arrow

कञ्चनपुरमा काँग्रेसको सकसः वडामा पराजित बोहरालाई नगर हुँदै पार्टी सभापति बनाउने तयारी

logo
ईश्वरदत्त बडू।
प्रकाशित २०७२ माघ १७ आइतबार
hari-bohara.jpg.jpeg
महेन्द्रनगर। नगर वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि पदमा पराजित काँग्रेस नेता हरिप्रसाद बोहराले बेदकोट नगरपालिकाको अधिवेशनबाट नगर सभापति हुँदै क्षेत्रीय अधिवेशनमा सहभागी हुने तयारी गरेका छन्। नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिका आकांक्षी हरिप्रसाद बोहरा वडामै पराजित भएपछि नगर क्षेत्रका क्रियाशील सदस्यले नगर सभापति हुँदै जिल्लासम्म पुग्न दबाब दिएका छन्।
 
जारी महाधिवेशनमा जिल्लास्तरमा प्रभावशाली मानिएका नेता हरिप्रसाद बोहराको वडामै अकल्पनीय पराजय भएपछि शनिबार सयौं काँग्रेस कार्यकर्ता बोहराको घरमै पुगेका थिए। ‘काँग्रेसका बेदकोट नगर क्षेत्रका क्रियाशील सदस्यले नगर सभापतिमा उम्मेदवार दिन आग्रह गरिरहेका छन्,’ नेता बोहराले भने, ‘कार्यकर्ताको इच्छा बमोजिम उम्मेदवारी दिने तयारीमा छु।’ बोहरा शुक्रबार भएको बेदकोट नगरपालिका वडा नम्बर ७ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि पदमा पराजित भएका थिए।
 
वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर निर्वाचन क्षेत्र नम्बर–३ को अधिवेशनमा सहभागी हुन नपाएपनि नेता हरिप्रसाद बोहराले नगर सभापति हुँदै क्षेत्रीय अधिवेशनमा सहभागी जनाउने योजना बनाएका छन्। नेपाली काँग्रेसको विधान अनुसार नगर सभापति क्षेत्रीय अधिवेशनको सदस्य हुने प्रावधान रहेको छ। नेपाली काँग्रेसको विधानमा लेखिएको छ, ‘संसदीय निर्वाचन क्षेत्रभित्रका प्रत्येक गाउँ र क्षेत्रभित्र परेको नगर वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु तथा गाउँ कार्यसमिति, नगर वडा र नगर कार्यसमितिका सभापतिहरु, सो क्षेत्रका सांसद एवम् संविधानसभा, प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा पार्टीको उम्मेदवार भएको व्यक्ति, सो क्षेत्रमा रहेका संविधानसभाको निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार भएका व्यक्ति तथा सो क्षेत्रमा रहेका पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु मिलेर पार्टीको क्षेत्रीय अधिवेशन बन्नेछ।’जस अनुसार नगर कार्यसमिति सभापति क्षेत्रीय अधिवेशनको सदस्य हुन पाउने छन्। नगर सभापति भएर क्षेत्रीय अधिवेशन सदस्य बन्न बोहराले नगर सभापतिमा उम्मेदवारी दिने तय गरेका हुन्।
 
काँग्रेसको क्रियाशील सदस्यले वडाबाट क्षेत्रीय प्रतिनिधि जितेर क्षेत्रीय अधिवेशनमा सहभागिता जनाउनु र नगर सभापति जितेर क्षेत्रीय अधिवेशनमा सहभागी हुनु उस्ता उस्तै हो। नगर सभापति जितेर क्षेत्रीय अधिवेशनको सदस्य भएको व्यक्तिले समेत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन पाउने काँग्रेसको विधानमा लेखिएको छ। काँग्रेसको विधानमा लेखिएको छ, ‘क्षेत्रीय अधिवेशनले आफ्ना सदस्यहरुमध्येबाट महाधिवेशनका लागि कम्तिमा २ महिला, १ दलित, १ आदिवासी जनजाति, १ मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्गसहित ११ जना प्रतिनिधिको निर्वाचन गर्नेछ।’
 
जिल्ला सभापतिका सबै आकांक्षीले जिल्ला सभापतिको उम्मेदवार बन्न माघ २२ गते हुने क्षेत्रीय अधिवेशनमार्फत् महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने छ। काँग्रेसको विधानमा लेखिएको छ, ‘जिल्ला अधिवेशनले कम्तिमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका महाधिवेशन प्रतिनिधिहरुमध्येबाट जिल्ला कार्यसमितिका लागि १ जना सभापतिको निर्वाचन गर्नेछ ।’
 
काँग्रेस कञ्चनपुरका उपसभापति समेत रहेका हरिप्रसाद बोहराले बेदकोट नगरपालिकाको नगर सभापति हुँदै जिल्ला सभापतिको उम्मेदवार बन्ने योजना बनाएका छन्। जसमा बेदकोट नगरपालिका अधिकांश क्रियाशील सदस्यको समेत साथ रहेको बोहराको दावी छ। बोहराले जिल्ला सभापतिको उम्मेदवार बन्न नगर सभापति हुँदै क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुपर्ने छ। क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएर जिल्ला सभापतिका अन्य आकांक्षीले समेत क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि जित्नैपर्ने प्रावधान रहेको छ।
 
देउवा समूहभित्र रमेश लेखक निकट मानिने बोहराको पराजयमा देउवा पक्षकै एनपी साउँद र बहादुर थापा पक्षधरको भूमिका रहेको आरोप छ। एनपी समूहले आफू निकटका पदम बोगटीलाई जिल्ला सभापति बनाउन बोहरालाई वडामै पराजित गराएको आरोप छ। जिल्लामा आफ्नै समुहभित्र देखिएको विवाद मिलाउन देउवाले निर्देशन दिएपनि आन्तरिक संघर्ष भने बढ्ने आँकलन गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ