काठमाडौं ।आफूहरुको माग पूरा गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निस्पक्ष अनुसन्धानको लागि सहयोग गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा पुगेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक टोली आयोगको कार्यालयमा पुगेर घटनाको निस्पक्ष अनुसन्धानको लागि सहयोग गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा सरकार मधेसी जनताको माग पूरा गर्नुको साटो उल्टै दमनमा उत्रिएर मानवअधिकारको गम्भीर हनन गर्नमा तल्लीन भएको आरोप लगाइएको छ । यस्तै मोर्चाले तराई मधेसको समस्या समाधानका लागि पहल गर्न पनि आयोगको ध्यानाकर्षण गराएको छ । मोर्चाले आयोगलगायतका अधिकारवादी संघसंस्था घटनाको अनुसन्धान नगरि निश्क्रिय भएर बसेको समेत ज्ञापनपत्रमार्फत आरोप लगाएको छ ।
ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष अनुपराज शर्माले आफूहरुको अगुगमनको क्रममा पनि कतिपय स्थानमा मानवअधिकारको हनन भएको पाइएको र आफूहरुले आन्दोलनरत पक्ष र सरकारको मानवअधिकारको रक्षा गर्न पटक पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरे ।यस्तै उनले तराई मधेसमा भएको आन्दोलनको क्रममा भएको घटनाहरुको निश्पक्ष छानबिन पनि जारी राख्ने सो अवसरमा बताए । ज्ञापनपत्र बुझाउन मोर्चाका शीर्ष नेताहरु पुल्चोकस्थित आयोगको कार्यालय पुगेका थिए ।