arrow

आलोचना गर्नेलाई धन्यवाद, र कसैलाई अन्याय भयो भने म छोड्दिन्छु : कोमल वली (अन्तर्वार्ता)

‘भारतमा सचिन तेन्दुल्कर के राजनीतिज्ञ थिए र ? उनलाई राष्ट्रिय सभामा ल्याइयो’

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
komal_oli.jpg

राष्ट्रियसभा निर्वाचनमा यतिबेला कसैको चर्चा छ भने कोमल वलीको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको वर्ष दिन नवित्दै एमालेले राष्ट्रियसभामा उम्मेदवार बनाएपछि उनको चर्चा चलेको हो । उम्मदेवार भएसँगै उनी निर्विरोध भएपछि सामाजिक सञ्जालमा उनको चर्चाले व्यापकता पाएको छ । राम्राभन्दा नराम्रा कुरा पोस्ट गर्नेलाई कोमल धन्यवाद दिनछिन् । उनलाई पानी खेदो गर्नेहरु किन यति धेरै भन्ने विषयमा हामीले कोमल वलीसँग संक्षिप्त कुरा गरेका छौँ ।

० एमालेबाट उम्मेदवार बनेपछि तपाईंका बारेमा टिकाटिप्पणी भए नि ?
– आ–आफ्नो बुझाइ हो, सबैको आ–आफ्नै दृष्टिकोण हुन्छ । जसले जसरी लिन्छ, त्यसरी नै हेर्नुपर्छ । जसको विचार जस्तो हुन्छ, त्यस्तै प्रतिक्रिया आउँछ । आलोचनात्मक टिप्पणी गर्नेलाई धन्यवाद । बिग्रेको राजनीतिप्रति चिन्ता र चासो राख्नुभएको होला, उहाँहरुको चिन्ता र चासोलाई कत्तिको सम्बोधन गर्न सक्छु भन्ने कुरा समयले देखाउँछ ।

० राष्ट्रियसभामा विज्ञहरु जानुपर्ने होइन ?
– के हो विज्ञता भनेको, यसको प्रमाणपत्र कसले दिन्छ ? अहिलेसम्म को–कसले यो विज्ञताको प्रमाणपत्र पाएका छन् ? मेरो त्यसमा के विज्ञता पुगेन । अरु केही होइन, कोही होइन भन्ने हाम्रो समाजको नकरात्मक दृष्टिकोण छ । मैले देशविदेशमा आफ्नो संस्कृति कला संगीतलाई पुर्‍याएँ, लामो समयसम्म राष्ट्रको सेवा गरें । हजारौं पटक सम्मान पाएकी छु । बाल्यकालदेखि अहिलेसम्म कुनै प्रतियोगितामा हारेको छैन, मेरो अध्ययन, योग्यता र क्षमतामा प्रश्न चिह्न छ कि ? राष्ट्रियसभाको सांसद हुन चाहिने योग्यता के हो ? मैले उक्त पद पाउँदा अरु कसलाई अन्याय भयो भने म छोड्दिन्छु । मेरो पार्टी नेकपा एमालेले मेरो विज्ञतालाई राष्ट्रियसभामा उपयुक्त देख्यो र छान्यो । यो एमाले स्थायी समितिको निर्णय हो, कुनै व्यक्तिले दिएको होइन । मैले मागेको पनि होइन । मैले प्रतिनिधिसभाको उम्मेदवार मागेकी थिएँ । किनभने म चुनाव जितेर प्रतिनिधिसभामा आउन चाहन्थे । पार्टीमा मेरो लगानी थिएन, छैन, त्यसैले मलाई यो पद चाहिन्छ भनेर मागेको होइन । भारतमा सचिन तेन्दुल्कर जसलाई राजनीतिप्रति कुनै चासो थिएन, तर उनलाई राष्ट्रियसभामा ल्याए ।

० पार्टीमा योगदान दिनेलाई पाखा लगाएर तपाईंलाई सांसद ?
–योगदान दिनेहरुलाई किन सांसद बनाउनुपथ्र्यो, नबनाएकोमा मलाई दुःख लागेको छ । म संगीतिकर्मी हुन, मेरो योगदान छ । पार्टीले मलाई योग्य ठान्यो र जिम्मेवारी दियो, मेरो पार्टीको नेताहरुलाई म सलाम गर्छु ।

० तपाईंले पाएको अवसरलाई पार्टीभित्र कसरी लिइएको छ ?
– जति पनि टिकाटिप्पर्णी आएको छ, त्यसले मलाई केही फरक पारेको छैन । उहाँहरुको चित्त किन दुःख्यो म आश्चर्य चकित छु । थोरै मात्र सिट हो, महिलाको कल्स्टर छ, पुरुषको खोसेको छैन । ठाकुर गैरेलाई नगरेर कोमल वलीलाई किन गर्‍यो भनिएको छ । ठाकुरको ठाउँमा म गएको होइन, उहाँ मेरो साथी हो । उहाँ मेरो पार्टीको नेता हुनुहुन्छ । कसैको भाग मैले खोसेको छैन । मेरो विरुद्ध फेसबुकमा लेख्नुहरुलाई धन्यवाद छ ।

० स्थानीय चुनावसम्म तपाईं राप्रपामा नै हुनुहुन्थ्यो होइन ?
– धेरै समय अगाडि देखि म राजनीतिक चासो र चिन्तामा थिएँ । रेडियो नेपालमा काम गर्दा म राजनीतिक दलमा थिइन् । तर राजनीतिक अभिरुचि त थियो । राजनीतिमा आउनकै लागि मैले रेडियो नेपालको जागीर छोडे । राप्रपामा गएँ, राप्रपा एउटा राष्ट्रवादी पार्टी हो । राप्रपालाई एउटा सिटमा हामीले सहयोग पनि ग¥यौं । म भाषण गर्न पनि गएँ । कुरा देश बनाउने र मातृभूमिको सेवा गर्ने नै हो । कुन विचारले सेवा गर्ने भन्ने मात्र हो । मुलुक साध्य हो, राजनीतिक पार्टी साधन हो । राप्रपाबाट एउटा स्ट्रेन्थ देखेको थिएँ, त्यो पार्टी फुट्यो, टुक्रा टुक्रा भयो, कता जाऔं ? जनताको सेवा गर्न मैले एउटा बाटो खोज्नु पर्‍यो । एउटा कोठरीमा मान्छेलाई राख्यो भने निसासिन्छ । कतै एउटा सानो दियो देखेपछि मान्छेलाई बाँच्ने आशाका किरण देख्न सकिन्छ । नेकपा एमाले जनाधार भएको पार्टी, केपी ओलीको नेतृत्वमा चलेको पार्टी, दाङमा मेरा परिवारजन एमालेमा भएको हुनाले यो पार्टीबाट राजनीति गर्न सक्छु, देश र जनताको सेवा गर्न सक्छु । मैले एमालेमा आउँदा के अपराध गरें ?

० गीत पनि चर्चामा आउँछन् ?
– मेरो गीत समाज परिवर्तन गर्ने हो । नारी सशक्तिकरणको आवाज हो । म परेको केटासँग विवाह गरेर म जान पाउँछु । यस्ता कुरा गीतमार्फत मैले अभिव्यक्त गर्न किन नपाउने ? मान्छेहरु पोइला जान पाम भनेर लेख्छन् । लेख्नुको पनि हद हुन्छ । आमा दिदी बहिनीलाई सम्झनुहोस् । हामीले गाउँघरमा भोगिरहेको संस्कारलाई सम्झनुहोस् । फोटो छपाउन, पत्रिकामा चर्चा कमाउन मैले यी गरेको होइन ।

० अब पार्टी परिवर्तन गर्नु हुन्न नि ?
– पार्टी परिवर्तन गरेर अरु आएका छैनन् ? कसैले पार्टी खोलेका छैनन ? हाम्रो एमाले पार्टी पनि बीचमा विचार नमिलेर फुटेको होइन र ? एमालेमै हुनुभएका नेताहरु अरु पार्टीमा जानु परेको छैन ? अरु पार्टीका नेताहरु एमालेमा आउनु भएको छैन ? घोच्नकै लागि मान्छेहरु यस्ता कुरा गर्छन् । म यो पार्टीलाई घात गर्छु कि गर्दिन, काम र पेशाप्रति बेइमानी गर्छु कि गर्दिन भन्ने कुरा समयले देखाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ