arrow

काँग्रेस कार्यकर्ताले महामन्त्रीमा कस्लाई देख्न चाहेका छन्? सर्वे के भन्छ?

logo
राजनीतिक व्यूरो।
प्रकाशित २०७२ माघ १६ शनिबार
nc-mahamantri.jpg.jpeg
काठमाडौं। देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको स्थानियस्तरको अधिवेशन भएको छ। आम नागरिकलाई काँग्रेसको महाधिवेशनबाट केन्द्रीय नेतृत्व कस्तो आउँछ होला भन्ने कौतुहलता रहेको छ। २०७२ फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने महाधिवेशनले केन्द्रीय नेतृत्वमा कस्लाई स्थापित गर्छ भन्ने पनि धेरैको चासो बिषय बनेको छ। काँग्रेसको महाधिवेशन काँग्रेसलाई जति लागेको छ अन्य राजनीतिक दलहरु र विदेशी शक्तिकेन्द्रहरुले पनि यसलाई त्यतिकै ध्यान दिएर हेरेका छन्। 
 
काँग्रेस कार्यकर्ताको बीचमा नेतृत्वमा कसलाई पुर्याहउन भन्ने वहश शुरु भएका छन्। स्थानियस्तरको काँग्रेसको अधिवेशन शुरु हुनुअघी काँग्रेसको नेतृत्व तहमा कस्ता व्यक्तिहरु आउँछन र आउनुपर्छ भन्ने बारेमा एक सर्वे गरिएको थियो। करिव एक महिनाअघी गरिएको सर्वेको हालै प्रारम्भिक प्रतिवेदन निकालिएको हो। हामीले हिजो सो सर्वेको प्रतिवेदनमा उठाइएको काँग्रेसभित्रको आन्तरिक राजनीति र काँग्रेसमा रहेको समस्या बारे पार्टीका कार्यकर्ताहरुको धारणा राखेका थियौ। सर्वेका सहभागिहरुले पार्टीप्रति वफादार भन्दा पनि व्यक्तिगत रुपमा वफादार कार्यकर्ता बनाउने कार्य र गुटबन्दीलाई पार्टीको सबै भन्दा ठुलो समस्याको रुपमा बताएका थिए। 
 
देशका सातैवटा प्रदेशका १३५३ जना पार्टीका महाधिवेशन प्रतिनिधी जिल्ला तह र गाउँ तहसम्मका कार्यकर्ताहरुसँग गरिएको सर्वेक्षणमा ९२६ जनाले व्यक्तिगत कार्यकर्ता र गुटबन्दी पार्टीमा प्रमुख समस्या भएको बताएका थिए। अध्ययनमा सहभागि मध्ये २२२ जनाले अनुशासनको कमीलाई काँग्रेसको समस्याका रुपमा देखेका छन्। सहभागि मध्ये १०८ जनाले पारदर्शिताको कमीलाई मुल समस्याको रुपमा बताएका छन्।  
 
नेपालका २३ जिल्लामा गरिएको सर्वेक्षणमा १९२ महिला र ११६१ पुरुष काँग्रेसका कार्यकर्ताहरुसँग प्रश्न गरिएको थियो। जसमध्ये १८ देखि ३० बर्ष उमेर समुहका १५ जना ३१ देखि ४५ बर्ष समुहका ३३४ जना ४६ देखि ६० बर्ष उमेर समुहका ७७० जना र ६० बर्षभन्दा माथिका २३४ जनासँग सर्वेका क्रममा प्रश्न गरिएको थियो। 
 
सर्वेमा नेपाली काँग्रेसको मौजुदा विधानमा व्यवस्था भए अनुसार महामन्त्रीका बारेमा सोधिएको प्रश्नको जवाफमा सहभागिहरुले वहालवाला महामन्त्रीहरुलाई नै महामन्त्रीमा देख्न चाहेको देखिएको छ। सर्वेका सहभागिहरुमध्ये २६.९ अर्थात ३६४ जनाले कृष्ण प्रसाद सिटौलालाई महामन्त्रीमा दोहोरिएको देख्न चाहेका छन्। महामन्त्री सिटौला भने १३औं महाधिवेशनमा सभापतिका प्रत्यासीका रुपमा गृहकार्यमा रहेको बताइएको छ। त्यसपछि अहिलेका निर्वाचित महामन्त्री प्रकाशमानसिंह पक्षमा २०.८ अर्थात २८२ जनाले मत जाहेर गरेका छन्। महामन्त्री सिंहले पनि महामन्त्रीको उमेद्वार बन्ने बारेमा खासै बोलेका छैनन। 
 
सर्वेका सहभागिहरुमध्ये २६.९ अर्थात ३६४ जनाले कृष्ण प्रसाद सिटौलालाई महामन्त्रीमा दोहोरिएको देख्न चाहेका छन्। 
 
सर्वेमा सहभागि मध्ये १३ प्रतिशत अर्थात १७६ जनाले यूवा नेता गगन थापालाई महामन्त्रीमा देख्न चाहेका छन्। थापाले पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक रुपमा विश्राम गर्न लगाएर दोस्रो पुस्ताका नेताहरु सभापतिमा जानुपर्ने र आफूहरुको पुस्ताले महामन्त्रीमा प्रतिष्पर्धा हुनुपर्ने बताइरहेका छन्। उनले यसक्रममा महामन्त्रीको उमेद्वारका लागि घोषणा समेत गरेका छन्। उनको पुस्ताका नेताहरुलाई काँग्रेस कार्यकर्ताले महामन्त्रीमा देख्न चाहेको देखिएको हो। 
 
यसअघी महामन्त्रीमा पराजित विमलेन्द्र निधीलाई ७.५ प्रतिशत अर्थात  १०२ जनाले महामन्त्रीमा देख्न चाहेका छन् भने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई ४.३ अर्थात ५८ जनाले महामन्त्री भएको हेर्न चाहेका छन्। अर्जुननरसिंह केसीलाई उनकै नुवाकोटका रामशरण महतले पछ्याएका छन्। महतलाई ३ प्रतिशत अर्थात ४० जनाले महामन्त्री भएको हेर्न चाहेका छन्। काँग्रेसका प्रभावशाली मानिएका अर्का नेता खुम बहादुर खड्कालाई पनि १.५ प्रतिशत अर्थात २० जनाले महामन्त्री भएको हेर्न चाहेका छन्। पूर्ण बहादुर खड्का सहित शशांक कोइराला शेखर कोइराला र सुजाता कोइरालालाई समान १.२ प्रतिशत अर्थात १६ जनाले महामन्त्रीमा देख्न चाहेका छन्। महामन्त्रीमा देख्न चाहेका सुजाता कोइरालाले विराटनगरमा पुगेर पार्टी सभापतिको घोषणा गरेकी छन्। 
 
सर्वेमा सहभागि मध्ये १३ प्रतिशत अर्थात १७६ जनाले यूवा नेता गगन थापालाई महामन्त्रीमा देख्न चाहेका छन्। 
 
काँग्रेसको दोस्रो महामन्त्री अर्थात मनोनितमा पनि लगभग उस्तै जवाफ कार्यकर्ताको आएको छ। वहालवाला महामन्त्री सिटौलालाई १३.९ प्रतिशत, सिंहलाई ९.८ प्रतिशत, निधीलाई ५.९ प्रतिशत, थापालाई ५.६ प्रतिशत, केसीलाई ५.५ प्रतिशत, महतलाई ३.२, शशांकलाई २.९, सुजातालाई २.१, चित्रलेखा यादवलाई १.८, विश्वप्रकाश शर्मालाई १.७, पूर्ण बहादुर खड्कालाई १.६ र शेखर कोइरालालाई १.५ ले मनोनित महामन्त्रीमा देख्न चाहेका छन्। तर मनोनित महामन्त्रीमा ल्याउन निर्वाचत सभापतिको भुमिका महत्वपूर्ण हुने हुनाले यो कार्यकर्ताको आकाँक्षाको रुपमा मात्र देखिएको छ। 
 
यस सर्भेको क्रममा काँग्रेस कार्यकर्ताहरुलाई खुल्ला रुपमा नाम भन्न र लेख्न लगाइएको थियो। करिव एक महिना अघी कार्यकर्ताहरुसँग गरिएको यो सर्वेपछि नेताहरुको आकांक्षा फरक फरक रुपमा समेत आएको छ। ति आकाँक्षाहरु सार्वजनिक हुँदा यो परिणाम केहि परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ