प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि कर्मचारी खटाइए
प्रकाशित २०७४ माघ ७ आइतबार
879
Shares
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्नका लागि आइतवार कर्मचारी खटाएको छ ।
मन्त्रालयले यसअघि कार्यालय सञ्चालन गर्न सहसचिव पठाइसकेपछि आइतवार अन्य कर्मचारी खटाइएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । उनका अनुसार १८ जना कर्मचारीका दरले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालयमा कर्मचारी खटाइएको छ ।
“आज पत्र दिएर अन्य कर्मचारीलाई सम्बन्धित प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्न पठाएका छौँ”–उनले भने, “कर्मचारी सोमबारसम्म पुगी कार्यलय सुचारु गरिनेछ ।” खटिइएका कर्मचारीमा दुई उपसचिव, सात शाखा अधिकृत, दुई नायब सुब्बा, एक कम्प्युटर अपरेटर, तीन कार्यालय सहयोगी र दुई जना सवारी चालक रहेका छन् ।
यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय संचालनका लागि प्रदेश नं १ मा रामकृष्ण गुरागाईँ, प्रदेश नं २ मा लावण्यकुमार ढकाल, प्रदेश नं ३ मा चर्तुभुज ज्ञवाली, प्रदेश नं ४ मा देवीप्रसाद ज्ञवाली, प्रदेश नं ५ मा सनतकुमार दुवाडी, प्रदेश नं ६ मा भरतबहादुर ढुंगाना र प्रदेश नं ७ मा युवराज सुवेदी पठाइसकेको छ ।