arrow

देशकै होची महिला परिन् फेला, दिइयो सामाजिक सुरक्षा भत्ता

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
malati-hochi.jpg

पथरी । मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ । 

सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो ।

१४ किलो तौल रहेकी मालतीको उचाइ ३२ इन्च छ । उनको नागरिकता छैन, तर सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु दुई हजार उपलब्ध गराउने बताए । 

मालतीको जन्म २०५६ भदौ १८ गते भएको हो । २०६२ जेठ ३० मा उनले जन्मदर्ता बनाएकी हुन् । 

बुबा रमेशप्रसाद मुरर र आमा मीनादेवी मुरर दुवैको जन्मसिद्ध नागरिकता छ । तर मालतीको नागरिकता छैन । 

सरकारले केही समयका लागि जन्मसिद्ध नागरिकता वितरण कार्य रोकेको छ । जन्मसिद्ध नागरिकता वितरण प्रक्रिया सुचारु भएपछि मालतीलाई नागरिकता उपलब्ध गराउने प्रमुख ढकालले बताए ।

उनले जबसम्म मालतीको नागरिकता बन्दैन तबसम्म नगरपालिकाको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिकरुपमा रु दुई हजार उपलब्ध गराउने बताए ।

तीन सन्तानका पिता रमेशप्रसाद मुररको घर सुन्दर हरैँचा–४ को सुकुम्वासी बस्तीमा छ । 

खान बस्नको समस्या भएका कारण छोरी मालतीको उचाइ बढाउने गरी औषधोपचार र शिक्षाको व्यवस्था गर्न नसकिएको मुररले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ