arrow

प्रचण्डकै बुटीले काम गर्दै : आलोपालो प्रधानमन्त्री, पालैपालो अध्यक्ष

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
oli-prachanda.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको एक्ला एक्लै वार्ताले आलोपालोको प्रगति गरेको छ ।

दुई शीर्ष नेताबीचको वार्ताले आलोपालो प्रंधानमन्त्री र पालैपालो अध्यक्षता गर्ने सहमति जुटाएको छ । उनीहरुले यो सहमतिलाई लिखित भने गरेका छैनन् । यसलाई भद्र सहमति भनेका छन् । माओवादीले विगतमा भएका लिखित सहमतिहरु पालना नभएको शंका जीवितै राखेका बेला ओली र दाहालबीच भद्र सहमति भएको कुरा बाहिर आएको हो ।

ओली निकटहरुले भनेका छन्, ‘प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘भद्र सहमति’का रुपमा मात्रै लिइने शीर्ष तहमै सहमति भएको छ ।’

यो सबै प्रचण्डको आइडिया हो, ति नेताले भनेका छन् । ओली सरकार छोडेर शेरबहादुर देउवासँग मिसिन पुगेका प्रचण्डले आफु प्रधानमन्त्री हुँदा जसरी ‘हाइसेक्रेसी’ भनेका थिए, त्यही जुक्ति यहाँ पनि प्रयोग गरेका छन् ।

ओली सरकार ढालेपछि देउवासँग १६ बुँदे सहमति भएको भनिएको थियो । तर, त्यो १६ बुँदे बाहिर देखाइएन, बाहिर अर्कै फर्मेट देखाइयाे । यतिसम्म कि दाहालले त्यो १६ बुँदेपछि दोस्रो तहका नेतालाई निर्णायक भूमिकामा राखेनन् । सबै जिम्मा पार्टी अध्यक्षलाई नै दिने परिपाटी नै विकसित गरे । अहिले पनि पार्टी एकताका लागि भद्र वा लिखित सहमति जे भनेपनि, सचिवालयले उनैलाई जिम्मा दिएको छ ।   

थुप्रै पटकका एक्ला एक्लै वार्ताले दुई नेताको व्यवस्थापन टुंगो लगाउन सकेको थिएन । ओली र दाहालबीच सोमबार विहान एक्ला एक्लै वार्तापछि पार्टी एकताको विषय टुंगो लागेको, भनिएको छ । बाहिर धेरै कुरा भनिएको छैन । कुरा हाइसेक्रेसीको छ । जसरी पहिले देउवासँग हाइसेक्रेसीको सम्झौता भएको थियो ।

अब यो सहमतिलाई एकता संयोजन समितिको बैठकले अनुमोदन गर्नेछ । संयोजन समितिले अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुन्छ ।

एमाले नेताहरुले अहिले नै धरै कुरा गर्दा बिग्रिने बताएका छन् । घुमाउरो भाषामा ‘पार्टी एक भइसकेपछि को प्रधानमन्त्री बन्ने, को मन्त्री बन्ने भन्ने कुराको टुंगो पार्टीले लगाउँछ, भनिरहेका छन् उनीहरु ।

पार्टीको नाम 'नेकपा'
एकीकरणपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राख्ने शीर्ष तहमा सहमति भएको छ । पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा लगभग सहमति भएको छ । अन्तिम टुंगो लाग्न बाँकी नै छ । फेरि यो कुरा पनि एकता संयोजन समितितिरै धकेलिएको छ । प्रगतिको कुरा–ओली–दाहालको व्यवस्थापनमा मिलेको भनिएको छ ।

दुई पार्टीका अध्यक्षले अब आलैपालो बैठकको अध्यक्षता गर्ने सहमति पनि गरेका छन् ।  एउटा बैठकमा एकजना अध्यक्ष अगुवा हुने र अर्को बैठकमा अर्को अध्यक्ष अगुवा हुने गरी सहमति जुटेको भनिएको छ । नेपालमा अहिले पनि केही राजनीतिक दल संयुक्त नेतृत्वमा चलिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ