काठमाडौ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको प्रमुख माग संविधान संसोधनबाट पुरा भएको भन्दै बाँकी मागको विषयमा छलफल गर्न छिट्टै बार्तामा बोलाउने बताएका छन । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मोर्चाले सुरुमा उठाएको माग संसोधनबाट हुबहु पुरा भईसकेको छ । आउने दिनमा अरु माग समाधान गर्न पनि सरकार तत्पर छ भन्ने सन्देश दिएको छ । बन्द, हडताल, हिसात्मक गतिविधी र अरु दललाई निषेध गर्ने कार्य बन्द गरेर सार्थक बार्तामा आउनुस सरकार बार्ताबाट समस्या समाधान गर्न तयार छ ।’
साक्षात्कारमा उपप्रधानमन्त्री रावलले मोर्चाका अरु मागको विषयमा कार्यदल, शिर्ष तहमा औपचारिक अनौपचारिक रुपमा नेपालको हितमा सहमति गर्न तयार रहेको स्पष्ट पार्दै सरकारले छिट्टै मधेसी मोर्चांलाई बार्ताको लागि बोलाउने जानकारी दिए । उनले सीमांकन बाहेकका अरु विषयमा मधेसी मोर्चासँग सहमतिको निकट रहेपनि सीमांकन गर्दा मधेसमा यति प्रदेश बनाउनु पर्ने भन्ने अडानका कारण सहमति हुन नसकेको भन्दै समानुपातिक र निर्वाचन क्षेत्र निर्धारण सकारात्मक भए अरु विषयमा कुरागर्न सजिलो हुन्छ भनेकोले आफूहरुले संसोधन प्रक्रिया निष्कर्समा पुर्याएको बताए ।
उपप्रधानमन्त्री रावलले नागरिकताको सवालमा अंगिकृत नागरिकता नपाउने भनेर कुप्रचार गरेर जनता भड्काउन खोजेको आरोप लगाउँदै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले अंगिकृत नागरिकता पाउने ब्यवस्था स्पष्ट रहेको बताए । सीमांकनको सवालमा भने उनले राजनीतिक संयन्त्रको निष्कर्सको आधारमा राजनीतिक सहमतिमा सीमांकन गर्न तयार रहेको भन्दै अहिले नै यति वा त्यती प्रदेश भनेर लेख्न नसकिने स्पष्ट पारे ।
उपप्रधानमन्त्री रावलले संविधान संसोधनबाट अन्तर्राष्ट्रिय समूदायले नेपाली नेताहरु जनताको भावना बुझेर संविधान सुधार्न तयार छन भन्ने महसुस गरेको भन्दै नेपालको राष्ट्रिय हित चाहनेहरुले यसलाई सकारात्मक रुपमा लिने विश्वास ब्यक्त गरे । उनले कुनै छिमेकीले नेपालको लोकतन्त्र, राष्ट्रिय एकता र राष्ट्रियताको पक्षमा सकारात्मक धारणा राखे त्यसलाई नेपालले स्वागत गर्ने स्पष्ट पार्दै नेपाल सरकार दुबै छिमेकीहरुसँग स्वाभिमानीपूर्वक राम्रो सम्बन्ध राख्न तयार भएको बताए ।
उपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै छिमेकी मित्र राष्ट्रहरु भारत र चीनको भ्रमणको तयारी भईरहेको भन्दै उपयूक्त समयमा भ्रमण हुने बताए ।
नेपाली सेनाको ईनर्जी विष्कुट खरिद निर्णय आफ्नो पालामा नभएको भन्दै अब त्यो नेपाली सेनाको नियम कानूनको अधिनमा रहेर अगाडि बढ्ने बताए । उनले भने,‘ त्यो निर्णय मेरो पालामा भएको होईन । त्यो मेरो टेवलमा आउने कुरा पनि होईन तर अब त्यो नियम कानून अनुसार अगाडि बढ्छ । नेपाली सेनाका नियम कानून पनि नयाँ संविधान र संरचना अनुसार परिवर्तन हुन्छ ।’ उपप्रधानमन्त्री रावलले स्याप्रुवेसी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएर काम अघि बढीसकेकोमा आवश्यक परे अरु निर्माणको जिम्मेवारी पनि सेनालाई दिईने बताए । कालोबजारी र तस्करी नियन्त्रण गर्न गठित तीन सदस्यीय समितिले प्रतिवेदन बुझाईसकेकोले अब त्यसको अध्ययन गरेर कडा कदम चाल्ने स्पष्ट पारे ।