पोर्चुगलमा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने
भरत प्रधान,
प्रकाशित २०७४ माघ १९ शुक्रबार
1.2k
Shares
लिस्बन। प्रथम शहिद लखन थापा मगरको स्मृती एवं मगर दिवसको अवसरमा युरोपेली मूलुक पोर्चुगलमा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
मगर समाज पोर्चुगलको आयोजनामा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको हो । यही २५ फेबु्रअरी आईतबारका दिन उक्त कार्यक्रमको आयोजना गरिएको समाजद्धारा बुधबार लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
खेलकुद, अनुशासन, गतिशिलता र भातृत्व : सभ्य डायस्पोरा नेपाली समाजप्रति हाम्रो दायित्व, भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । प्रवासमा रहेका नेपालीहरु बिचको सम्बन्धलाई थप प्रगाढ बनाउन, प्रवासमा रहेका नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्न तथा नेपाली कला र लोक सँस्कृतिको सँरक्षण, सम्बृद्र्धन र प्रबृद्धन गर्ने उद्धेश्यका साथ भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको समाजका कावा अध्यक्ष दीपक रानाले बताउनुभयो । कार्यक्रम राजधानी लिस्बन स्थित पार्क डी जोगोस् अल्भलाडमा हुने बताईएको छ ।
प्रतियोगितामा फ्रान्स, जर्मनी, फिन्ल्याण्ड, लक्जमबर्ग, डेनमार्क र बेलायत लगायतका बिभिन्न मूलुक बाट गरि झण्डै १२ टीमको सहभागीता रहने समाजका उपाध्यक्ष एवं खेल सँयोजक हुतराज पुनले जानकारी दिनुभयो । हाल पोर्चुगलमा बस्दै आएका नेपालका राष्ट्रिय भलिबल रेफ्रीहरु नारायणकाजी मगर र अमृत गुरुङ्द्धारा खेल खेलाईने पुनले बताउनुभयो । पुनका अनुसार प्रतियोगिता अन्र्तगत छुट्टै महिला भलिबल प्रतियोगिता समेत समाबेश गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २ हजार युरो नगद, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई १५ सय युरो नगद, मेडल र प्रमाणपत्र र तृतीय हुने टीमलाई १ हजार युरो नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने समाजका महासचिव बिनोद मगरले जानकारी दिए ।
प्रतियोगिातामा उत्कृष्ट घोषित हुने खेलाडी, डिफेण्डर र सर्भरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको मगरले बताए । झण्डै १० हजार युरो खर्च अनुमान गरिएको उक्त प्रतियोगिता युरोपमा नेपाली सँघ सँस्थाले आयोजना गर्ने भलिबल प्रतियोगिता मध्येकै ठूलो धनराशीको प्रतियोगिता भएको आयोजकको दाबी छ । उक्त भलिबल प्रतियोगिता आयोजक सँस्था मगर समाजको दोश्रो सँस्करण हो ।
सो अवसरमा मगर भेषभूषा सहितको कौडा नृत्य तथा मगर सँस्कृती झल्किने खालक बिशेष साँस्कृतीक झलकहरु प्रस्तुत हुने समाजले जनाएको छ । साथै पोर्चुगलमा रहेका स्थानिय ख्यातीप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।