काठमाडौं । आसुसेन फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको दोस्रो फिल्म ‘प्रेमगीत’ ले आयोजना गरेको ‘कभर सङ प्रतियोगिता’ मा विश्वभरिबाट ५ सय ५९ वटा कभर भिडियो प्रतिस्पर्धीका रूपमा आएको ब्यानरले जनाएको छ । फिल्म युनिटले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्पूर्ण भिडियोहरूमध्ये मुख्य तीनवटालाई ब्यानरको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । फिल्मका निर्माता सन्तोष सेनले शुक्रबारदेखि आगामी फागुन ४ गतेसम्म भिडियोको युट्युब लिंकलाई सामाजिक सञ्जालमा शेयर गरेर भ्यू बढाउनुपर्ने प्रावधान राखिएको बताए ।
‘फागुन ४ गते हामीले भ्यूअरको आधारमा उत्कृष्ठ १० छनोट गर्नेछौं । उत्कृष्ठ कला भएका र भ्यूअर बढाउन नसकेका ५ प्रतियोगीहरूलाई वाइल्ड कार्डमार्फत उत्कृष्ठ १५ मा ल्याइनेछ,’ उनले भने, ‘उत्कृष्ठ १५ मा परेका प्रतियोगीहरूलाई फागुन ८ गते काठमाडौंमा हुने बृहत् सांगीतिक कन्सर्टमा उतार्नेछौं, जसको निर्णय संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले सुनाउनेछन् ।’
आयोजकले विजेतालाई कलर्स मोवाइलको तर्फबाट एक लाख रूपैयाँ र आगामी फिल्ममा गाउने मौका दिइने जनाएको छ । यसबाहेक उत्कृष्ठ १५ मा पर्ने प्रतियोगीहरूलाई जनही कलर्स मोवाइलको स्मार्ट फोन र अन्य उपहार दिनेसमेत बताइएको छ । कार्यक्रममा निर्देशक सुदर्शन थापाले आफ्ना फिल्मका दुई कलाकार पूजा शर्मा र प्रदीप खड्का स्टार नभई राइजिङ स्टार भएको दाबी गरे । ‘फिल्म मेरो एउटा साथी छ देखि धन्दालगायतका फिल्ममा काम गर्दा मसँग स्टार भएनन्, त्यसकारण पनि मेरो काम लो प्रोफाइलको मान्छेलाई हाइ प्रोफाइलमा ल्याउने काम मात्र भयो,’ निर्देशक थापाले भने, ‘मेरो एउटा साथी छ र मेरो लभस्टोरी फिल्म बनाएपछि धेरैले मलाई लभस्टोरी फिल्म अरू किन नबनाएको भनेर प्रश्न पनि गरँे, तर त्यस्तो किसिमको कतैबाट कन्सेप्ट आएन, अहिले भने प्रेमगीत मनबाट बनेको सोचका कारण बन्यो ।’
आगामी माघ २९ बाट प्रदर्शनमा आउने फिल्ममा सरोज खनाल, रूपा राना, लक्ष्मी गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा रेनशा राईको कोरियोग्राफी र राजेश श्रेष्ठको छायांकन छ ।