arrow

‘गैरजिम्मेदार पदाधिकारी जिम्मेवार बन’ भन्दै कालो पट्टी बाँधेर काममा

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७४ माघ २६ शुक्रबार
sudur.jpg

कञ्चनपुर । पश्चिम नेपालको सूदुरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुले शैक्षिक र प्रशासनिक क्षेत्रमा रहेको गतिरोधको अन्त्यको माग राख्दै शुक्रबारदेखि दायाँ हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागी भएका छन् । 

लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको अन्त्य गर्न क्रियाशील प्राध्यापक संघ संगठनहरुले आन्दोलनका कार्यक्रम अन्तरगत माघ २८ गतेसम्म सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको दायाँ हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागी हुने सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिका अध्यक्ष विर बहादुर सिंह ठकुरीले बताए । 

माघ २९ गते सम्म माग सम्बोधन नभएमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिइएको छ ।
सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिले बिहिबार ‘गैरजिम्मेदार पदाधिकारी जिम्मेवार बन’ उल्लेख गरिएका कालो व्यानर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार लगायत सम्पुर्ण पदाधिकारीहरुको कार्यकक्षमा झुण्ड्याएको थियो ।

विभिन्न समयमा केन्द्रीय क्याम्पसमा अध्यापनरत सम्पूर्ण प्राध्यापकहरुले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक एवं आर्थिक पक्षसँग सम्बन्धित विभिन्न समस्याको पहिचान गरी समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो  ।

मागपत्र बुझाएको लामो समय बिति सक्दा समेत विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार लगायत उच्च पदाधिकारीहरुले बेवास्ता गरेको भन्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । 

तर यस आन्दोलन अवधि भर विद्यार्थीको पढाईमा भने कुनैपनि कमि नगरिने र पढाईलाई निर्वाध रुपले अघि बढाउने अध्यक्ष ठकुरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ