arrow

प्रदेश १ मा माघ २९ गते सभामुखको निर्वाचन

logo
प्रकाशित २०७४ माघ २० शनिबार

विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेका छन् ।

प्रदेश नं १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा विराटनगरस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले माघ २९ गते सभामुख र फागुन ३ गते उपसभामुखको निर्वाचनको मिति निर्धारण गरेको छ । दुवै निर्वाचनको मिति दिउँसो १ बजेदेखि हुने संघीय सचिवालयका उपसचिव सहजित राईले जानकारी गराए ।

सभामुख र उपसभामुखको निर्वाचनको एक दिन पहिले प्रदेशको सचिवालयमा उम्मेदवारी दर्ता गरिने उनले जानकारी गराए ।

सो बैठकले प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ र सभामुखलाई सहयोग गर्नका लागि अध्यक्षता मण्डलको आवश्यकता रहेकाले पाँच सदस्यीय एउटा समिति पनि गठन गरेको छ । सो समितिमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक-एकजना प्रदेशसभा सदस्य रहने निर्णय गरिएको हो ।

त्यस्तै, माघ २२ गते प्रदेशसभा सञ्चालन हुनका लागि प्रदेश प्रमुखको पत्र पढिनेछ र त्यसपछि, प्रदेशसभामा छ दलका एक÷एकजना प्रदेश सदस्य र एक स्वतन्त्र सदस्यले शुभकामना मन्तव्य दिनेछन् ।  

शुभकामना मन्तव्य दिनु हुनेमा नेकपा एमालेका भीम आचार्य, नेपाली काँग्रेसका केदार कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुबहादुर तुम्बाहाम्फे, संघीय समाजवादी फोरम नेपालका जयराम यादव, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र स्वतन्त्र नारायणबहादुर मगर छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ