arrow

आम्दानीको राम्रो स्रोत भएपछि कालिकोटे युवा खच्चर व्यवसायमा

बैदेशिक रोजगारी भन्दा फाइदाजनक

logo
पुष्पराज भट्टराई
प्रकाशित २०७२ माघ १४ बिहिबार
khachhad.jpg.jpeg
कालिकोट। युवाहरु बैदेशीक रोजगारमा जाने प्रचलन यहाँका लागि नौलो होइन । आर्थिक अवस्था कमजोर भएका कारण धरैजसो युवाहरु रोजगारीको शिलशिलामा खाडी मुलुक पलायन हुने गर्छन। तर पछिल्लो समय बैदेशिक रोजगारीलाई त्यागी आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले यहाँका युवा लागि परेका छन्। खाडी मुलुक जाने प्रचलनका बाबजुद कालिकोटको फुकोट र स्युनाका करिव १ दर्जन युवाहरुले अहिले खच्चर व्यवसाय अंगालेर मनग्य आम्दानि गर्न सफल भएका छन्। 
 
कालिकोट फुकोट गाविस वडा नं ६ का चेत बहादुर शाहीले चार वर्ष अघि कतार पुगेर फर्किएको १ वर्ष पछि आफ्नै ठाउँमा खच्चड व्यवसायमा लागेका छन्। अरुको देशमा गएर गुलामी गर्नुभन्दा पनि आफ्नै देशमा केही गर्ने उद्देश्यले खच्चर व्यवसायमा लागेको छु उनले भने। उनका अनुसार ४ वर्ष विदेशमा विताएपनि आफुले कुनै उपलव्धी नगरेको र अहिले ६ वटा खच्चर किनेर व्यवसायीकरुपमा लागिपरेको बताए। त्यस्तै स्युनाका कुम्भ फर्सालले पनि अहिले खच्चरबाटनै मनग्य आम्दानि गर्न सफल भएका छन्। राज्यद्वारा पछाडि परेका कालिकोटको सदरमुकाम मान्मासम्म मोटर बाटो भएपनि गाउँसम्म नपुगेकाले यातायातको एक मात्र साधन खच्चर रहेको छ। अहिले आफुले ५ वटा खच्चरबाट मासिक १ लाख देखी १ लाख ६० हजारसम्म कमाउने गरेको व्यवसायीहरुको भनाई छ।
 
पछिल्लो पटक जिल्लामा खच्चर व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि खच्चर व्यवसाय फस्टाउनुका साथै कमाईको माध्यम नै बनेको छ कालिकोटे युवाहरुको। कयौं युवा विदेश जाने तयारीमा रहेको भए पनि खच्चर किनेर गाँउमै राम्रो कमाई हुने भएकाले बैदेशिक रोजगारी त्यागि खच्चरतिर लाग्नेको ताती नै लागेको छ। त्यस्तै फुकोट ७ का भिमबहादुर रोकाया पनि खच्चर व्यवसायमा नै लागेका छन्। मासिक १ लाख देखि १ लाख ६० हजारसम्म कमाई हुने भए किन विदेशमा दिन विताउनु आफ्नै घरको साग र सिस्नो खाएर आफ्नै देशमा केही गरे कमाई पनि राम्रो हुने भएकाले खच्चर व्यवसायलाई पूर्ण रुपमा प्राथमिकता दिएको उनले बताए।
 
चामल, तेल, नुन दैनिक उपभोग्य सामान मात्र नभएर चाउचाउ कापी, किताव, सिमेन्ट, सरीया, ग्याविन तार लगाएतका सामानहरु गाउँका विभिन्न ठाउँमा पुर्‍याए बापत दैनिक १ खच्चरले १ हजार देखी २ हजारसम्म कमाउने गरेको छ। वर्षा याममा बाटो विग्रिने भएकाले केही समस्या भएपनि खच्चर व्यवसाय बन्द भने हुदैन। यातायातको सहज पहुँच नहुदा जिल्लाका १२ गाविसमा दैनिक उपभोग्य सामानको अभाव रहि आएको थियो। ठेकेदारले ठेक्का लिए पनि समयमा ढुवानी नहुँदा उक्त गाविसका बासिन्दालाई भोकमरीले सताउने गरेको भए पनि अहिले व्यवसायीक रुपमा खच्चर यातायातको साधान भएसंगै सवै समस्या हटेर गएको स्युना गाविसका स्थानिय टेकराज संज्यालले बताए। उनले भने पहिले पहिले नुन तेल ल्याउन कर्णाली चिसापानि, नेपालगंज, सुर्खेत जानु पथ्यो तर अहिले यातायातको एकमात्र साधन खच्चर सुरु भएसंगै त्यहाँसम्म पुग्न परेको छैन। घरको आगनमा जे चाहियो त्यहि सामान १ दिनमा नै आउछ बेकारमा किन २ दिन लगाएर नेपालगंज सुर्खेत जाने उनले भने। 
 
खच्चर हाक्दा कर्णाली नदिको किनार किनार हुदै लिनु पर्ने भएपनि अहिले कालिकोटका अधिकाँश युवाहरु अरु क्षेत्रमा भन्दा पनि खच्चर व्यवसायमा लागेका छन्। छिटो, छरितो र आम्दानिको राम्रो स्रोत भएकाले बाख्रा, भेडा, च्याग्रा बेचेर भएपनि खच्चर किन्ने युवाहरुको संख्या बढ्दै गइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ