arrow

झापा कांग्रेसमा अधिवेशनको यस्तो छ तयारी

झापाको अधिवेशनमा धेरैको नजर

logo
शुसिला संग्रौला
प्रकाशित २०७२ माघ ११ सोमबार
13th-congress.png.png.png
झापा। नेपाली कांग्रेस झापाको जिल्ला अधिवेशनका लागि सोमबार बसेको निर्वाचन समितिको बैठकले आगामी माघ १५ र १६ गते गाउँ, नगरसमिति र नगर वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। 
 
झापाका लागि खटिएका प्रमुख निर्वाचन अधिकृत पवनकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले माघ १५ गते गाउँ, नगरसमिति र नगर वडा समितिका सबै पदमा उम्मेदवारी दर्ता गरी उम्मेदावरको अन्तिम नामावली प्रकाशन गर्ने तथा १६ गते बिहान ८ बजेबाट अपरान्ह ३ बजेसम्म मतदान कार्य सम्पन्न गर्ने निर्णय गरेको छ।  जसका लागि गाउँ, नगर र वडामा गरी पहिलो चरणमा ११७ जना मतदान अधिकृत नियुक्त गर्ने सर्वसम्मत निर्णय भएको छ भने मतदान केन्द्र समेत निर्धारण भइसकेको छ।
 
मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरुका लागि निर्वाचन प्रक्रिया, विधान, नियमावली, निर्देशिका, उम्मेदवारी दर्ता फारम, अनुसूची लगायतको विषयमा यही माघ १३ गते १० बजे पार्टी कार्यालयमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम रहेको छ।  
 
गाउँको अधिवेशन सम्बन्धित गाउँको पार्टी कार्यालयमा हुने छ भने नगरको सबै तहको निर्वाचनका लागि एउटै मतदान केन्द्रमा प्रत्येक वडाको अलग–अलग मत पेटिका राखिने भएको छ। 
 
गाउँका लागि कार्यसमिति र गाउँबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिका लागि दुईवटा मतपत्र हुनेछ भने नगर समितिका लागि कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको दुई र वडा कार्यसमिति र वडाबाट क्षेत्रीय प्रतिनिधि गरी एकजना मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्ने छ। 
 
क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते हुने केन्द्रीय समितिले यसअघि नै निर्णय गरिसकेको छ। 
 
गाउँ, नगर र नगर वडा अधिवेशन सम्पन्न गर्नका लागि डेमोक्रेटिक लयर्स एसोसिएशन, नेपाल शिक्षक संघ र नेपाल प्रेस युनियनले निर्वाचन समितिलाई मतदान अधिकृतहरुको नामावली सिफारिस गरेको थियो। 
 
बैठकमा नेपाली कांग्रेस जिल्ला पार्टी सभापति उद्वव थापा, सांसद सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, डिएलएका अध्यक्ष सुरज खत्री, नेपाल प्रेस युनियनका अध्यक्ष कृष्ण हुमागाँई, नेपाल शिक्षक संघका अध्यक्ष नेत्र खरेल, निर्वाचन सहयोग समितिका सह–संयोजक लक्ष्मण खड्का, सातवटै क्षेत्रका क्षेत्रीय सभापतिहरुको उपस्थिति रहेको थियो। 
 
काँग्रेस महामन्त्री कृष्ण सिटौलाको गृह जिल्ला झापाको अधिवेशनलाई धेरैले उत्सुकताका साथ हेरिरहेका छन्। जहाँबाट काँग्रेसका यूवा नेता विश्वप्रकाश शर्माले पनि केन्द्रीय नेतृत्वका लागि तयारी शुरु गरेका छन्। 



नयाँ