arrow

रुपन्देहीमै पहिलोपटक दुरबिन प्रविधिबाट भ्यारिकोसिलको सफल शल्यक्रिया

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष १९ बुधबार
hospital.jpg

बुटवल। रुपन्देहीमै पहिलो पटक दुरबिन प्रबिधिबाट भ्यारिकोसिलको सफल शल्यक्रिया भएको छ । रुपन्देहीको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा दुरबिन प्रविधि (ल्याप्रोस्कोपी ) बाट भ्यारिकोसिलको सफल शल्यक्रिया भएको हो  ।जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. कृष्णप्रसाद बस्याल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले तिलोत्तमाका ४२ वर्षीय प्रेम बहादुर पुनको भ्यारिकोसिलको सफल शल्यक्रिया गरेको हो ।

अप्रेसन गरेर पनि धेरै दिन अस्पताल बस्नु नपर्ने छिटो छरितो अप्रेसन हुने भएकोले दुरबिनको माध्यमबाट गरिने अप्रेसन अर्थात् ल्याप्रोस्कोपी सर्जरी प्रभावकारी बन्दै गएको उनले बताए ।‘चिरफारबाट गर्दा आठ-नौं दिन रेष्टमा बस्नुपर्ने बिरामीहरु दुरबिन प्रविधिबाट शल्यक्रिया गर्दा एक-दुई दिनमैं पूर्ववतः अवस्थामा फर्किन सक्छन् ।’ उनले भने ।

अण्डकोष फुल्लिएर पीडा भएपछि अस्पताल आएका बिरामी पुनको पहिले क्लिनिकल र त्यसपछि अल्ट्रासाउन्ट परीक्षणबाट रोगको निदान गरिएको जनरल सर्जन डा. बस्यालले बताए ।विगत पाँच-छ वर्षदेखि जाडोमा अण्डकोष सुन्निने र दुख्ने समस्या देखिँदै आएकोमा बिरामी पुन केही दिनअघि मात्र उपचारका लागि क्रिमसन अस्पताल आउनु भएको थियो । शल्यक्रियापछि उनि बुधबार अस्पतालबाट डिष्चार्ज भएका छन् ।
 
डा. बस्यालले क्रिमसन अस्पतालमा दुरबिन प्रविधिबाट पत्थरीको साथै सुरुकैं अवस्थाको एपेन्डिक्स र हर्नियाको पनि शल्यक्रिया गर्न सकिने बताए । ल्याप्रोस्कोपीजन्य उपचारपछि चाँडै घर वा काममा फर्किन मिल्ने, कम पीडा र तुलनात्मक रुपमा कम संक्रमण हुने हुँदा अचेल अस्पतालहरुले यो प्रविधिलाई महत्व दिन थालेका छन् । धेरै दाग नदेखिने तथा छिटो शल्यक्रिया हुने भएकोले बिरामीहरु समेत यो प्रविधिबाट गरिने उपचारका लागि तयार हुने गरेका छन् ।

पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरुको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । ग्याँस, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ ।
अण्डकोषभित्र शुक्रग्रन्थीबाट रगत लैजाने नसाहरु फुलेको, तन्केको र बांगोटिंगो भएको अवस्थालाई मेडिकल भाषामा भ्यारिकोसिल भन्ने गरिन्छ । प्रायः यस्ता समस्याको चिरफारबाट शल्यक्रिया गरिँदै आएकोमा क्रिमसन अस्पतालले यस क्षेत्रमैं पहिलो पटक दुरबिन प्रविधिबाट बिरामीको उपचार गरेको हो । दुरबिनबाट यस्ता समस्याको शल्यक्रिया गर्दा बिरामीहरु छिटो काममा फर्किन सक्ने डा. बस्यालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ