arrow

काठमाडाै‌ महानगरका मेयरलाई उपमेयरकाे प्रश्न- मेयर सा'वले गर्न खाेजेकाे के? (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
hariprava.JPG

काठमाडाै‌ महानगरकी उपमेयर हरिप्रभा खड्कीले महानगरका हरेक गतिविधिमा मेयर विद्यासुन्दर शाक्यले आफूखुशी गर्ने गरेको आरोप लगाएकी छन् । आफ्नै वडामा बन्दै गरेको दुईवटा ठूला परियोजनामा समेत उपमेयरलाई थाहा नै नदिइ मेयर शाक्यले काम अघि बढाएको आरोप खड्कीको छ । रानीपोखरी पुननिर्माण र पुरानो बसपार्कमा बन्दै गरेको भ्युटारबारे कुनै जानकारी आफूलाई नभएको खड्कीले बताइन ।रानीपोखरी पुननिर्माण विवादबारे उपमेयर खड्कीसँग गरिएको कुराकानी–

० रानीपोखरी पुननिर्माणको विषयलाई लिएर मेयरसँग विवाद गर्नुभएको हो ?
– उहाँसँग प्रत्यक्ष विवाद भएको छैन । रानीपोखरी इतिहाससँग जोडिएको सम्पदा हो । यो बनाउनैपर्छ, तर इतिहासलाई जोगाएर सम्पादाको रक्षा गर्नुपर्छ भन्ने मेरो भनाइ हो । त्यहाँ कँक्रिट हालेको छ भन्ने कुरा थाहा पाइसकेपछि त्यस्ता चीज हाल्नु हुँदैन भन्ने कुरामा मेरो विरोध हो ।

० कसरी बन्नुपथ्र्यो रानीपोखरी ?
– मेयरले यसमा विज्ञहरुलाई पनि लिएर जानुपथ्र्यो । यस्ता काम एक्लौटी ढंगले गर्न मिल्दैन । इतिहासविद्हरुको एउटा समिति बनाएर रानीपोखरी निर्माण गरियो भने बन्न सक्छ, त्यो कंक्रिट हालेर चाहिँ बनाउनु हुँदैन भन्ने मेरो मान्यता हो । यदि कंक्रिट नै हालेर निर्माण सुरु भएको रहेछ भने के गर्न खोज्नुभएको हो भनेर मेयरलाई मैले प्रश्न गर्नैपर्छ ।

० महानगरले तपाईंलाई कुनै जानकारी गराएको छैन ?
– यसमा मलाई समावेश गरिएको छैन । यो विषयमा मैले मेयरसँग पटक पटक चासो देखाएँ, उहाँले विरोधले काम अवरोध भइरहेको छ भन्नुभयो । तपाईंसँग पनि बैठक बस्नुपर्छ भन्नुभएको थियो । तर मलाई खबर गरिएन । उहाँहरु सभागृहमै दिनभरि नै छलफल गरेर बस्नुभयो भन्ने सुने । मलाई पनि साथै लिएर हिड्दाँ मेयरलाई पनि फाइदा पुग्थ्यो होला ।

० मेयरले तपाईंलाई बाइपास गर्न खोजेका हुन् ?
– मलाई बाइपास गर्न खोजेकै हुन्, यसमा म प्रष्ट छु । म पनि निर्वाचित जनप्रतिनिधि हुँ, मैले चाहिँ जनताप्रति उत्तरदायी हुनुपर्दैन र ? तपाईंलाई जिताएर पठाएको किन भनेर जनताले प्रश्न गर्छन् मलाई पनि । मैले के जवाफ दिनु ? मलाई सुचना दिने ? उहाँको पछिपछि लागेर हिड्न सक्दिनँ । उहाँले मलाई कुनै खबर गर्नु हुन्न । इतिहास र सम्पदाको कुरा छन्, मलाई सँगै लिएर जाँदा राम्रै हुन्छ भन्ने मेरो निष्कर्ष हो ।

० पुरानो बसपार्कमा बन्दै गरेको भ्यूटारबारे जानकारी छ ?
– त्यो त मेरो आफ्नै टोल हो, रानीपोखरी पनि आफ्नै वडा हो, यस विषयमा मलाई कुनै जानकारी छैन । मेयरलाई भेट्नै कठिन छ । कार्यक्रममा भेटेका बेला बसपार्कमा बन्दै गरेको भ्यूटावरका बारेमा सोध्दा नेताहरुकै हातमा छ भन्नुहुन्छ । जनताले अधिकार दिएर पठाइसकेपछि उहाँ किन पछि हट्नु हुन्छ मैले यो कुरा बुझेको छैन । अधिकार मलाई दिने हो भने म काम गर्न तयार छु । मेयर बाहिर हुँदा मैले रातारात सिस्डोलमा गएर फोहोर व्यवस्थापन गरेर आएको हुँ । महिलाले काम गर्न सक्दैन भन्ने भावना मेयरले हटाए हुन्छ ।

० मेयरले बाइपास गर्दा तपाईंले आफ्नो उपस्थिति देखाउन सक्नुहुन्छ ?
– मेयरले मलाई उपमेयरमा नियुक्त गरेको होइन भन्ने कुरा स्पष्ट बुझे हुन्छ । म जनताबाट निर्वाचित भएर उपमेयर भएको हुँ । महानगरको विकासका लागि जनताले मलाई निर्वाचित गराएका हुन् त्यसकारण मेयरसँग म कुनै कुरामा सम्झौता गर्दिन् । महानगर बनाउन एक्लै हिड्छु, मलाई मेयरको होइन, जनताको साथ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ