काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउन नयाँ रणनीति अपनाएको छ । अब अध्यक्ष स्तरको केन्द्रीय भेला काठमाडौंमै हुनेछ । सोमबार मात्रै मोर्चाका दोस्रो तहका नेताहरुले माघ १८ सम्मको लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । अब, अध्यक्षहरुको बैठकले रणनीतिक योजनालाई अघि बढाउने सद्भावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिएका छन् ।
महतोले भने,‘अब अध्यक्षहरुको भेला हुन्छ, त्यो पनि सबै काठमाडौं आएपछि ।’ महतोले आफुहरु दिल्लीमा उपचार गराइरहेका तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पर्खिरहेको बताए । ठाकुर एक हप्ता पछि फर्किने छन् । हाल ठाकुरको स्वास्थ्य अवस्था सामान्य रहेको र फिजियो थेरापी चलिरहेकाले एक हप्ता पछि फकर्किने कार्यक्रम रहेको महतोले बताए । महतोले भने,‘अहिले सबै पार्टी अध्यक्ष बाहिर छौं, म पनि विरामी छु, विराटनगरमा आराम गरिरहेको छु ।’ महन्थको फिर्तीपछि मोर्चाले थाल्ने गतिविधिले सरकारलाई ठूलो अपर्ने बताइएको छ । भारतले विश्वास गर्ने मधेसी नेता महन्थ मात्रै हुन् ।
संविधान संशोधन मान्य हुँदैन : यादव
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतर्फीरुपमा गरिएको संविधान संशोधन कुनै हालतमा मान्य नहुने बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मधेसी मोर्चाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने यादवको भनाई छ । अध्यक्ष यादवले आन्दोलनलाई अझ सशक्त बनाउन सङ्घीयता पक्षधरसँग मिलेर बृहत् मोर्चा बनाउने पनि बताए ।
यादवले सरकार वार्तालाई सफल बनाउनका लागि गम्भीर नभएको उल्लेख गर्दै सरकारले कालोबजारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । विराटनगर पुगेका मोर्चानेताहरुले मधेसमा सक्रिय दल, अभियान र संगठनहरुसंग छलफल गरेका छन् । मंगलबार मात्रै राजेन्द्र महतो र जेपी गुप्ता लगायतका मधेसी नेताहरुको छलफल भएको छ ।