arrow

नियम मिचेर परियोजना बाडदै जिविस झापा

logo
काँकडभिट्टा
प्रकाशित २०७२ माघ १२ मंगलबार
Jhapa-hamrakura.jpg.jpeg
झापा । जिविस झापाले सामाजिक संस्थामार्फत सञ्चालन हुने भनी आफैँले भन्दै आएको परियोजनाको बजेट निजी कम्पनीलाई बाँडेको आरोप लागेको छ । आव २०७२/७३ का लागि जिल्लाका क्रियाशील गैरसरकारी संस्थासँग साझेदारीमा सञ्चालन गर्ने कार्यक्रमका लागि भन्दै जिविसको सामाजिक विकास शाखाले गत कात्तिक १४ जिल्लाको एक दैनिक पत्रिकामा परियोजना प्रस्ताव आह्वानसम्बन्धी सूचना प्रकाशित गरेको थियो । तर जिविसले ३० प्रतिशतभन्दा बढी कार्यक्रमको बजेट दमकको पाथिभरा इन्स्टिच्युट, विर्तामोडको नेसनल फ्युचर, मेची पोलिटेक्निकल इन्स्टिच्युट लगायत नाफामूलक निजी कम्पनीलाई सुम्पिएको छ । परियोजना सुम्पिनेसम्बन्धी सम्झौता यही माघ ७ गते भइसकेको छ । 
 
जिविसले एउटै कम्पनीलाई सात वटासम्म परियोजना दिएको छ । दमकको पाथीभरा इन्स्टिच्यूट कम्प्युटर सिकाउने कम्पनी हो । जिविसले इन्स्टिच्यूटको विषयभन्दा बाहिर गएरसमेत परियोजना दिएको छ । पाथीभराले महारानीझोडामा ब्युटीपार्लर सिकाउन र महाभारामा मखमली जुत्तामा बुट्टा भर्ने तालिम सञ्चालन गर्न रु एक-एक लाख, तोपगाछीमा पशुको एआई कार्यक्रम सञ्चालन गर्न र गोठ सुधार कार्यक्रम गर्न तथा कुमरखोदमा सीपमूलक तालिम चलाउन रु ५०-५० हजार र दुर्गापुरमा सोलार जडान गर्ने तालिमका लागि रु एक लाखको परियोजना पाएको छ । 
 
यस्तै विर्तामोडको नेसनल फ्युचरले स्वास्थ्य शिविर चलाउन रु एक लाख र प्रस्ताव लेखन तालिम चलाउन रु ५० हजारको परियोजना पाएको छ । गैरसरकारी संस्था महासङ्घ झापाले तत्कालीन स्थानीय विकास अधिकारी प्रदीप निरौलालाई भेटेर समाजिक संस्थाका लागि आएको परियोजना निजी कम्पनीलाई नदिन पहिल्यै सचेत गराएको थियो । तर, स्थानीय विकास अधिकारी निरौला सरुवा भएर अन्यत्र जानुभन्दा दुई दिनअघि महासङ्घको आग्रहलाई बेवास्ता गर्दै जिविसले निजी कम्पनीलाई नै परियोजना सुम्पिएको हो । 
 
सङ्घ संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध भएका गैरनाफामूलक संस्थालाई यस्तो परियोजना दिने प्रचलन रहेको छ । तर जिविसले नाफा कमाउने उद्ददेश्यले स्थापना भएका कम्पनीलाई नै परियोजना दिएको छ । जिविसको सामाजिक विकास शाखाका अधिकृत हिमराज सेढाइँले अनियमितताको आरोप गलत भएको बताउनुभयो । जिविसले निजी फर्म, सहकारी, कम्पनी जोसुकैलाई आवश्यकताअनुसार परियोजना दिन सक्ने उहाँको भनाइ छ । “यस विषयमा कुनै चलखेल भएको छैन,” सेढाइँले भन्नुभयो, “कतिपय कम्पनी दक्ष छन् र लागत सहभागिता बढी छ भने उनीहरू चुनिन सक्छन् ।” 



नयाँ