काठमाडौं। नेकपा (एमाले) का नेता तथा विद्यार्थी फाँट इन्चार्ज रवीन्द्र अधिकारीले निर्धारित समयमा अनेरास्ववियुको २२ औँ सम्मेलन सम्पन्न गर्न निर्देशन दिएका हुन् । पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा सङ्गठनका पदाधिकारी तथा कार्यकर्तासँग आज भएको छलफलमा उहाँले सङ्गठनको सबै कमिटीको विवाद टुङ्गो लगाएर व्यवस्थापनको जिम्मेवारी पूरा गर्न आग्रह गरेका हुन् ।
व्यवस्थापिका–संसद्, विकास समितिका सभापतिसमेत रहनुभएका अधिकारीले मुलुकमा नाकाबन्दीको नराम्रो प्रभाव भएका बेलामा हुन लागेको सम्मेलनमा सहभागी हुन आउने सबै प्रतिनिधिलाई आवश्यक सुविधाको प्रबन्ध मिलाउन र उनीहरुकै भावनालाई समेट्ने गरी नयाँ नेतृत्व छनोट गर्नुपर्ने बताए । उनले अबको शिक्षा गुणस्तरीय, व्यावसायिक र प्रतिस्पर्धी हुनुपर्ने बताउँदै त्यस्तो शिक्षाले मात्र मुलुकमा विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।
अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले मोरङ, जुम्ला र सुर्खेतबाट प्रतिनिधि छनोटमा सामान्य विवाद रहेको भए पनि विवाद सहमतिमा टुङ्गो लगाउने प्रयास भइरहेको जानकारी दिए ।उनका अनुसार आउँदो पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा अनेरास्ववियुको सम्मेलनको तयारी भइरहेको छ ।