arrow

भूकम्प क्षतिको लगत सङ्कलन जिम्मा एनजीओेलाई

भूकम्पले पु¥याएको क्षति र आर्थिक, सामाजिक सूचना सङ्कलनको जिम्मा हर्ड नामक संस्थालाई दिइएको हो ।

logo
प्रशन्न पोखरेल, गोरखा
प्रकाशित २०७२ माघ १४ बिहिबार
Gorkha-hamrakura.jpg.jpeg
वैशाखमा गएको ‘गोरखा भूकम्प’ले व्यक्तिगत घरमा पु¥याएको क्षतिबारे लगत सङ्कलन गर्ने जिम्मा एक गैरसरकारी संस्थालाई दिइएको छ ।  गोरखाका ६० गाविस र दुई नगरपालिकाभित्र रहेका व्यक्तिगत घरमा भूकम्पले पु¥याएको क्षति र आर्थिक, सामाजिक सूचना सङ्कलनको जिम्मा हर्ड नामक संस्थालाई दिइएको हो । 

केन्द्रिय तथ्याङक विभागले भूकम्पपीडितका घरको वास्तविक तथ्याङ्क सङ्कलनको जिम्मा उक्त एनजीओलाई दिएको छ । जिल्लास्थित लगत व्यवस्थापन समूहको समन्वयमा व्यक्तिगत घरको तथ्याङ्क सङ्कलनका लागि ६४ जना इन्जिनियरहरु गाउँ÷गाउँ जाँदैछन् । इन्जिनियरका साथमा एकजना सामाजिक परिचालक पनि हुने स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताए । 

भूकम्पले पु¥याएको क्षतिको फोटोसहित दुई सदस्यीय टोलीले सूचना सङ्कलन गर्ने र कम्प्युटर सफ्टवेयर मार्फत केन्द्रीय तथ्याङ्क विभागमा पठाउने गिरीले बताए । विश्व बैँक र ‘यूएओपीएस’ नामक संस्थाको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागको समन्वयमा हर्ड नामक संस्थाले भूकम्पको क्षतिको लगत सङ्कलन गर्ने भएको हो । 

जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्णय गरेरै पहिलो चरणमा इलाका नम्बर ८, ९, १०, ११ र १२ भित्रका ३२ वटा गाविसमा लगत सङ्कलन गर्न हर्डलाई जिम्मा दिएको छ । दुई सदस्यीय टोलीले ४५० देखि ५५० वटा घरधुरीका दरले लगत सङ्कलन गर्ने गिरीको भनाइ छ । कसरी लगत सङ्कलन गर्ने भन्नेबारे केन्द्रीय तथ्याङ्क विभागले इन्जिनियरलाई तालिम दिइसकेको छ भने सामाजिक परिचालकहरुलाई जिल्लामै दुई दिनको तालिम दिइन्छ । 

भूकम्पपछि घरधुरी सङ्ख्या बढेको र नक्कली भूकम्पपीडितले पनि सक्कली जसरी राहत तथा रकम बुझेको गुनासो बढेपछि पुनः अध्ययन गरेर घरधुरी सङ्ख्या पत्ता लगाउने तयारी गरिएको हो । विसं २०६८ सालमा गरिएको जनगणनामा १० प्रतिशत घरधुरी बढेको अनुमानसहित उक्त टोलीले गाउँ÷गाउँमा भूकम्पले पु¥याएको क्षतिको लगत सङ्कलन गर्नेछ । 

विसं २०६८ को गणनाअनुसार गोरखामा ६६ हजार ५१६ घरधुरी थिए । अहिले घरधुरीको सङ्ख्या बढेर ७१ हजार पुगेको अनुमान गरिएको छ । एकाघरमा बसेका तर सगोलमा खाना नखाने ९छुट्टिएर बसेका० घरमुलीको पनि लगत सङ्कलन गरिने गिरीको भनाइ छ । 

प्राधिकरणको कार्यालय खोल्ने तयारी 
भूकम्पपछिको भौतिक संरचना पुनःनिर्माण गर्न गोरखामा पुनःनिर्माण प्राधिकरणको कार्यालय खोल्ने तयारी गरिएको छ । गोरखा र धादिङ जिल्लाको पुनःनिर्माण हेर्नेगरी प्राधिकरणको कार्यालय स्थापना गर्न लागिएको हो । ‘कार्यालय राख्ने घरको खोजी गर्दैछौं’ प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भने, ‘पुनःनिर्माणको काम अघि बढाउन कार्यालय स्थापनाको तयारी छ ।’ कार्यालयमा सहसचिवस्तरको कर्मचारी प्रमुख रहने बताइएको छ । 

१९ गाविस भवन निर्माण गरिने 
जिल्लास्थित प्राविधिक कार्यालयले १९ वटा गाविस भवन निर्माण गर्ने भएको छ । भूकम्पले भवन क्षति हुँदा सेवाग्राहीको काम गर्न नसकिएको भन्दै अर्धस्थायी प्रकृतिको भवन निर्माण गर्न लागिएको प्राविधिक कार्यालयका प्रमुख सहदेवबहादुर भण्डारीले बताए। 

स्थानीय विकास मन्त्रालयले पठाएको बजेट अनुसार चुम्चेत, बिही, हर्मी, थालाजुङ्लगायतका गाविस भवन निर्माण गर्न लागिएको हो । एउटा गाविस भवन निर्माणका लागि रु आठ लाख बजेट आउने भण्डारीको भनाइ छ । भूकम्पले गर्दा जिल्लाका अधिकांश गाविस भवन पनि भत्केका छन् । 

छानबिन गर्न १५ दिनको म्याद थप 
नक्कली भूकम्पपीडितले पनि सक्कली भूकम्पपीडितले जसरी रातो कार्ड र राहत बुझेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिमा परेका नौहजार वटा निवेदनबारे छानबिन गर्न १५ दिनको म्याद थप गरिएको छ । गाविस र पालुङटार नगरपालिकाको छानबिन सम्पन्न गरेको टोलीले गोरखा नगरपालिकाको छानबिन भइरहेको जनाएको छ । 

जिल्ला सरकारी वकिल महेन्द्र थापाको नेतृत्वमा जिल्ला दैवीप्रकोप उद्धार समितिले गत असारमा छानबिन टोली गठन गरेको थियो । अझै एक हजारवटा निवेदन छानबिन गर्न बाँकी रहेको छ । छानबिनपछि पूर्णरुपमा घर क्षति भएकाहरुलाई रातो कार्ड, अस्थायी आवासको १५ हजार र न्यानो कपडाको १० हजार दिइने गिरीले बताए । 



नयाँ