arrow

'निर जहिले रिसाउनी'मा  राजस्थानी ऊँट नाचे पछि...

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
camel.jpeg

बागलुङ। ‘माया जहिले रिसाउनी...’ गीतको लयमा ऊँटले खुट्टा र शरीरको चाल मिलाएपछि सबै दङ्ग देखिन्थे । जीवनमा कहिल्यै ऊँटै नदेखेका त झन् ‘उँटको नाच’ हेरेर आश्चर्यमा परे । 

भारतको राजस्थानदेखि दुई हजार ५५५ किमी यात्रा तय गरेर यहाँ ल्याइएको ऊँट हेर्ने मौका सजिलै मिलेको भने होइन । मरुभूमिमा पाइने ऊँटलाई चिसो हावापानीयुक्त पहाडी भूमिमा देखाउने आँट बागलुङ उद्योग वाणिज्य संघले गरेको हो । ‘सोनु’ नाम गरेको साढे ४ वर्षको ऊँट बागलुङ महोत्सवको मुख्य आकर्षण बन्यो । 

दर्शकले ऊँटलाई हेरेनन् मात्र ऊँटलाई छोए र ऊँटको नाच तथा अभिनयमा लोभिए पनि । नाम र तस्बीरमा मात्र सुने, देखेको जनावर प्रत्यक्ष देख्न पाउँदा सर्वसाधारण उत्साहित बने । मरुभूमिको ऊँट आफ्नै ठाउँमा देख्न पाउँदा रमाइलो लागेको बागलुङ नगरपालिका–२ का उषा पौडेलले बताउनुभयो । 

‘बिजी ग्रुप’का सञ्चालक शिवलाल गौतममले वैधानिक रुपमा पहिलो पटक आफूहरुले ऊँट नेपाल भित्र्याएको दाबी गर्नुभयो । २ वर्षअघि राजस्थानबाट ल्याएको ऊँटलाई व्यावसायिक रुपमा प्रदर्शन गर्ने गरिएको उहाँको भनाइ छ । ऊँटलाई नेपाल ल्याउँदा करिब रु १० लाख खर्च भएको गौतमले बताउनुभयो । 

बागलुङ महोत्सव सकिएलगत्तै उक्त ऊँट अहिले चितवनको गैडाकोटमा आयोजित महोत्सवमा पुगेको छ । मेला, महोत्सवबाट आउने मागले आगामी चैतसम्म ऊँटको कार्यतालिका व्यस्त रहेको अर्का सञ्चालक जीवन पँगेनीले बताउनुभयो । “जताततैबाट माग आउने गरेको छ, हामीलाई भ्याइनभ्याई छ”, उहाँले भन्नुभयो । महोत्सवमा ऊँट राख्दा दर्शकलाई आकर्षित गर्न सकिने हुँदा आयोजकबाट बढी माग आउने गरेको उहाँको भनाइ छ । महोत्सवमा रु ५० मा टिकट काटेर ऊँट हेर्न पाइने व्यवस्था मिलाइएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ