arrow

खैनी, चुरोट खानेलाई झस्काउन ‘कार्टुन’, अटेरीलाई ठाउँको ठाउँ कारबाही

स्वच्छ काठमाडौँ

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ माघ २७ शनिबार
mahanagar.png

काठमाडौँ । काठमाडौं महानगरले अब सबै वडाहरुमा अब खैनी, चुरोट खान रोक लगाउने भएको छ। कर्मचारीलाई स्वस्थ र वातारणलाई स्वच्छ बनाउने भन्दै पहिलो चरणमा महानगरका बत्तीसवटै वडा कार्यालयबाट यो अभियान चल्दै छ । तर, काठमाडौं महानगरका वडा कार्यालयलाई यो जानकारी छ कि छैन ? १० नम्बर वडाका सचिव प्रकाश खड्का भन्छन्, ‘थाहा छ । हामीले नै बनाउन लागेका हौँ यो नियम ।’

पहिलो कारबाही त तपाईहरुलाई नै हुने रे नी त? जवाफमा उनले भने, ‘यो त गजब कुरा हो । आफु नसुध्रि अरुलाई कसरी सुधार्ने ? (हाँस्दै) त्यही माथि म त धुमपान गर्दिन । कहिले काँही सुपारी कुटुकुटु खाइन्छ ।’

यो नियम कार्यान्वयनमा आउनेबारे उनले भने, ‘हामीले सुरु गरिसकेका छौँ । धुमपान गर्नेलाई हामी गेटबाट छिर्न दिदैनौँ । तर, त्यसरी कार्यालयभित्रै कसैले खाएको मैले देखेको छैन । हाम्रो कार्यालयमा पुरुष भन्दा महिला बढी छन् ।’

अम्बली मान्छेलाई चैँ के गर्नु ? ‘खाने मान्छेलाई एकै पटक छोड्न गाह्रै हुन्छ । अम्बलीहरुले आफुलाई सुधार्नु पर्छ’ उनको जवाफ थियो ।

उनले एउटा गजबको कुरा गरे, चुरोटको बट्टा, ठूटा र खैनी, गट्काको खोलले ढल जाम भएका प्रसस्त उदाहरण छन्, मान्छेको स्वास्थ्य कति जाम हुँदो हो ।

उनले यसलाई कडाईका साथ कार्यान्वयन गर्ने बताए । उनले भने, ‘यो नियम अब सधैभरीका लागि हो । स्थानीय सरकारले अब झन् कडिकडाउ गर्ने नियमहरु ल्याउँछ । सबै महानगनरवासी स्वस्थ र वातारण स्वच्छ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

तपाईका कार्यालयमा धुमपान निषेध भनेर त कहीँ लेख्नु भएको छैन त ? उनले भने, ‘छैन । हामीले अब चाँडै मान्छेलाई ठ्याक्कै झस्काउने कार्टुन राख्छौँ ।’ महानगरबाट परिपत्र आएको छैन तर, आफुहरु कार्यान्वयनमा गइसकेको उनले सुनाए ।

वडा कार्यालयले त थाहा पाएछन् तर, नगरवासीले थाहा पाए त ? नयाँ बानेश्वरमा ग्यास पसल राखेर बसेका विश्वम्बर महर्जन भन्छन्, ‘हामीलाई त थाहा छैन । जे होस् तपाईले सुनाउनु भो राम्रो लाग्यो ।’

तपाई त खानु हुन्छ नि ? ‘म सरकारी कार्यालयमा बसेर खान्न । यसो एक्लै बसेर खाएको पो त’, उनले जवाफ फर्काए । अब महानगरले कडाई गर्दै छ नि ? जवाफमा उनले भनेका छन्, ‘यो ठीक हो । तर, महानगरको कर्मचारी आफै खान्छन् । सरकारले खैनी, चुरोट बेच्न पाइँदैन भन्नु पर्ने हुन्छ । पसलमा पाउने भएपछि त जल्ले नि खाइहाल्छ ।’

के गर्दै छ महानगर ?

महानगरका शहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले महानगरका ३२ वटै वडाका वडा अध्यक्षकै निर्देशनमा विभिन्न समिति गठन गरेर निगरानी गर्ने बताएका छन् । उनले भने, ‘कर्मचारीको हकमा भोली विभागीय कारर्वाही गर्दा के गर्ने ? अन्य सार्वजनिक स्थलमा खानेलाई के गर्ने भन्ने सन्दर्भमा कार्वाही गर्ने आधारहरुसहितको निर्देशिकाको मस्यौदा बनिरहेको छ ।’

यो नियम लागु गराउन महानगरले ‘नगरबासीको जीवन रक्षा र वातावरण स्वच्छ बनाउने’ निर्देशन समिति पनि गठन गरेको छ । महानगरका वडा कर्मचारीले कार्यालयभित्र सूर्ती चुरोट, पान गुट्खा बिँडी खाएमा कार्वाही गर्ने चेतावनी समितिले दिइसकेको छ । श्रेष्ठ, निर्देशन समितिका सदस्य सचिव हुन् ।

अहिले निर्देशिका बनिरहेको छ, यदि त्यो बनेन भने स्वास्थ्यमन्त्रालयको सुर्ती सेवन निर्देशिकालाई नै आधार मान्नु पर्ने हुन्छ, सदस्य सचिव श्रेष्ठले भनेका छन् । निर्देशिका बनेपछि सबै वडा कार्यालयलाई परिपत्र गर्ने उनको भनाई छ । उनका अनुसार सबैलाई झस्काउने खालेको ‘कार्टुन’ बनाएर सबै ठाउँमा टाँसिनेछ ।

वडा कार्यालयमा मात्रै हो कि अन्य सबै सार्वजनिक ठाउँमा पनि लागू हुने हो ? जवाफमा उनले भने, ‘एउटा वडा भित्र वडा कार्यालयमात्रै हुँदैन, होटल, रेस्टुरेन्ट, क्लब आदि इत्यादी सबै हुन्छन् । त्यो वडैभित्र पर्दछन् । सार्वजनिक वा निजी भन्ने कुरा नै भएन । यति सम्म कि ३२ वटै वडा खैनी, चुरोट सेवन मुक्त भएको घोषणा गर्ने अभियानमा हो हामी ।’

त्यहीँकै वडा अध्यक्षको सक्रियतामा सबै लाग्नेछन् । हिजो खुला दिसामुक्त अभियान चलेजस्तै ‘टोबागो’ मुक्त अभिया चल्छ, उनले भनेका छन्, ‘कसैले आफ्नो वडालाई खैनी, चुरोट सेवन मुक्त बनाएको घोषणा गर्नका लागि सिफारिस लिएर आउँछ भने, पहिले त्यहाँको वास्तविक विवरण हामी हेर्छौ र त्यसपछि मात्रै निर्णय दिन्छौँ ।’ अटेर गर्नेलाई ठाउँको ठाउँ कार्वाही हुन्छ ।

काठमाडौं महानगरपालिकाले अटेरी गर्ने कर्मचारीबाट उठाइने रकम सरसफाइमा खर्च गरिने जनाएको छ ।

खैनी चुरोट खान्छौ कि दाँतै कालो छ, कार्वाहीमा पर्लाऊ है तिम्रै पालो छ....



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ