arrow

रसुवाका भूकम्पबाट विस्थापित पुनर्स्थापनाको चरणमा

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
rasuwa-mp-donation.jpg

रसुवा। भूकम्पबाट विस्थापित ६ परिवारको पुनर्स्थापनाका लागि जग्गा खरिद गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तेस्रो चरण अन्तर्गत डाडागाउँबाट विस्थापित ६ परिवारको पुनर्स्थापनाका लागि जग्गा खरिद गरेको हो। 

जिल्लाको उत्तरगया गाउँपालिकास्थित डाडागाउँबाट विस्थापित ६ परिवारलाई नुवाकोटको किस्पाङ गाउँपालिका ५ मा प्रतिपरिबार चार आना जग्गा खरिद गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले बताए।

उनले भने, ‘हामीले विस्थापितहरुको स्थानान्तरणका लागि जग्गा खरिद कार्यलाई तीव्रता साथ अघि बढाएका छौं, अहिले हामीले भुकम्पबाट विस्थापित डाँडागाउँका खुवाबहादुर तामाङ, शक्तिमान तामाङ, बुधे तामाङ, रिक्ती तामाङ, वीरबहादुर तामाङ र पूर्णबहादुर तामाङको परिवारका लागि जग्गा खरिद गरेका हौं।’

जग्गा खरिद गरेसँगै सोमबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमबीच नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य इन्जिनियर मोहन आचार्यले जग्गाधनी गुणराज न्यौपानेलाई चेक हस्तान्तरण गरेका छन्। 

खरिद गरिएको जग्गाको मूल्य १२ लाख रुपैयाँ रहेको उपाध्यायले जनाए। केही दिनभित्र विस्थापितहरुलाई संयुक्त जग्गाधनीपुर्जा हस्तान्तरण गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाले जनाएको छ। 

पुनर्निर्माण प्राधिकरणको तथ्यांकमा रसुवामा ३ सय ५३ परिवार विस्थापित रहे पनि हालसम्म ७८ परिवारका लागि नुवाकोटको किस्पाङमा पुनर्स्थापनाका लागि जग्गा खरिद गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ