arrow

कञ्चनपुरमा देउवा समूहमा तनावः जिल्ला सभापतिका आकांक्षी वडामै पराजित

रमेश लेखक निकटलाई एनपी साउद र बहादुर थापा पक्षधरले हराएको आरोप

logo
ईश्वरदत्त बडू।
प्रकाशित २०७२ माघ १६ शनिबार
sher-bahadur-deuba.jpg.jpeg
महेन्द्रनगर। नेपाली काँग्रेस कञ्चनपुरको आसन्न जिल्ला अधिवेशनमा सभापति पदका आकांक्षी हरिप्रसाद बोहरा वडा अधिवेशनमा पराजित भएका छन्। बेदकोट नगरपालिका–७ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार हरिप्रसाद बोहरा ४ मतले पराजित भएका हुन्।
 
क्षेत्रीय प्रतिनिधिमा २ जना निर्वाचित गर्नुपर्ने वडा नम्बर–७ मा ३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत जयदेव बडूले बताए। उनका अनुसार क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा थानेश्वरप्रसाद भट्ट २४ मत र पुष्पराज भट्ट २१ मत ल्याएर विजयी भएका छन्। क्षेत्रीय प्रतिनिधिका उम्मेदवार हरिप्रसाद बोहरा १७ मत मात्रै पाएर पराजित भएका छन्। देउवा समूहभित्र रमेश लेखक निकट मानिने बोहराको पराजयमा एनपी साउँद र बहादुर थापा पक्षधरको भूमिका रहेको आरोप छ। एनपी समूहले आफू निकटका पदम बोगटीलाई जिल्ला सभापति बनाउन बोहरालाई वडामै पराजित गराएको आरोप छ। ‘बेदकोट नगरपालिकाको ७ नम्बर बडामा ३६ जना क्रियाशील सदस्यमध्ये ३४ मत खसेको थियो,’निर्वाचन अधिकृत बडूले भने। वडा सभापतिमा २४ मत ल्याएर लक्ष्मीदत्त भट्ट विजयी भएका छन् । प्रतिद्वन्द्वी विरबहादुर धामीले १० मत मात्रै पाए।
 
नगरको वडा स्तरमा भएको पहिलो चरणको निर्वाचनमै पराजित भएका हरिप्रसाद बोहराले जिल्ला सभापतिको लागि प्रचारप्रसार समेत थालेका थिए। वडा अधिवेशनमै पराजित भएपछि हरिप्रसाद बोहराको सभापति बन्ने यात्रा रोकिएको छ। बोहरा नेपाली काँग्रेस कञ्चनपुरको उपसभापति समेत हुन्। जिल्ला सभापतिको उम्मेदवार बन्न वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि र क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनैपर्ने प्रावधान रहेको छ।
 
जिल्ला सभापतिका आकांक्षी पदम बोगटी र गोपाल भण्डारी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। भीमदत्त नगरपालिका–१९ को वडा अधिवेशनबाट बोगटी र भण्डारी क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका निर्वाचन क्षेत्र नम्बर–३ का निर्वाचन अधिकृत लालमणि पाण्डेयले बताए। उनका अनुसार वडा नम्बर–१८ को वडा अधिवेशनबाट होमबहादुर कुँवर, अन्तराम भट्ट, शिवराज पाण्डेय, कमला गिरी र कल्पना केसी क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्। होमबहादुर कुँवर क्षेत्रीय सभापतिका आकांक्षी हुन्।
 
नेपाल काँग्रेस कञ्चनपुरका सचिव भोजराज बोहरा बेदकोट नगरपालिका–१ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्। सर्वसम्मत रुपमा १ नम्बर वडाबाट भोजराज बोहरा, उद्धवबहादुर बोहरा र डम्मरा बोहरालाई क्षेत्रीय प्रतिनिधि चयन गरिएको निर्वाचन अधिकृत गणेश बोहराले बताए। उनका अनुसार वडा सभापतिमा दानसिंह ऐर निर्विरोध निर्वाचित भएका छन्। भोजराज बोहरा समेत सभापति पदका आकांक्षी रहेका छन्। 
 
जिल्ला सभापतिका आकांक्षी गोपाल गुरुङ देखतभूलिको गाउँ अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्। २ नम्बर निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिका आकांक्षी सिद्धराज भट्ट, चिन्तामणि भट्ट र नवराज जोशी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। झलारीपिपलाडी नगरपालिका–७ बाट सिद्धराज भट्ट, ६ बाट चिन्तामणि भट्ट र देखतभूलिबाट नवराज जोशी निर्वाचित भएका हुन्। कृष्णपुर नगरपालिका–४ को वडा अधिवेशनबाट पुरन खड्का क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका क्षेत्रीय निर्वाचन अधिकृत गणेशबहादुर चन्दले बताए।
 
निर्वाचन क्षेत्र नम्बर–१ मा क्षेत्रीय सभापतिका आकांक्षी गोपी उपाध्याय र अमरजंग साउँद क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । साउँद पुनर्वास–१ बाट र उपाध्याय बेलौरी–१३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् । क्षेत्रीय सभापति हरेन्द्र विष्ट बेलौरी–९ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका क्षेत्रीय निर्वाचन अधिकृत मानबहादुर तामाङले बताए । क्षेत्र नम्बर–४ मा क्षेत्रीय सभापतिका आकांक्षी गोपाल भट्ट दोधाराचाँदनी–१ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। दोधाराचाँदनीका १० वटै वडा अधिवेशनमा सर्वसम्मत निर्वाचन सम्पन्न भएको छ।
 
कञ्चनपुरका अधिकांश नगर वडा र गाउँमा अधिवेशन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत प्रयागदत्त भट्टले बताए। उनका अनुसार वाइसेविचवाको गाउँ अधिवेशन र भीमदत्त नगरपालिका–१७ को निर्वाचन शुक्रबार हुन सकेन। भीमदत्त नगरपालिका–१७ मा सक्रिय सदस्यको निधन भएकाले निर्वाचन स्थगित गरिएको भट्टले बताए। उनका अनुसार वडा नम्बर–१७ मा शनिबार निर्वाचन हुनेछ। ‘वाइसेविचवा गाविसमा माघ १७ गते गाउँ अधिवेशन हुनेछ,’ भट्टले भने। क्षेत्र नम्बर–१ मा ४२ मतदान केन्द्र, क्षेत्र नम्बर–२ मा २४ मतदान केन्द्र, क्षेत्र नम्बर–३ मा २४ मतदान केन्द्र र क्षेत्र नम्बर–४ मा २३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको नेपाली काँग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ।
 
‘जिल्लाभरि निर्वाचन शान्तिपूर्ण रुपमा भएको छ,’ जिल्ला निर्वाचन अधिकृत प्रयागदत्त भट्टले भने, ‘माघ १७ गते नगर अधिवेशन, २२ गते क्षेत्रीय अधिवेशन र २५ गते जिल्ला अधिवेशन हुनेछ।’२२ गते हुने क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रावधान रहेको छ। महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न पाउने व्यवस्था छ। महाधिवेशन प्रतिनिधिले जिल्ला सभापतिको उम्मेदवार समेत बन्न पाउँछन्। नगर वडा र गाउँ अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि भएका जिल्ला सभापतिका आकांक्षीले सभापतिको उम्मेदवार बन्न २२ गते हुने क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ