्व गर्दै सदस्य बनेका कलाकार तथा निर्माता अशोक शर्माले आर्थिक सम्वृद्धिको सोचका कारण आफु नयाँ शक्तिमा आएको बताए । ‘देशको राजनीति जहिल्यै पनि व्यक्तिवादी र र नेताको वरीपरि नै रह्यो, जनताको सेवक हुनुपर्नेमा उनीहरु शासक बनेर निस्किए,’शर्माले भने,‘उहाँको आर्थिक समृद्धिको भिजनले मलाई तान्यो, यो समूह कुनै वादको भन्दा पनि निर्माणवादलाई मुख्य एजेण्डा बनाएर हिँडेको हुनाले म यता आएको हुँ ।’ उनले अब भातृसंगठनका रुपमा स्थापित हुनका लागि अन्य कलाकारलाई पनि प्रोत्साहन गर्ने बताए ।

बाबुरामको नयाँशक्तिमा काठमाडौंबाट कलाकारमा करिश्मा मानन्धर पनि सदस्य छिन् । उनले नयाँ शक्तिको सोच र अवधारणा राम्रो लागेर आएको बताईन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ