arrow

रामेछाप लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काको ज्यादतीका १५ नमुना

गोली हानिदिनेदेखि गाडी किचाएर मारिदिने सम्मका धम्की

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
gobinda-khadka-likhu-gaunpalika-ramechhap.jpg

रामेछाप । एमालेबाटै टिकट पाएर लिखु गाउँपालिकामा अध्यक्षमा निर्वाचित भएयता गोविन्दबहादुर खड्काले गरेका ज्यादतीले सिमा नाघेको स्थानीयहरु बताउँन थालेका छन् । खड्का आफू लिखु गाउँपालिकाको राजा भएको भन्दै कुनैपनि नियम, कानुन र संविधानले आफुलाई नछुने कुरा सार्बजनिक रुपमै बताउन थालेपछि उनको त्रास समाजमा फैलिएको छ। नेपाली सेनामा कुनै समय काम गरेका खड्का उनको बिरोध गर्ने जो कोहिलाई सोझै गोलि हानिदिने धम्की समेत दिन पछि नपर्ने पिडितहरु बताउँछन्। एकपछि अर्को गरि उनको दर्जनौं हर्कत देखेर जनता र पार्टी भित्रैका मान्छेहरु समेत आजित भएका छन्। उनका कैयौं गतिविधिहरुले आफुहरुलाई साह्रै लज्जित तुल्याएको एमालेका नेताहरु बताउँन थालेका छन्। गाउँपालिका अध्यक्ष खड्काका ज्यादतीका १५ नमुनाहरुः

बिधुत र पानी कटौती
गाउँपालिकाको केन्द्र धोबीबजारमा बिजुलीको लाइन बिस्तार हुँदै थियो। उनले आफुलाई भोट दिने बाहेकको घरमा बत्ति नजोड्न निर्देशन दिए । मिटरबक्स जडान गर्न कांग्रेस, एमाओवादी र राप्रपा संबद्ध घरधनीले दिएको निवेदन पनि छानीछानी गायब बनाए। पानीका धारा छुटाउन लगाए। गाउँपालिका प्रमुखबाटै अन्यायमा परेपछी पीडित स्थानीयहरु मिरा तामाङ्ग, मदन तामाङ्ग, उत बहादुर खड्का, होम बहादुर बिक लगायतले बिधुत प्राधिकरण र प्रशासनमा हारगुहार गर्दै निवेदन दिएर बत्ति बालेको पिडित मध्येका एक दामोदर खड्काले बताए ।

आफ्नै पारिवारिक सदस्यलाई कर्मचारी नियुक्ती
गाउँपालिकाको कार्यालयमा उनले मिटिङ नै नराखि कार्यालय सहायक नियुक्त गरे त्यो पनि आफ्नै भाइ बुहारीलाई। बुहारीलाई कार्यालय सहायक बनाएपछि भाइलाई भने विभिन्न योजनाहरुमा पैसा असुल्न प्रयोग गर्ने गरेका छन्। गाउँपालिकाले भाडामा लिएको टाटा सुमोमा सुजन भनिने उनका आफ्नै भाइ केहि अराजक जत्था लिएर बिकास निर्माणको काम भइरहेको ठाउँमा पुग्छन् । प्राबिधिक ज्ञान नै नभएका उनका अर्का भाइलाई लिखु ३ को प्राबिधिक सहायकमा नियुक्त गरेका छन्। उनले गाउँपालिकाबाटै तलब खाने गरि कपडा धुने एकजना छुट्टै महिला नियुक्त गरेका छन्। अझ अचम्म त अध्यक्ष खड्काले आफ्नो अंगरक्षक समेत भर्ना गरेको बताइएको छ। अध्यक्षले मनोमानि ढंगले कर्मचारी नियुक्त गर्ने गरेको ७ नम्बर वडाका अध्यक्ष सुवास बोहोराले बताए।

खाली कागजमा हस्ताक्षर गराएर मनपरि निवेदन, हल्ला गरे ज्यान मार्ने धम्की
लिखु ५ का प्रमेश दमाई निरक्षर छन्। पढ्नलेख्न जान्दैनन्। खड्काले गत स्थानीय तहको निर्वाचनमा आफुलाई भोट नदिएको आशंकामा प्रमेश दमाईलाई पटकपटक धम्की दिए। दमाईले भने धेरै पटक अध्यक्षले मलाई भोट नदिने तेरो काम अब कस्ले गर्दोरहेछ म पनि हेर्छु, भुकम्पको घर कसरी बनाउदो रहेछस हेरौंला भन्दै हिडेका थिए। पहिलो किस्ता लिएर डिपिसी गरिसकेको प्रमेश दमाईको बाबुछोराको २ वटा घर प्राबिधिकले नापजाँच गरि काम निरन्तर गर्नु भने पनि खड्काले पटकपटक काम रोक्न निर्देशन दिए उनले दमाईको घर बन्न नदिने मात्र होइन, कतै आफ्नो विरुद्ध कुरा गरेको पाइए गाडीले किचेर मारिदिने धम्की समेत दिन भ्याए। एकदिन खड्काले प्रमेश दमाईलाई गाउँपालिकाको कार्यालय बोलाए, दमाईले केहि काम छ र हजुर भनेर प्रश्न गर्दा हिजो जे भयो सकियो, अब तेरो घरपनि बन्छ, दोस्रो किस्ता पनि आउँछ त्यस्को लागी सहिछाप चाहिने रहेछ त्यसैले एकपटक तुरुन्त कार्यालयमा आइज भने। कार्यालयमा गएका दमाईलाई खड्काले खाली कागजमा सहि गर्न भने। दमाईलाई केहि शंका पैदा भयो। उनले अलि आनाकानी गरे। खड्काले हप्काउदै कागज थमाएर भने घर बनाउने भए यहाँ सहि गर, नबनाउने भए भन्नू केही छैन। अब भने दोस्रो किस्ता आउने र घर पनि बन्ने आशले खड्काले जहाँ भन्यो त्यही उनले खाली कागजमा ल्याप्चे लगाईदिए। त्यसपछि उनको हस्ताक्षर माथि खड्काले लेख्न लगाए म र मेरो छोरा अशोक परियारले भुकम्प पीडितको रूपमा राज्यबाट पाउने कुनैपनि सेवा सुबिधा लिने छैनौं, घर पनि प्राविधिक नलगाई आफुखुसी बनाउने छौं,  भोलि भत्काउनु पर्ने अवस्था आयो भने पनि राज्यसंग कुनै क्षतिपूर्ति नमागी आफैं भत्काएर सहयोग गर्नेछौं। दमाईलाई त्यो कुरा तत्काल सुनाइएन, न त उनी कागजमा के लेखियो भनेर पढ्ननै जान्दछन्। दमाईले मख्ख पर्दै फ़ेरि सोधे अब त मेरो घर पास हुन्छ नि हजुर ? गोविन्द खड्काले हप्काउदै भने दमाई भएर बढी जान्ने हुन्छस ? तैंले त अस्ति कांग्रेसलाई भोट दिएको होइन अब चुप लागेर घर जा, नत्र सडकमा पछारिदिन्छु नि । तिमीहरूलाई कसरी तह लगाउनुपर्छ, त्यो मलाई राम्रोसँग थाहा छ।

केही दिन पछि उनले त्यो कुरा आफ्नी छोरी निर्मलालाई सुनाए। मन्थली बसेर क्याम्पस पढ्दै गरेकी निर्मला लिखु गाउँपालिकाको कार्यालय पुगेर आफ्नो निरक्षर बालाई के भनेर सहि गराउनु भो, थाहा पाउने मेरो सूचनाको हक पनि हो, मलाई त्यस्को प्रतिलिपी दिनुस् भनेर माग्दा त्यहाँका कर्मचारीले उल्टै तथानाम मुख छाडे। तँलाई निवेदनको प्रतिलिपी दिन मिल्दैन, तेरो बाउले भुकम्प पीडितको रूपमा राज्यबाट पाउने सेवा सुबिधा केहि पनि लिन्न भनेर निवेदन दिएको छ पढेर चाहिँ सुनाइदिउला भन्दै अच्युत तिमिल्सिना नामका प्राबिधिकले निवेदन पढे। गाउँपालिका अध्यक्ष गोविन्द खड्काले यत्रो जाल बुनेर षड्यन्त्र गरेको थाहा पाएपछि अहिले दमाई परिवारको निन्द्रा हराएको छ।

पुलिस प्रशासन, अड्डा, अदालत सबै किन्न सक्छु
गाउँपालिका प्रमुख खड्काले प्रमेश दमाईलाई बारम्बार मेरा विरुद्ध मुद्दा हाल्न जा भने। तेरा को को मान्छे लगाएर कहाँ कहाँ जाने होस् तुरुन्त जा, अनि घर पनि बनाएर देखा। आजकाल त तेरि छोरी पनि खुब अधिकार खोज्ने भइछे । त जस्ता दमाईका छाउराको मेरो कार्यालय गएर निवेदन माग्ने यत्रो हिम्मत कहाँबाट आयो ? म अरबपति हुँ, यहाँको राजा पनि मै हुँ । कहाँ जान सक्छस जा, जस्लाई गुहार गर्दा हुन्छ गर, मेरा विरुद्ध मुद्दा हालिहाल । नेपाल राज्यभरी जहाँ हालेनी मसंग पुलिस प्रशासन, अड्डा अदालत किन्न सक्ने र जस्तोसुकै मुद्दा लड्न सक्ने तागत छ। यसरी दिनहुँ दमाईलाई अनावश्यक धम्की र मानसिक तनाव दिन थालेपछी अन्यायमा परेका दमाईले पनि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय र गाउँपालिका अध्यक्ष विरुद्ध करकापको निवेदन जिल्ला अदालत रामेछापमा दर्ता गराएका छन् । साथै आफु निरीह दलित भएकै कारण खड्काले सधैं सहनै नसक्ने गरि तुच्छ, गाली बेइज्जती र अपमानित गर्ने गरेको, छोरीचेलीलाई अपशब्द प्रयोग गरेर मुख छाड्ने गरेको भन्दै दलित आयोगमा पनि उजुरी दिएका छन्। गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेको ब्यक्तिले नागरिकको बाच्न पाउने अधिकार माथि यसरी धावा बोल्नु भनेको अत्याचार मात्रै होइन, मानवअधिकारको ठाडो उलंघन भएकोले राष्ट्रिय मानव अधिकार संगठनले समेत यो घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष इन्द्र प्रसाद अर्यालले बताए ।

पेन्सन खाइदिने धम्की
धोबी बजारस्थित एक स्थानीयले ट्रष्टको टहरो बनाउदै थिए । वाइरिङ गर्नका लागि एउटा घरबाट मिटरको पैसा तिर्ने सहमतिमा बत्तिको लाइन आफ्नो तिर जोडे । खड्काले आफ्नो अनुमति बिना मनपरी गरेको भन्दै निज ट्रस्टवालालाई जरिवाना स्वरुप ३ लाख पैसा मागे । पैसा नदिए बिधुत अपराध अन्तर्गत जेल हाल्ने धम्की पनि दिए । खड्काले केहि बर्ष अगाडि सेवानिवृत्त भएका ती पीडितलाई जेल हाल्ने मात्र होइन, अब आइन्दा एक रुपैयाँ नपाउने गरि पेन्सन खाइदिन्छु भन्दै त्रास देखाए। पीडितले सोधे, यत्रो पैसा चाहिँ के का लागि? अध्यक्षले प्रष्ट बताएनन् तर पैसा मागिरहे । बिना कसुर धम्कीको भरमा हामी जस्ता गरिबले कहाँबाट तेत्रो पैसा दिनु अन्यायको पनि हद हुन्छ नि। मैले कुनैपनी हालतमा पैसा दिन सक्दिन भने, आजभोलि माग्न पनि छाडे । नाम उल्लेख नगर्ने शर्तमा ति पीडितले बताए ।

कार्यकारी अधिकृतमाथी हातपात
लिखु गाउँपालिका ४ र ५ मा बिधुतिकरणका लागि गाउँपालिकाको अध्यक्ष गोविन्द खड्काकै अडानमा गाउँपालिकाले ३ करोड बजेट छुट्याएको छ। एडिविले पुरै जिल्लाभरी नै बिधुतिकरणको प्रक्रिया अगाडि बढाएको अवस्थामा किन गाउँपालिकाको बजेट लगानी गर्ने भन्दै उनकै सदस्यहरुले यो रकम अन्तै सदुपयोग गर्ने प्रस्ताव राखे तर खड्का पटक्कै मान्न तयार भएनन् । अझ उपभोक्ता समिति नै नबनाई आफ्नै नाउँमा ३ करोड निकासा लिनेगरी कागज पत्र मिलाउन उनले कार्यकारी अधिकृत राजु प्रसाद न्यौपानेलाई दवाव दिए। न्यौपानले यसरी ब्यक्तिको नाउँमा जथाभावी चेक दिन नमिल्ने त्यो पनि ५ लाख भन्दा बढीको चेक दिने अधिकार आफुलाई नभएको बताए । पहिले उपभोक्ता समिति बन्छ, समितिको नाउँमा बैंक खाता खुल्छ, अनि मात्रै चेक काट्न मिल्छ अधिकृतले अडान कसे। अध्यक्ष खड्काले भने मैले सामान अर्डर गरिसके, उपभोक्ता समिति पछि बनाउला गाउँपालिकाको अध्यक्षको आदेश नमान्ने तँ को होस्? एक जना जिम्मेवार कर्मचारीको रूपमा आफूलाई मनपरि गर्ने छुट नभएकोले नियमसंगत ढंगले मात्रै चेक दिन मिल्ने कुरा अधिकृतले दोहोर्याए । अध्यक्षले भने लिखुको राजा भनेपनी, राष्ट्रपति भनेपनी, प्रधानमन्त्री भनेपनी मै हुँ, मेरो आदेश नमान्ने, मलाई नै नियम कानुनको कुरा गर्ने तँ को होस ? उहाँ अतिनै आवेशमा आएपछि म मौन बसे तर उहाँले तँलाई अहिल्यै ठिक पार्छु भन्दै पटकपटक झम्टेर हातपात गर्ने प्रयास गर्नुभयो। अरु साथीहरूले उहाँलाई रोकेको कारण मात्रै म बचे कार्यकारी अधिकृतले बताए । उहाँसंग काम गर्दा असुरक्षित हुने मात्रै होइन, अनुचित ठाउँमा फसिने डरले म मन्त्रालयमा काज मिलाउन काठमाडौ गएको थिए तर लगत्तै अध्यक्षज्यु काठमाडौ नै गएर आफ्नो गल्ती भएको स्वीकार गर्नुभो । उहाँले नै अब आइन्दा यस्तो गल्ती नदोहोर्याउने बाचा गरेर काममा फर्किन अनुरोध गरेपछि म पुनः कार्यालयमा हाजिर भए अधिकृत न्यौपानेले भने।

लिखु गाउँपालिकाका अध्यक्षका प्रत्यासी तथा राप्रपाका क्षेत्रिय अध्यक्ष गोरे तामाङ्ग एडिविले जिल्ला भरिनै बिधुतीकरणको प्रक्रिया अघि बढाएको अवस्थामा अध्यक्षले गाउँपालिकाको बजेट समेत बिधुतमा बिनियोजन गर्नु सोझै खड्काको कमिसन खाने दाउ भएको बताउँछन।  

खोला पुरेर जग्गा दलाली
काठमाडौको शंकरापुर नगरपालिका वडा न ६ मा रहेको नाइ खोलाभित्र रातारात ह्युम पाइप हाल्दै त्यसमाथी माटो बिछ्याएर गोविन्दले १७ रोपनी जग्गा प्लटिङ गरे । सोझासिधालाई खोलाको जग्गा देखाएर ठगी गर्ने नियतले रातारात करोडपति बन्ने सपना पालेका खड्काको प्लटिङ स्थानीयको सहयोगमा ६ नं वडाका वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले भत्काइदिए। आफ्नो वडामा यस्ता भुमाफियालाई मनपरि गर्न नदिने भन्दै २ वटा डोजर लगाएर खड्काको खोला माथिको प्लटिङ वडा अध्यक्ष श्रेष्ठले भत्काइदिएका हुन। सार्बजनिक पदमा बसेको ब्यक्तिले सार्बजनिक जग्गा र प्रकृति मास्ने काम क्षम्य नभएको श्रेष्ठले बताए । उनको दिन दहाडै सार्बजनिक खोला पुरेर बिक्री गर्ने उदेश्य सफल नभपछी पटकपटक आफुलाई ठिक पार्ने धम्की दिएको पनि वडा अध्यक्ष श्रेष्ठले बताए । वडा कार्यालयले डोजर चलाउदा अवरोध गर्न पुगेका खड्काका प्रतिनिधिलाई आक्रोशित स्थानीयले लखेटेका थिए ।

गाउँपालिकाको केन्द्र आफ्नै जग्गामा राख्ने तयारी
गाउँपालिकाको कार्यालय भवनको लागि ५ करोडको टेन्डर भैसकेको छ । हाल गाउँपालिकाको कार्यालय धोबीबजारस्थित एक ब्यक्तिको घरमा भाडामा छ । खड्काको तयारी भने बजार भन्दा ३-४ किलोमीटर टाढा रहेको आफ्नै जग्गामा केन्द्रको कार्यालय राख्ने हो । केन्द्रका लागि उनले करीब ३० रोपनी जग्गा सम्याएर राखेका छन् । त्यसको आसपासमा उनको अरु पनि जग्गा छ । चुनाव लड्दा आफ्नो करोडौं पैसा सकिएको भन्दै खड्काले आफ्नै जग्गामा केन्द्रराख्ने अभिव्यक्ति दिएका छन् तर उनको जग्गामा केन्द्र राख्ने कुरामा कुनै पनि सदस्यको सहमति नरहेको ७ नम्बर वडाका वडा अध्यक्ष सुवास बोहोराले जानकारी दिए।

प्रहरीको काममा अनावश्यक हस्तक्षेप 
स्थानीय तहले आफू अनुकुल २२ वटा स्थानीय कानुन बनाउने सुबिधा दिएको छ । धेरै जस्तो स्थानीय तहले कतिपय कानुन बनाइसकेका छन् । तर हाल सम्म उनले लिखुमा एउटा पनि कानुन बनाउन सकेका छैनन् । न त कानुन बनाउने बारे कसैसँग परामर्श गरेका छन् न कुनै बैठकनै राखेका छन् । उनी भन्छन् किन कानुन चाहियो र गाउँपालिकाको अध्यक्षको हैसियतले आफुले बोल्ने कुरा नै कानुन हो । उता विभिन्न घटनामा ईलाका प्रहरी कार्यालयमा आउने पीडित र पीडकको निसाफ गर्न उनी आफै प्रहरी चौकी पुग्छन् । सकेसम्म प्रहरीको काममा समेत हस्तक्षेप गर्न खोज्छन् । गाउँपालिका अध्यक्षको हैसियतले मैले भनेको तपाईंहरुले मान्नुपर्छ भन्दै आफ्नो निर्णय सुनाउछन् अझ फलानोलाई यति जरिवाना भनेर तोक्छन। ईलाका प्रहरी कार्यालयमा हाल नयाँ इन्स्पेक्टर गएपछि भने गोविन्दको दादागिरी कम भएको छ। अब चाहिँ कम्तिमा निष्पक्ष न्याय निसाफ हुनेमा स्थानीयहरु आशावादी देखिएको स्थानिय गोरे बहादुर तामाङ्ग बताउछन  ।

इन्स्पेक्टरलाई भने मलाई नमस्कार गर्नु पर्दैन?
गाउँपालिका प्रमुख भएपछि आफुलाई सबैले नमस्कार गर्नुपर्ने खड्काको सोचाइ भएरै होकी उनी आफुलाई नमस्कार नगर्ने मान्छेलाई पट्टक्कै रुचाउदैनन । इन्स्पेक्टरको दरबन्दी भएपनि इप्रका धोबीमा केही समयदेखि सइले कमान्ड सम्हालेका थिए । केही महिना अगाडि इन्चार्जका रूपमा नयाँ इन्स्पेक्टर राजकुमार तामाङ गए। इन्स्पेक्टर तामाङले छोटो समयमै स्थानीयको मन जितेर काम गरेका छन्। पटकपटक गाउँपालिका अध्यक्षले प्रहरी प्रशासनको काममा हस्तक्षेप गर्न खोजेपनि प्रहरी इन्चार्जले खड्कालाई प्रहरीको क्षेत्र भित्रको कानुन हातमा लिन दिएका छैनन् । अपराधमा संलग्न एकजना एमाले कार्यकर्ता राजु राउतलाई प्रहरीले खड्काकै अगाडि कारबाहीको भागिदार बनाएपछि खड्काले प्रहरी चौकीमै ३ दिन भित्रै इन्स्पेक्टर तामाङको सरुवा गर्ने र जागिरै खाइदिनेसम्मको धम्की दिए । गाउँपालिका प्रमुख खड्का मन्थलीसम्म धोबीमा पुलिस प्रशासनले आफ्नो आदेश नमानेर आतंक मच्चाउन थालेको कम्प्लेन गर्दै हिडे। एकपटक आफ्नै सुरमा धोबी बजारमा हिडिरहेका इन्स्पेक्टरलाई रोकेर खड्काले भने हेल्लो इन्स्पेक्टर मलाई नमस्कार गर्नु पर्दैन ? यो गाउँपालिकामा तपाईं ठुलो कि म ठुलो ? यो विषयमा इन्चार्ज तामाङले केही बताउन नचाहे पनि प्रत्यक्षदर्शीहरुले भने गोविन्दको अभिव्यक्तिले आफुहरुलाई निक्कै लज्जित बनाएको कथन सुनाए।

गाडीले किचेर मार्दिन्छु भन्दै लखेटे
जानकारहरु गोविन्द श्रीमतीको पनि त्यतिकै रहेको जनाउँछन्। आफुलाई अर्बपति बताउने खड्काले पहिलो विवाह सिन्धुपाल्चोकमा गरे । बिहे गरेको ६ महिना पछि गर्भवती भएकी जेठी श्रीमतीलाई अत्याधिक कुटेर सधैं घरायसी हिंसा मच्चाउन थालेपछि उनी ज्यान बचाउन माइतीको शरणमा पुगिन। जेठी श्रीमतीले माइतमै छोरी जन्माइन ।

जेठीलाई जबर्जस्त निकालेपछि बिवाह नै भएको छैन भन्दै खड्काले सरस्वती गुरुङसंग दोस्रो बिहे गरे। पेप्सीकोलामा घर किनेर राखेका सरस्वतीको एक छोरी एक छोरा छन् । छोरी ९ कक्षामा पढ्छिन ।

गोविन्द खड्काको बिहेको कहानी यतिमै सकिएन । त्यसपछि बानेश्वरको मायालु रोधी घरुमा काम गर्ने एकजना मगर थरकी अर्की २२ बर्षिया युवतीलाई बिहे गर्छु भन्दै अनामनगरमा फ्लाट लिएर संगै बस्न थाले खड्का। केहि महिना संगै राखेपछि खड्काले ती युवतीलाई काठमाडौबाट लखेट्ने योजना बनाए। युवतीलाई दोहोरीबाट पनि निकालिदिए, न त खड्काले फ्लाइटको भाडा नै तिरे। बरु उल्टै दिनहुँ धाक धम्की दिन थाले। खड्काले बिचल्ली पारेपछि ती युवती गाउँ फर्किन बाध्य भइन। युवतीका अनुसार गोविन्दले पटकपटक तलाई गाडीले किचेर मारिदिन्छु भन्दै धम्की दिए पछि डरले आफू ज्यान बचाउन काठमाडौ छाड्न बाध्य भएको बताइन् ।

उपचार खर्चमा मनपरि
खड्काले आफू निकटका मान्छेहरुलाई उपचारको बिल गाउँपालिकामा पेश गर्न भनेका छन् । उनी आफ्ना नजिकका मान्छेहरुलाई भन्छन् तपाईंहरु आफ्नो स्वास्थ्य उपचारको बिल गाउँपालिकामा पेश गर्नुहोस्। बिल चाहिँ अलि बढाएर बनाउनु। म सकेजती पैसा मिलाइदिन्छु। आफ्नै मान्छेलाई अलिअलि खर्चको ब्यबस्था गर्न नसके म अध्यक्ष भएको के काम। पहिले एउटा बिधि बनाऔं, साह्रै बिपन्न भए के कति सहयोग गर्न सकिन्छ, त्यस्को निर्णय गरौं यसरी जथाभावी बोल्दै हिड्दा पछि संकट पर्छु हामीले पटकपटक भन्यौं तर उल्टै अध्यक्षले आफुले गर्ने निर्णय माथि कसैले प्रश्न नउठाउन चेतावनी  दिने गरेको २ नम्बर वडाका वडा अध्यक्ष पदम तामाङ्गले  गुनासो गरे । 

बिकासे योजनामा काम थोरै बिल धेरै 
गोविन्दबहादुर खड्का गाउँपालिका अध्यक्ष भै सकेपछि थालिएका बिकास निर्माणका अधिकांश कामहरु कागजी प्रक्रिया मात्रै पुरा गरेर सम्पन्न हुन थालेका छन्। बिशेष गरि सडक निर्माणको क्षेत्रमा चरम लापरबाही देखिएको छ । थोरै रकममा सम्पन्न हुने योजनामा धेरै रकम छुट्याइएको र धेरै लगानी भएको देखाइएको छ। कतिपय ठाँउमा त बिश्वास नै गर्न नसकिने हिसाब निकालिएको रहेछ। हामीले केही योजनाको बारेमा चासो राखेका छौं। पहुँचको भरमा राज्यको पैसा कसैले दुरुपयोग नगरोस् भन्ने हाम्रो चाहना हो। राम्रो काममा पुर्ण समर्थन गर्छौ तर सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणमा कसैसंग सम्झौता गर्दैनौं। गरिब जनताको नाउँमा गरिने बिकास निर्माणमा केहि टाठाबाठाले कमिसन खाने र भ्रष्टाचार गर्ने परिपाटी नरोकिए आफुहरु चुप लागेर बस्दैनौं काँग्रेस नेता भोजराज खड्काले बताए ।

राजनीतिक पृष्ठभुमि नै नभएका अध्यक्षसंग असल राजनीतिक संस्कारको त हामीले पनि धेरै अपेक्षा गरेका छैनौं तर पनि एउटा जिम्मेवार पदमा बसेपछि कम्तीमा सबैलाई समेटेर जाने सोचाइ हुनुपर्ने हो। आफ्नो पदिय मर्यादाको पनि ख्याल गर्नुपर्ने हो। संसारका धेरै ठुलाठुला तानाशाह र सामन्तहरुले पनि आखिर जनताको अगाडि घुडा टेके। अत्याचारको शृङ्खला जारी रहे जनताले पनि पाखुरामा दहि जमाएर नबस्ने तरुण दल क्षेत्रिय अध्यक्ष बिमल घिसीङ्गले बताए।

विरोधी बाह्र घर बिस्थापित गर्छु
खड्काले पटकपटक भन्ने गरेका छन् मेरो मुख्य उद्देश्य लिखु गाउँपालिकामा आफ्नो विरोध गर्न सक्ने बाह्र घर भएकोले तिनीहरुलाई जतिसक्दो चाडो विस्थापित गर्नु हो। कस्लाई कसरी फसाउन सकिन्छ, उपाय सोच्दैछु । केहि ब्यक्ति फन्दामा पारिसकेको छु। बाँकीलाई पनि छिट्टै तह लगाउँछु। तर ती बाह्र घर भनिएका ब्यक्तिहरु कोको हुन् त्यो भने खड्काले खुलाएका छैनन् । कसैसँग सामान्य विवाद पर्यो कि उनी भनिहाल्छन् गोविन्द खड्कालाई नचिनेर चानचुने मान्छे ठान्नेहरु जम्मा बाह्र घर छन्, एक एक गरि ती सबैले मेरो हैसियत राम्रैसंग थाहा पाउनेछन् । यो बिषयमा गुनासो सुनिन थालेपछी नेपालि काँग्रेसका क्षेत्रिय सचिब निरोज खड्कासंग  कुरा गर्दा अध्यक्षको चरित्र, अभिब्यती र ब्यबहार टिप्पणी गर्न लायक नभएको प्रतिक्रिया दिए। सचिब खड्काले भने दम्भ, घमण्ड, अहंकार र सामन्ती प्रवृत्ति नै उहाँको मुल प्रवृत्ति देखिएको छ, यसरी धाक, धम्की र आतंककै भरमा शासन चलाउछु भन्ने अल्प बुद्धिले संसार थेग्छ भन्ने हामीलाई पटक्कै लाग्दैन ।

बहुमतभित्र अल्पमतमा खड्का
लिखु गाउँपालिकामा जम्मा ७ वडा छन्। गाउँपालिका प्रमुख र उपप्रमुख सहित अरु ६ वटा वडामा एमालेको एकलौटी जनप्रतिनिधि निर्बाचित भएका छन् । एउटा वडामा एक वडा अध्यक्ष र एक सदस्य मात्रै एमालेका छैनन् । यसरी हेर्दा लिखुमा कुल ३७ निर्वाचित जनप्रतिनिधि मध्ये ३५ जना त एउटै पार्टीका छन् । तर अध्यक्ष खड्कालाई भने सधैंजसो आफ्नै पार्टीका सदस्यबाट बहुमत पुर्याउन हम्मेहम्मे पर्छ। उनको कार्य शैलीबाट प्रायः सबैजसो सदस्यहरु आजित भएको बताइन्छ । सदस्यको समर्थन नपाए पनि कतिपय निर्णय उनी एकलौटी गर्छन् ।

गाउँ सभाले छानविन गर्छ
नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका गाउँपालिका प्रमुख गोविन्दबहादुर खड्काको ज्यादती बारे चौतर्फी कुरा उठ्न थालेपछि के एमाले पार्टीलाई यो विषयमा जानकारी छैन ? पार्टीले खड्काको गतिविधिलाई कसरी हेरेको छ ? भनेर एमाले जिल्ला कमिटीमा अध्यक्ष शान्ति पौडेललाई सोध्दा आफुलाई केहि जानकारी नभएको बताए । हामी पनि बुझ्छौ। यदि अध्यक्षले नियतबस् गल्ती गरेको पाइए गाउँ सभाले छानविन गर्ने ब्यवस्था भएको भन्दै एमाले अध्यक्ष पौडेल पन्छिए। स्रोत र साधनको हिसाबले लिखु गाउँपालिका रामेछापको सम्पन्न गाउँपालिका भित्रै पर्दछ। राजनितीक पृष्ठभुमि नभएपनि पैसाको बलमा चुनाब जितेका खड्कासंग कुनै खास कार्य योजना र भिजन नभएकाले जनताले ५ वर्ष सम्म दुख पाउन सिवाय केहि नपाउने भन्दै आफुहरु उनको ज्यादतीको मुकदर्शक बनेर नबस्ने नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि कृष्णबहादुर महतले बताए। निर्बाचित भएदेखिनै विवादमा तानिएका गाउँपालिका प्रमुख गोविन्दबहादुर खड्काको नेतृत्वले अबको ५ बर्षमा लिखु गाउँपालिकालाई कुन अवस्थामा पुर्याउछ त्यो भने हेर्न बाकी नै छ। यि सबै घटनाक्रमको बारेमा अध्यक्ष खड्कासँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। 
(स्थानिय विभिन्न व्यक्तिहरुसँगको कुराकानीमा आधारित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ