arrow

बुटवलका २ सामुदायीक विद्यालय गाभिँदै

एउटामा विद्यार्थी कम अर्कोमा विद्यार्थी बढी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २६ शुक्रबार
butwal.png

बुटवल । प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेका २ सरकारी विद्यालय गाभिने भएका छन् ।समग्र जिल्ला तथा क्षेत्रमा उत्कृष्ट नतिजाका कारण राष्ट्रियस्तरमै ख्याती कमाएको बुटवलको कालिका माध्यमिक बिद्यालय र औसत शैक्षिक गुणस्तरमा अघि बढेको बुटवलकै रामनगरको मानव ज्ञान माध्यमिक बिद्यालयलाई गाभ्न लागिएको हो ।

दुबै विद्यालय मर्ज भएर एउटै विद्यालय बन्ने प्रकृया शुरु भइसकेको कालिका माविका प्रधानाध्यापक घनश्याम पाठकले बताए ।

जसका लागि दुबै विद्यालय व्यवस्थापन समिति, स्थानीय बासिन्दाबीच छलफल भइरहेको छ । प्रधानाध्यापक पाठकका अनुसार यसको लागि सहमती जुटाएर वडा कार्यालयमा निवेदन दर्ता भइसकेको छ ।

अब सम्बन्धित वडा कार्यालयले बुटवल उपमहानगरपालिकालाई दुई विद्यालय मर्ज गर्न सिफारिस गरेपछि दुई विद्यालय एक हुनेछन् । पटक पटक मर्जको कुरा उठेपनि निष्कर्षमा पुग्न सकेको थिएन । मानव ज्ञान माविका अभिभावकले चासो दिएपछि मर्जको प्रक्रिया आगाडि बढेको हो ।


दुई विद्यालय एक भएर बन्ने विद्यालयको नाम कालिका मानव ज्ञान मावि राख्ने समझदारी भएको प्रअ पाठकले बताए । मर्जपछिको विद्यालयको गुरुयोजना बनाउन दुबै विद्यालय व्यवस्थापन समिति र शिक्षाप्रेमीहरू सम्मिलित पाँच सदस्यीय समिति गठन भएको छ ।


मर्जपछि आगामी शैक्षिक सत्रदेखि साविक मानव ज्ञान माविको सम्पूर्ण व्यवस्थापन साविक कालिकाले हेर्नेछ । कालिकानगरको भवनलाई सेक्टर एक र रामनगरको भवनलाई सेक्टर दुई भनिनेछ । रामनगरको कालिका मानव ज्ञानमा साविकको कालिका माविका तालिमप्राप्त दक्ष शिक्षक–शिक्षिकाले पढाउनेछन् ।

मानव ज्ञानका शिक्षक कर्मचारीलाई कालिकामा ल्याएर तालिम दिइनेछ । मानव ज्ञानमा नर्सरीदेखि कक्षा ९ सम्म पूर्णतः अंग्रेजी माध्यममा मात्रै पठनपाठन गर्ने तयारीमा रहेको प्रधानाध्यापक पाठकले जानकारी दिए ।

हाल एक सय ६० जना मात्रै विद्यार्थी रहेको मानव ज्ञानमा मर्जपछि अबको शैक्षिक सत्रमा पाँच सय विद्यार्थी थपेर करिब सात सय विद्यार्थी पुर्‍याउने लक्ष्य छ ।

अहिले कालिका माविमा विद्यार्थीको अत्यधिक चापले विद्यार्थीहरूले सहजै भर्ना पाएका छैनन् । मानवज्ञान मावि रहेको ठाउँमा तीन बिघा क्षेत्रफल विद्यालयको स्वामित्वमा छ ।


हाल कालिका माविमा ४ हजार ३ सय ९७ विद्यार्थी छन् । कालिकामा ६ हजार विद्यार्थी पुर्‍याउने लक्ष्य छ ।

दुबै ठाउँमा गरेर १० हजार विद्यार्थी पुर्‍याउने विद्यालयको लक्ष्य रहेको पाठक बताउँछन् । दुई विद्यालय गाभिएपछि गुणस्तरीय शिक्षाका लागि निजी शैक्षिक संस्थामा जानुपर्छ भन्ने मान्यतामा परिवर्तन आउनेछ ।

बुटवल वडा नम्वर १० का अध्यक्ष पदम थापा र रामनगर विकास समितिका अध्यक्ष बसन्त गौचनको विशेष पहल र सक्रियतामा दुई विद्यालय गाभिन सम्भव भएको हो ।


यसअघि बुटवल दीपनगरको दीप प्रावि दीपनगरकै सिद्धेश्वर माविमा गाभिएको थियो । शिक्षा ऐनमै विद्यालयहरू एक आपसमा गाभिन पाउने व्यवस्था छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले देशकै उत्कृष्ट विद्यालय कालिका र सामान्य अवस्थाको मानव ज्ञान मावि मर्ज भएर एउटै विद्यालय बन्ने विषयले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश जाने बताए ।

कालिका मावि यसै वर्ष देशभरकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा यही माघ २८ गते  पुरस्कृत हुँदैछ । कालिकाले ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्डसमेत पाइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ