'गोपाल पराजुलीले जानकी मेडिकल कलेजकाे फैसलामै चिकित्सा क्षेत्रमा हस्तक्षेप गर्नु भयाे'
प्रकाशित २०७४ पुष २५ मंगलबार
442
Shares
चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक पटक गर्दै आउनुभएका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले मान हानीको मुद्दामा पक्राउ गर्न आदेश दियो । पक्राउ गर्न आदेश दिएको केही समयमै डा. केसीलाई प्रहरीले पक्रेर अदालतमा उपस्थित गराईयाे । यिनै विषयमा डा. केसीका एकजना प्रतिनिधि डा. सुमन आचार्यसँग गरिएको कुराकानी–
० डा. गोविन्द केसीलाई पक्राउ गरिएको जानकारी कहिले दिइयो ?
– डा. गोविन्द केसीलाई हिजो सोमबार नै पक्राउ गरिएको थियो । हामी त्यही थियाैँ । उहाँलाई अनामनगर प्रहरी परिसर लगियाे । उहाँलाई प्रहरीले लैजान एम्बुलेन्स लिएर आएको थियो, हामी पनि सँगसँगै गएका थियौं ।
० पक्रदा डा. केसी निराश हुनुहुन्थ्यो ?
– उहाँमा निराशा देखिएको थिएन, नियम कानुन सबै मान्छु, अदालतप्रति पनि सम्मान छ, अदालतले निर्णय गरेको भ्रष्टाचारको केसप्रति मात्र मेरो आपत्ति हो भन्नुभएको थियो ।
० डा. केसीको विरोध गर्ने तरिका ठीक छ त ?
– उहाँले अदालत र मुख्य न्यायाधीशलाई त्यसरी भन्नु हुँदैन थियो भन्नेहरु पनि थिए । यो आन्दोलनको सुरुवातदेखि नै लाग्नेहरुले यसो भन्दै थिए । तर अर्को विकल्प के भन्दा उहाँहरुको त्यसको जवाफ थिएन । यसको विकल्पको जवाफ दिने कोही पनि नभेटिएकाले डा. केसीले यो विधि अपनाएका हुन् ।
० डा. केसीको अवको बाटो ?
– डा. केसीको प्रहरी परसरमै आमरण अनसन जारी छ । त्यसैले उहाँको अनसन जारी रहन्छ ।
० अदालतको निर्णयविरुद्ध नै डा. केसी १४ औं पटक अनसन बस्नु भएकाे हाे ?
– अदालतको निर्णयलगायत अन्य कारणहरु पनि छन् । डा. शशी शर्माको पदावधि ४ दिन बाँकी रहेका बेला सर्वोच्चले पुनर्वाहालीको निर्णय गरेको छ । फेरि दुवै डिन हुन् भन्ने आसयको निर्णय आएको छ । वर्तमान डिन डा. जगदिश अग्रवाललाई पनि तिम्रो नियुक्ति गैरकानुनी हो भनेको छैन । डा. शर्माले आउन चाहनुभयो भने ल्याउनु भनेको छ । सुनियोजित तरिकाले अदालतको फैसला आएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली मेडिकल शिक्षामा पेशेवर ढंगले आदेश दिने र मुद्दाको फैसला गरिराख्नुभएको छ । यो मेडिकल शिक्षालाई धरासायी बनाउने हो भनेर उहाँ १४ औं पटक आमरण अनुसन बस्नुभएको हो । चिकित्सा शिक्षा आयोग गठनका लागि पनि डा. गोविन्द केसीको अनसन हो ।
० प्रधानन्यायधीश गोपाल पराजुलीले चिकित्सा क्षेत्रमा कहाँनेर हस्तक्षेप गर्नुभयो ?
– तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश गोपालप्रसाद पराजुलीले २०७० फागुन २६ गते जानकी मेडिकल कलेजको पक्षमा गरेको फैसला हेर्नुस् । मेडिकल काउन्सिलले भौतिक पूर्वाधार नपुगेको भन्दै सिट बढाउन मिल्दैन भनेको थियो । पुरानै निर्णयअनुसार सिट दिनु भन्ने उहाँले फैसला गर्नुभयो । उहीले नै उहाँले चिकित्सा क्षेत्रमा हस्तक्षेप गर्नु भएकाे थियाे । पुनरावेदन अदालत पाटनमा न्यायाधीश हुनुहुन्थ्यो गोपाल पराजुली । झगडिया थियो जानकी मेडिकल कलेज । मेडिकल काउन्सिलले सिट बढाउन मिल्दैन भन्यो । गोपाल पराजुलीले जानकी मेडिकल कलेजले हालेको मुद्दामा अन्दरिम आदेश दिनु भएको । के भन्नु भयो भने, पूरानै विवरणका आधारमा सिट दिनु ।
काउन्सिलले २०७० चैत ९ गते पिपुल्स कलेजको डेन्टल सिट ७५ बाट ६० मा झार्ने निर्णय गरेकामा कलेजले पुनरावेदन गर्दा सिट कटौती निर्णयलाई रोक लगाउन अन्तरिम आदेश दियो । त्यो पनि मेडिकल कलेजकै पक्षमा थियो । २०७१ जेठ २७ मा नोबेल मेडिकल कलेजको एमडी एमएस कार्यक्रममा नेपाल मेडिकल काउन्सिलले ५० वटा सिटबाट बढाउनलाई उसको पूर्वाधार पुगेको छैन भनेर जम्मा ८–१० वटा सिटमा झारिदियो । नोबेल मेडिकल कलेज सर्वोच्च अदालत गयो । त्यो मुद्दा पनि गोपाल पराजुलीले हेर्नु भयो । पुरानो वर्ष झै यो वर्ष पनि सिट दिनु भनेर आदेश दिनु भयो । अरु सुनाउनै नसकिने आदेशहरु पनि छन् ।
० केसी पक्राउ परेको कति समयपछि प्रधानमन्त्रीका सहयोगिले फोन गरे ?
–सिंहदरबारको प्रहरी वृत्तबाहिर हामी बसिरहेका थियौ । राति ११ बजे प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियार उहाँले फोन गर्नु भो र हामी अहिले मिटिङमा बसिरहेका छौँ । प्रधानमन्त्री स्वयंलाई थाहा छैन भन्नु भयो । यो देश कसले चलाइरहेको छ भन्नेतर्फ अर्को प्रश्न उठ्ला । किन कि प्रधानमन्त्री एवं गृहमन्त्रीलाई थाहा छैन डा. केसीलाई प्रहरीले अनसन स्थलबाट उठाएर ल्याएको कुरा ।
० डा. केसी अनसन बस्नु अघि पत्रकार सम्मेलनमा ठूलो फेहरिस्त सार्वजनिक गर्नुको कारण के थियो ?
–मैले केही बुँदा अघि नै भनिसके । उहाँको इजलासहरु हेर्दै जाँदा प्रत्येक पटक मेडिकल कलेज सञ्चालककै पक्षमा थियो । नियामक संस्था नेपाल मेडिकल कान्सिलका निर्णयहरु जहिले बदर गरिन्थ्यो । उसको छलफल अध्ययन सबै खेर जान्थ्यो । मेडिकल कलेजहरु जति पनि अदालत पुगे ती रिटहरु सबै गोपाल पराजुली कहाँ पुगे । उहाँले मेडिकल कलेजकै पक्षमा फैसला सुनाउँदै जानु भयो ।
० तपाईको संकेत, प्रधानन्यायाधीशको पनि मेडिकल कलेजहरुसँग केही न केही साइनो छ भन्ने हो ?
–अदालत सम्मानित छ । हामीले भन्न खोजेको त्यहाँ न्याय सम्पादन गर्नेहरुको नियत ठीक छैन भनेर औँल्याउन खोजेका हौँ । जो संविधानको अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि व्यवस्थासँग सम्बन्धित पनि छ । केही समय अघि भैरहवा मेडिकल कलेज व्यवस्थापनकै एक जना कर्मचारी ध्रुव पौडेल नाम गरेका व्यक्तिलाई भेटन खोजी पत्रकारिता केन्द्रका एक जना पत्रकार गए । ती पत्रकारले अडियो रेकर्ड गरे । समाचार छलाछुल्ल भयो । त्यसमा पूर्व प्रधानन्यायाधीश दामोदर शर्मादेखि लिएर अहिलेका प्रधानन्यायाधीश गोपाल पराजुलीसम्म कसरी सेटिङ भएको थियो भन्ने कुरा छ । त्यो अडियोमा नामै किटेर भन्नु भएको थियो । उहाँहरु हाम्रै सेटिङमा हुनुहुन्छ र हाम्रै पक्षमा फैसला गर्नु हुन्छ । अहिले पनि त्यो समाचारको आरकाइभ भेटिन्छ । सर्वोच्चले छानविनको लागि एउटा कमिटी पनि गठन गरेको थियो । त्यसले गरेको काम सार्वजनिक भएन । जे भएपनि त्यो प्रमाणित नै छ भन्ने हाम्रो विश्वास छ ।