arrow

सरकार गठन भन्दा पहिले पार्टी एकता नभए भाेलि जे पनि हुनसक्छ : युवराज ज्ञवाली (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
yubraj-gyewali.jpg

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सरकार गठन हुनुअघि नै पार्टी एकता हुनुपर्ने बताएका छन् । पहिला सरकार गठन भए पार्टी एकता हुन नसक्ने तर पार्टी एकतापछि सरकार गठन गरिए मात्रै दीगो हुने र नभए भाेलि जे पनि हुनसक्ने उपाध्यक्ष ज्ञवालीको धारणा छ। माओवादीसँगको एकताबारे एमाले स्थायी समितिमा कुरा नआइसकेकाले तत्काल कसरी अघि बढ्नेबारे केही भन्न नसकिने नेता ज्ञवालीले बताए। ज्ञवालीले ‘जनमतलाई बुद्धिमतापूर्ण व्यवस्थापन गर्नुपर्छ’-भनेका छन् । यसै विषयमा हामीले ज्ञवालीसँग संक्षिप्त कुराकानी गरेका छाैँ।

० एमाले-माओवादी पद बाँडफाँड हुन थालेको हो ?
– प्रमुख नेताहरुबीचमा छलफल जारी छ, उहाँहरुबीच के कसरी छलफल भइरहेको छ, त्यस विषयमा हाम्रो स्थायी कमिटीमा कुरा आएको छैन । स्थायी कमिटीको बैठक बसिरहेको छैन, प्रमुख नेताहरु गृहकार्यमै व्यस्त हुनुहुन्छ होला । वाम गठबन्धनको भन्डै दुई तिहाई मत आएको छ, इतिहासमा यो महत्वपूर्ण परिणाम हो । हामी चुनावलगत्तै पार्टी एकता गर्छौ, एउटै पार्टी बनाएर जान्छौं, मुलुकलाई समृद्ध बनाउँछौं, समस्या समाधान गछौं । अब स्थिर सरकार हामीलाई चाहिन्छ, हामी समाजवादको आधार तयार गछौं भनेर लाखौं नेपाली जनताका माँझमा प्रतिबद्धता व्यक्त गरेका छौं । त्यही विश्वासका आधारमा एउटा परिणाम दिएका छन् । यो कुरालाई हरेक नेताले गम्भीर रुपमा लिनुपर्छ । छिटोछिटोभन्दा पार्टी एक बनाएर जाने गृहकार्यमा लाग्नुपर्छ ।

पार्टी एक बनाएपछि स्वाभाविक रुपमा कामको बाँडफाँड अवश्य हुन्छ । पाँच वर्ष सरकार चलाउने, ६ वटा प्रदेशमा मुख्यमन्त्री मन्त्री बनाउनुपर्ने भएकाले कतिपय नेताहरु दैनिक सरकारी काममा जाने, अर्कोतिर पार्टीलाई एकताबद्ध बनाएर लैजान धेरै काम गर्नुपर्ने छ । त्यसकारण कामको बाँडफाँड गर्न जरुरी छ । कसैले सरकारको र कसैले पार्टीको नेतृत्व गर्नुपर्ने आवश्यकता पर्छ । पहिला जरुरी चलायौं, त्यसरी चल्ने अवस्था छैन ।

० पद बाँडफाँड चुनौतिपूर्ण छ ?
– चुनौतिपूर्ण छ र ठूलो अवसर पनि छ । यदि बुद्धि पुर्‍याउने हो भने नेपाली राजनीतिमा ठूलो अवसर हो । जनताले जे गर्नुपर्ने थियो, गरिसके, अब नेताको तर्फबाट गर्नुपर्ने काम धेरै बाँकी छ । जनताले दिएको यो विश्वासलाई हामीले किन्चित रुपमा अविश्वासमा परिणत हुन दिनु हुँदैन । यो विषयमा हामी गम्भीर छौं, सोहीअनुसार गृहकार्य अगाडि बढिरहेको छ ।

० सरकार गठन कि, पार्टी एकता पहिले ?
– सरकार गठन अगाडि नै पार्टी एकता बलियो बनाउनुपर्छ । पार्टी एउटै बनाएर सरकार बनाउँदा सजिलो हुन्छ । भागवण्डा भन्ने कुरा आउँदैन । पार्टीको संस्थाको निर्णयअनुसार चल्नुपर्ने हुन्छ । यदि पार्टी एकताबद्ध नबनाइ सरकार निर्माणमा लागियो भने भागवण्डा गरेर जानुपर्ने अवस्था सिर्जना हुन्छ । त्यसले अन्तरविरोध बढाउँछ, दूरी बढाउँछ । अन्ततः पार्टी एकता नहुने अवस्थामा पुग्न सक्छ । म त्यो सम्भावना देख्छु । पार्टी एउटै बनाएर बहुमतको सरकार बनाएर अगाडि बढ्नुपर्छ । जनतासँग गरेको कबुल पूरा गर्नुपर्छ । मैले लामाे समयकाे विश्लेषण गरेर तपाईलाई भनिरहेकाे छुँ । यसका केस्रा-केस्रा केलाएर हेर्नु पर्छ ।

० अध्यक्ष मण्डल बनाएर जाने कुरा के हाे ?
– विकल्प धेरै छन् । सबै विकल्पमा म जान चाहन्न । एकजनाले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने अथवा आलोपालो गर्ने अथवा सानो अध्यक्ष मण्डल गठन गर्ने र त्यसले महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने विकल्प छन् । यी विभिन्न विकल्पमध्ये उपयुक्त कुन होला ? यस विषयमा आ–आफ्ना कमिटीमा घनीभूत छलफल चलाउनुपर्छ । हाम्रो स्थायी समिति बसेको छैन, स्थायी समितिमा अनुभवी नेताहरु हुनुहुन्छ । त्यहाँ हामीले घनीभूत छलफल गरियो भने के गर्दा उपयुक्त हुन्छ भनेर परिणाम आउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ