arrow

जनकपुरधाममा प्रदेशसभाको तयारी, सचिवालय हेर्ने कर्मचारी खोजिँदै

logo
हिमांशु चौधरी,
प्रकाशित २०७४ माघ १७ बुधबार
pradesh-2.JPG

जनकपुरधाम । प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तीव्र रूपमा भइरहेको छ ।

शैक्षिक तालीम केन्द्र जनकपुरधामको सभाकक्षमा बैठक बसाल्न मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ ।

केन्द्रको परिसरलाई व्यवस्थापिकाका लागि निर्धारण गरिएकाले सोहीअनुरूपको बैठक कक्ष, सभामुख कक्ष, उपसभामुख कक्ष, संसदीय समिति कक्ष, संसदीय दल बैठक कक्षसहितको व्यवस्थापन कार्य सो परिसरमा भइरहेको छ ।

शहरी तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बैठकका क्रममा सभामा प्रयोग हुने कुर्सी, पोडियम निर्माण र सभाकक्षको रङरोगनको कार्य युद्धस्तरमा भइरहेका छ र माघ १९ गतेभित्र बैठक कक्ष पूर्णतः तयार हुनेछ ।

प्रदेशसभाको भौतिक निर्माणका लागि ५५ करोड माग गरिएकामा रु सात करोड रकम सरकारबाट प्राप्त भएको बताइएको छ । कार्यपालिकाका लागि जनकपुर चुरोट कारखाना परिसरका भवनको मर्मतसम्भारको कार्य भइरहेको छ ।

यसैबीच, प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले यही माघ २१ गते हुने प्रदेशसभाको प्रथम अधिवेशन विधि र प्रक्रियाअनुरुप सञ्चालन गर्न गृहकार्य भइरहेको बताए  ।

उनले प्रदेशसभाको काम कारबाही व्यवस्थित रुपमा सञ्चालन गर्न सङ्घीय संसद् सचिवालयबाट विज्ञसहितको टोलीसमेत जनकपुरधाम आइसकेकाले बैठक सञ्चालनमा समस्या नआउने विश्वास व्यक्त गरे।

विज्ञहरूले अधिवेशन सञ्चालन, मर्यादापालकको व्यवस्थापन, प्रदेशसभा सदस्यको आगमन, समितिका बैठक सञ्चालन सम्बन्धमा प्रशिक्षण र सहयोग गर्ने उनले जानकारी दिए ।

बैठक सञ्चालनबारे प्रशिक्षण दिन संघीय संसद् सचिवालयबाट यहाँ आएका विज्ञहरूको टोली भने प्रदेशसभा सचिवालय हेर्ने कर्मचारीहरूको व्यवस्थापन नगरिएका कारण अन्यौलमा परेको छ ।

बैठक सञ्चालनमा सहयोग तथा आवश्यक प्रशिक्षण दिन सहसचिव वंशीधर पौडेलको नेतृत्वको चार सदस्यीय टोली यहाँ आएको हो ।

विज्ञहरूले कसलाई प्रशिक्षण दिई प्रदेशसभा सञ्चालनको विधि र प्रक्रिया अगाडि बढाउने हो भन्ने सबैतिर चासोको विषय बनेको छ ।

प्रदेश प्रमुख सचिवालयका उपसचिव हुमप्रसाद घिमिरेले प्रदेशसभा सचिवालयका कर्मचारीको व्यवस्थापन नभएका कारण स्थानीयस्तरमा उपलव्ध कर्मचारीलाई नै प्रशिक्षण दिई प्रदेशसभा सञ्चालन गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

यही माघ २० गते प्रदेशसभा सञ्चालनको पूर्वाभ्यास गर्ने सोचसमेत राखिएको उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ