arrow

क्षेत्राधिकार हस्तक्षेप नगर्न कामपाको आग्रह

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौं। नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्य स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने हुँदा आफ्नो अधिकार क्षेत्र हस्तक्षेप नगर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ। पुस १ गते जिल्ला शिक्षा कार्यालय काठमाडौँले संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनसम्बन्धी प्रकाशन गरेको सार्वजनिक सूचनाका विषयमा काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण गरी अधिकार क्षेत्र हस्तक्षेप नगर्न आग्रह गरेको हो।

आज यहाँ कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले प्रेस विज्ञप्ति जारी गर्दै कामपाको विषयगत काममा प्राविधिक एवं व्यवस्थापकीय क्षेत्रमा सहयोग गरेर संघीय व्यवस्थालाई सफल बनाउन साझेदार निकायलाई आह्वानसमेत गरेको छ।

स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकार गठन भइसकेको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा आइसकेको हुनाले जिल्ला शिक्षा कार्यालय, काठमाडौँलाई शिक्षक सरुवा, नियुक्तिलगायतका काम नगर्न विज्ञप्तिमार्फत भनिएको छ। महानगरपालिका क्षेत्रभित्रको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकार (महानगर)को कार्य क्षेत्रभित्र गइसकेको हुनाले आगामी दिनमा यस्ता काम भएमा कामपाले अन्य प्रक्रिया चाल्नुपर्ने बताइएको छ।

जनताका नजिक बसेर गुणस्तरीय, मितव्ययी, सुलभ, छिटोछरितो शैक्षिक सेवा प्रवाह गर्न महानगर प्रतिबद्ध रहेको भन्दै विद्यालय शिक्षा विकाससम्बन्धी काम महानगरको समन्वयमा हुनुपर्ने शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ