विराटनगर। मोरङको रङ्गेली र डाइनियामा यही माघ ७ गते मधेसी मोर्चाको प्रदर्शनका क्रममा आफ्ना अभिभावक गुमाएका दुई परिवारका सात बालबालिकाको पठनपाठनका लागि आज साइसेवा समाज निधिले छात्रवृत्तिस्वरुप आर्थिक सहायता प्रदान गरेको छ ।
रङ्गेलीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष डा सुन्दरमणि दीक्षितले रु दुई लाख ५० हजार आर्थिक सहायता प्रदान गरेका हुन् । महादेव ऋषिदेवका छोराछोरीको अध्ययनका लागि रु एक लाख ५० हजार र शिवु माझीको छोराछोरीको अध्ययनका लागि रु एक लाख सहायता प्रदान गरिएको हो ।
सो अवसरमा सविता अग्रवाल मेमोरियल ट्रष्टका सञ्चालक अशोक अग्रवालले शिवु माझीका एक सन्तानलाई कक्षा ११ सम्मको निःशुल्क अध्ययनका लागि सहयोग गर्ने घोषणा गरे।