arrow

गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद, एकै पटक १४ जनाकाे राजीनामा

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
khotang-district.png

खोटाङ । संघीयता कार्यान्वयको चरणमा गएसँगै स्थानीय सरकार सञ्चालनमा विभिन्न विवादहरु आउन थालेका छन् । कतै गाउँपालिकाको केन्द्र राख्ने विषयमा विवाद भएका छन् भने, कतै नाम फेर्ने त कतै कर्मचारी पूर्तिको विषयले विवाद भएका छन् ।

खोटाङमा पनि केही स्थानीय तहमा यस्तै विवाद आएको छ । गाउँपालिकाको केन्द्रका विषयमा असहमती जनाउँदै दिप्रुङ गाउँपालिकाका तीन वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले राजीनामा नै दिएका छन् ।
सछितापोखरीको तृतीय भञ्ज्याङमा प्रस्तावित केन्द्रलाई सछितापोखरीको नाराङ्गा अथवा डाँडागाउँ ओख्रेमा सार्नुपर्ने माग गर्दै आएका  दिप्रुङ गाउँपालिका–१ याम्खाका वडाध्यक्ष शमशेरबहादुर खत्री, दिप्रुङ गाउँपालिका–२ डाडाँगाउका वडाध्यक्ष भिमबहादुर खत्री र दिप्रुङ गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर मगरसहित १४ जनप्रतिनिधिले संयुक्त राजीनामा दिएका हुन् ।

गाउँपालिकाको केन्द्र टुंग्याउने विषयमा अहिलेदेखि सुरु भएको छलफलमा छोरम्बु, बतासे, सछितापोखरी र छितापोखरीका वडाका जनप्रतिनिधि सछितापोखरीको ह्याकुले भञ्ज्याङदेखि तृतीय भञ्ज्याङसम्मको क्षेत्रमा केन्द्र राखिनुपर्ने अडान लिएपछि उनीहरुले राजीनामा दिए ।

एक समूहले सछितापोखरीको ह्याकुलेदेखि तृतीय भञ्ज्याङ आसपासमा तथा अर्को समूह नाराङ्गा वा डाँडागाउँ ओख्रेमा केन्द्र राख्नुपर्ने भन्दै विवादमा गरेपछि गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले पुस १० गतेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेका छन् ।

यसअघि गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सीमा निर्धारण आयोगले दिप्रुङ गाउँपालिकाको केन्द्र सछितापोखरी तृतीया भञ्ज्याङ तोकेको थियो । अहिले त्यही स्थानबाट गाउँपालिकाको कामकाज सञ्चालन हुँदै आएको छ । तृतीया भञ्ज्याङकै आसपासमा रहेको ह्याकुले भञ्ज्याङमा केन्द्रका लागि १११ रोपनी जग्गा समेत पाइसकेको बताइएको छ ।

स्थानीय शासन सञ्चालन सम्बन्धी ऐन २०७४ अनुसार गाउँपालिकाको केन्द्र र नाम ६ महिनामा टुङ्गो लगाईसक्नु पर्ने प्रावधान अनुसार गाउँपालिकाले छलफल थालेको थियो । केन्द्रका कहाँ राख्ने भन्ने विषयको विवाद नटुंगिएकाले बैठक स्थगित गरिएको छ,’ गाउँपालिका प्रमुख राईले भनेका छन्, ‘राजनीतिक दल र असन्तुष्ट पक्षलाई समेट्न प्रयास गर्दा पनि नभए ऐनमा भएको विधि अनुसार गाउँपालिकाको केन्द्रको टुङ्गो लगाइन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ