arrow

प्रदेश ५ को ऐतिहासिक बैठक, फागुन २ गते सभामुख निर्वाचन

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
pradesh-51.png

बुटवल । राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ ।  प्रदेश नं ५ का प्रदेश प्रमुखले गत साता आइतबार आजका लागि बैठक आह्वान गरेका थिए ।

 बैठकको शुरुमा प्रदेश नं ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जीवनीसँग गाँसिएको पवित्रभूमि क्षेत्रमा सहभागी प्रदेश सदस्यलाई स्वागत गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने ऐतिहासिक अवसर र जिम्मेवारी प्राप्त भएको अवसरमा सबैलाई बधाई दिए ।
 
“प्रदेश नं ५ लाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध बनाउने हाम्रो चाहना पूरा होस्”, उनले शुभकामना व्यक्त गर्दै भने । बैठकमा अहिले दलीय आधारमा प्रदेश सदस्यले बोल्ने क्रम जारी छ । यसपछि आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । सो प्रदेशसभामा कूल ८७ सदस्य छन् ।

यसअघि आइतवार बिहान पहिलो बैठकमा प्रस्तुत गरिने बैठकका कार्यसूचीलाई प्रदेशसभाको सचिवालयले अन्तिम रुप दिएको थियो । उक्त सर्वदलीय बैठकले पाँच विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतिबाट निर्णय गरेको थियो ।

अपराह्न १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ । बैठकमा प्रदेशसभा सचिवालयले तोकेर जारी गरिएका प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी गरिएको प्रदेशसभाको बैठक सहजीकरणमा आउनुभएका संघीय संसद्का सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति छ ।

बैठकले ३० दफा र ४ अनुसुची रहेको प्रदेश सभा संचालन कार्यबिधी पारीत गरेको छ । साथै सभामुख निर्वाचन फागुन २ गते हुने भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ