काठमाडौं । नेपाली तथा बलिउड फिल्ममा स्वरको राज गरेका चर्चित गायक उदितनारायण झालाई भारत सरकारले प्रतिष्ठित पद्यमभुषण पुरस्कार दिने भएको छ । भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उनीसहित १ सय १८ जनालाई उक्त पुरस्कार दिने घोषणा सरकारले गरेको छ । झाले आफु पुरस्कृत हुने खबरले खुसी भएको बताएका छन् ।
झाले भनेका छन्, ‘पद्यमभुषण पुरस्कार पाउने भएपछि मैले खुशी र गर्वको अनुभव गरेको छु । मैले ३५ वर्षदेखि गरेको सेवाको फल प्राप्त भएजस्तो लागेको छ । यो मौकामा मैले फिल्म ‘लगान’को ‘ओ मितवा’ बोलको गीत सम्झिइरहेको छु । यो गीतले मानिसलाई निडर भएर जिन्दगीमा संघर्ष ग्र्न सिकाउँछ,’उनले भनेका छन्,‘म आगामी दिनमा निडर र निष्पक्ष भएर संगीत र राष्ट्रको सेवामा अनवरत लाग्नेछु । यो पुरस्कारले मिथिलाको मानमा चार चाँद लागेको छ ।’
यो पुरस्कारबाट पुरस्कृत हुनेमा अभिनेता रजनीकान्त, नृत्यांगना यामिनी कृष्णमूर्ति, गायिका गिरिजादेवी, अभिनेता अनुपम खेर छन् । त्यस्तै पद्यम श्री सम्मानबाट अभिनेत्री प्रियंका चोपडा, अभिनेता अजय देवगन, फिल्म ‘बाहुबली’का निर्माता एस राजामौली र भोजपुरी गायिका मालिनी अवस्थी छन् ।