arrow

मुख्यमन्त्री नपाउने दलमा स‌ंसदीय दलकालागि भीडन्त, सभामुख सर्वसम्मत

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
congress_maoist.png


काठमाडौं । प्रदेश नं ७ को मुख्यमन्त्री नहुने पक्कापक्की हुँदा हुँदै पनि एमाले र काँग्रेसका सांसद्हरुमा संसदीय दलको नेता बन्नको लागि होड चलेको छ ।  एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई गरी कूल ५३ सांसद रहेको यो प्रदेशमा मुख्यमन्त्रीको लागि बाम गठबन्धनको तर्फबाट नेकपा माओवादीले भाग पारेको छ । 

मुख्यमन्त्री पाउने दल नेकपा माओवादी केन्द्रले अहिले डोटीका सांसद त्रिलोचन भट्टलाई संसदीय दलको नेता चयन गरिसकेको छ । तर, मुख्यमन्त्री नपाउने दलहरुमा भने संसदीय दलको नेताको लागि नै होडबाजी चलिरहेको छ । 

प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेबाट संसदीय दलको नेताको लागि ४ जना आकांक्षी देखिएका छन् भने काँग्रेसबाट पनि ३ जनाले आकांक्षा देखाएका छन् । यी पार्टीबाट संसदीय दलको नेता चयन भईसकेको छैन । 

नेपाली कांग्रेसबाट संसदीय दलको नेतामा आकांक्षा देखाउनेमा कैलालीबाट निर्वाचित डा रणबहादुर रावल, डडेलधुराका कर्णबहादुर मल्ल र डोटीका भरतबहादुर खड्का छन् । त्यस्तै, एमालेबाट सांसद दीर्घ सोडारी, प्रकाश शाह, पठानसिं बोहरा र तारालामा तामाङ संसदीय दलको नेताको लागि आकांक्षी छन् । 

सभामुखमा थापा निश्चित

उता, प्रदेश नं ७ को सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापाको विजय निश्चित भएको छ । सभामुखको निर्वाचनको लागि तोकिएको मितिभित्र एउटा मात्रै उम्मेदवारी परेपछि थापा सभामुख बन्ने निश्चित भएको हो । उनको भाग्य नै भन्नुपर्छ एमालेमा पनि सहजै सभामुखको लागि छनौट भएका उनले अरु दलसँग पनि त्यस्तो प्रतिस्पर्धा गर्नु परेन । 

सभामुख निर्वाचनको लागि शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको थियो । सभामुखमा थापाको उम्मेदवारीको प्रस्तावकमा एमालेका सांसद दीर्घबहादुर सोडारी र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद् त्रिलोचन भट्ट रहेका छन् । यद्यपी औपचारिक रुपमा यसको घोषणा भने यही माघ २९ मा हुने प्रदेशसभाको दोस्रो बैठकबाट गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ