arrow

क्याम्पस प्रमुखको राजिनामा स्वीकृत नभएपछि खुलेन नेविसंघको ताला

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ पुष २३ आइतबार
tala.JPG

पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुरको क्याम्पस प्रमुखको कक्षमा लगाईएको ताला अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुखको अटेरीका कारण  तीन महिना पुग्न लाग्दा समेत ताल खुल्न नसकेको हो ।  क्याम्पस प्रमुखको राजिनामा स्वीकृतको माग गर्दै नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस इकाई समिति रामपुरले लगाएको ताला खुल्न नसक्दा पठनपाठन समेत प्रभावित बनेको छ ।

क्याम्पस प्रशासनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन नसकेको, निर्वाचनका लागि क्याम्पस संचालक समिति, विद्यार्थी संगठन, सबै सरोकारवाला नै  लागि परेपनि क्याम्पस प्रमुख बासुदेव देवकोटाले नै आलटाल गरेर निर्वाचन गराउने वातावरण हुन नदिएको भन्दै नेवि संघले क्याम्पस प्रमुख देवकोटाको राजिनामा माग गरेका थिए ।

 पटक पटक निर्वाचनको माग गर्दै आइरहेको नेवि संघले निर्वाचनका लागि क्याम्पस प्रमुख असक्षम बनेको भन्दै क्याम्पस प्रमुखको राजिनामा माग गरेको थियो । क्याम्पस प्रमुख देवकोटाले राजिनामा दिए पनि संञ्चालक समिति बाट भने स्वीकृत हुन सकेको थिएन ।

यस विषयमा संचालक समितिले पनि छिटो निर्णय नगर्दा क्याम्पसको पठनपाठनका साथै विभिन्न शैक्षिक क्रियाकलापमा समेत असर पुगेको नेविसंघका स्ववियु सभापति उम्मेदवार जीवन तिवारीले बताए । “हामीले पटक पटक क्याम्पस प्रमुखको राजिनामाको स्वीकृतको माग गर्‍यौ, यस विषयले लामो समय सम्म पनि निकास लिन सकेन, यसमा सरोकारवाला निकाय मौन रहे विद्यार्थी संगठनको माग र क्याम्पसको शैक्षिक अवस्थालाई सुधार गर्न नसक्ने क्याम्पस प्रमुखको राजिनामा स्वीकृत नभएपछि हामीले गत कात्र्तिक ८ गते कार्यकक्षमा तालाबन्दी गरेका हौँ” तिवारीले भने ।
 
क्याम्पस प्रमुखको राजिनामाको विषयलाई लिएर आन्दोलनमा उत्रिएको नेविसंघ इकाई समितिले भने माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने इकाई सभापति दिपक अर्यालले बताए । यसले क्याम्पसको शैक्षिक वातावरण खलबलिएको भन्दै शैक्षिक स्तर सुधारका लागि क्याम्पस प्रमुखको राजिनामा जरुरी रहेको अर्यालको भनाई छ । क्याम्पस संचालक समितिका अध्यक्ष तिर्थप्रसाद पंगेनीले विद्यार्थीको मागलाई संचालक समितिले गम्भीरता रुपमा लिएको बताउँदै समस्याको समाधानको लागि प्रयत्नशिल रहेको बताए ।

क्याम्पस संचालक समिति र आन्दोलनरत विद्यार्थी संगठन बिचको बैठकले सहमतीमा स्ववियु गठन गर्ने निर्णय प्रति पद बाँडफाँडको विषयमा कुरा नमिलेपछि समस्याले निकास पाउन नसकेको स्रोतले बताएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ