तनहुँ । कालीकोट जिल्लाका एनेकपा माओवादीबाट सांसद बनेका काठमाडौं महानगरपालिका हात्तीवन निवासी ५५ वर्षीय महेन्द्र शाहीले चलाएको कार यहाँ दुर्घटना हुँदा उनीसहित चारजना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको उक्त कार मंगलबार बिहान तनहुँको घाँसीकुवा गाविस–२ देउरालीमा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार बा८च ७५९१ नम्बरको कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा सांसद शाही सामान्य घाइते भएका छन् । उक्त दुर्घटनामा परी सोही स्थान निवासी १८ वर्षीया माधुरी मगरको टाउँको र ढाडमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी सोही स्थान निवासी १६ वर्षीया सुजा शाही र ३० वर्षीय देवेन्द्र शाही सामान्य घाइते भएका छन् । दुर्घटनामा परी घाइते चारैजनाको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तत्कालै पोखरास्थित मणिपालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।