कालीकोट । नेपाल प्रेस युनियन कालीकोट शाखाले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघका संस्थापक सभापती एवम् सन्त नेता पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको नाममा स्थापना भएको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’बाट भट्टराईको नाम नहटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् कर्णाली अञ्चल संयोजक खगेन्द्र भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको युनियनको टोलीले प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै केन्द्रीय सदस्य भट्टराईले यसअघि सुशील कोइराला नेतृत्वको सरकारले नेपाल पत्रकार महासंघको गौरवशाली इतिहाससँग जोडेर महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्ने निर्णय गरेको बताए ।
अघिल्लो सरकारले बजेट बक्तव्यमा घोषणा गरी सार्वभौम संसदले समेत पारित गरिसकेको अवस्थामा वर्तमान सरकारका सूचना तथा सञ्चार मन्त्रीस्तरीय निर्णयबाट नाम परिवर्तन गर्दै राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठनको लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा सहमति लिन प्रस्ताव पठाएको विषयप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै सरकारले तत्काल निर्णय नसच्याए कडा आन्दोलन थाल्ने चेतावनी दिए ।
नेपाल प्रेस युनियन कालीकोटका अध्यक्ष नगेन्द्र बिष्टले कृष्णप्रसाद भट्टराई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष मात्रै नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पण गर्ने एक आर्दशवादी राजनेता भएको चर्चा गर्दै सरकारको निर्णयले राजनेताको अपमान भएकोले अविलम्ब यस्तो प्रस्ताब फिर्ता लिन माग गर्नुभयो । ज्ञापन पत्र बुझ्दै कालीकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले ज्ञापन पत्र तत्काल गृह मन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउने प्रतिवद्धता जनाए ।