काठमाडौँ। इटालीको सहयोगमा काठमाडौँको चाबहिलस्थित गङ्गाहिटीमा रु दुई करोडको लगानीमा दमकल स्टेसन बन्ने भएको छ ।
इटालीमा रहेको बोजेन बोल्जानो सहरको सहयोगमा निर्माण हुन लागेको दमकल स्टेसन कसरी बनाउने भन्ने नक्सासमेत इटालीबाट जुद्ध बारुणयन्त्र काठमाडौँलाई पठाइसकेको बारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माण हुन लागेको सो स्टेसन दुईतलाको रहनेछ भने भुइँतलामा दमकल र अग्नि नियन्त्रणका सामान राखिनेछन् । त्यसैगरी, दोस्रो तलामा अग्नि नियन्त्रक र स्टेसनका अन्य कर्मचारी रहने बताइएको छ ।
काठमाडौँ उपत्यकामा हाल तीन जिल्लामा गरी तीनवटा मात्र दमकल स्टेसन रहेका छन् । उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्दा सो सङ्ख्या अत्यन्तै कम भएकाले हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै सो स्टेसन निर्माण गर्न लागिएको हो ।
योमात्रै नभई हाल दमकल स्टेसन रहेको धर्मपथमा पनि अमेरिकाको सहयोगमा झन्डै रु १० करोडको लगानीमा अर्को दमकल स्टेसन बन्ने तयारी रहेको पनि बताइएको छ ।
अहिलेसम्मको तयारीलाई हेर्ने हो भने चाबहिलस्थित गङ्गाहिटीमा छिटो बन्ने देखिन्छ भने धर्मपथमा केही समय लाग्ने सम्भावना रहेको छ । रासस