arrow

बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
dhaulagiri_hospital.jpg

बागलुङ । धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ । जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ । प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए । स्वास्थ्यकर्मीको चरम लापरबाही र असावधानीका कारण थापामगरले गम्भीर स्वास्थ्य समस्या झेल्न बाध्य हुनुपरेको छ । 

साधारण प्रसूतिपछि पनि समस्या बल्झिँदै गएपछि अस्पतालमा जाँच गराउँदा पाठेघरमा ‘प्याड’ भेटिएको उनका श्रीमान् किरण थापाले बताए । “सुत्केरी हुँदाको घाउ निको होलाभन्दा झन् बल्झियो, पीडा पनि कम भएन” थापाले भने “अहिले थाहा भयो कारण यस्तो रहेछ ।” शुरुमा चिकित्सकको परामर्शमा घाउ सुकाउन र दुखाइ कम गर्न औषधिसमेत चलाइएको उनको भनाइ छ । योनीद्वारबाट पिपजस्तो गन्हाउने पानी बग्न थालेपछि परिवारले पुनः परीक्षणको लागि अञ्चल अस्पताल लगेका थिए । 

पछिल्लो समय थापामगरलाई पिसाब फेर्नसमेत कठिन हुँदै गएको थियो । “अरुलाई समस्याभन्दा सुत्केरी हुँदा सामान्य दुखाइ हुन्छ भन्थे”, सुत्केरी अवस्थाकी थापामगरले भने, “सोच्दै नसोचेको कुरा भएको रहेछ, पाठेघरमा सडेको प्याडले इन्फेक्सन गराउँछ कि भन्ने डर छ ।” स्वास्थ्यकर्मीले कमजोरी स्वीकार्नुको सट्टा उल्टो अभद्र व्यवहार गरेको उहाँको गुनासो छ । “सफा गरेपछि तत्कालै प्याड निकाल्नुपर्ने, अस्पतालको कति ठूलो लापरबाही !”, उनले भने । 

अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले भने आफूलाई उक्त घटनाबारे केही थाहा नभएको प्रतिक्रिया दिए। प्रसूतिमा हुने रक्तस्राव रोक्न प्रयोग गरिने प्याड केही समयमै निकालिने उनको भनाइ छ । “घटनाबारे हामी बुझ्छौँ, प्रसूतिमा संलग्न चिकित्सक र नर्ससँग जानकारी लिने काम हुन्छ” उनले भने । सुत्केरी महिलाका परिवारजन र आफन्तले अस्पतालको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन् । 

यस्ता घटनाले अस्पतालप्रतिको जनविश्वासमा ह्रास आउने जैमिनी नगरपालिका–७ जैदीका विजय रानाले बताए। घटनाको जिम्मा लिएर आउँदा दिनमा गल्ती दोहोरिन नदिन अस्पताल प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ । धौलागिरि अञ्चल अस्पताल जिल्लामै सबैभन्दा बढी संख्यामा प्रसूति गराउने स्वास्थ्य संस्था हो । यस अस्पतालमा शल्यक्रिया सेवामार्फत पनि प्रसूति गराउने गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ