arrow

बहत्तर जिल्लामा काँग्रेसको स्थानीय तहका अधिवेशन सम्पन्न

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
congress.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि सुरु भएको निर्वाचन प्रक्रिया ७२ जिल्लाका लगभग सबै गाउँ, नगर वडा र नगर अधिवेशनमा शान्तिपूर्ण र उत्साहका साथ सम्पन्न भएको छ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले मुलुकभर सबै गाविसमा र नगरपालिकाका वडामा यही माघ १५ गतेका लागि प्रारम्भिक तहको निर्वाचन तालिका तय गरेको भए पनि केही स्थानमा भने निर्वाचन हुन बाँकी छ । 
 
क्रियाशील सदस्यता विवादले ढिलाइ भएका, पूर्वी तराई र हिमाली जिल्लाका केही गाविसमा बाहेक ७२ जिल्लामा शान्तिपूर्ण रुपमा गाउँ, वडा र नगर अधिवेशनमा सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । निर्वाचन हुन बाँकी सोलुखुम्बुमा सोमबार तथा बारा र पर्सामा एक÷दुई दिनमा निर्वाचन सम्पन्न हुने समिति सदस्य घिमिरेले बताए । त्यस्तै धनुषा, सिरहा तथा छुटेका गाउँ नगरमा भने आज निर्वाचन हुँदैछ । 
 
समितिले सबै तीन हजार १५७ गाविस र २१७ नगरपालिकामा निर्वाचन सम्पन्न गरी माघ २२ गते हाल कायम २४० निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन तयारी थालेको घिमिरेले जनाए  । काँग्रेसमा करिब तीन हजार दुई सय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने बताइएको छ । काँग्रेसका विदेशस्थित २५ जनसम्पर्क समितिको निर्वाचन सम्पन्न भइसकेको समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए  । काँग्रेसका १३ भ्रातृ तथा १७ शुभेच्छुक संस्थाले पनि केन्द्रीय निर्वाचनमा भाग लिन हैसियत अनुसार महाधिवेशन प्रतिनिधिको अधिकार प्राप्त गरेका छन् । 
 
क्षेत्रीय निर्वाचनपछि माघ २५ गते ७५ जिल्लामा जिल्ला कार्य समितिका लागि निर्वाचन हुँदैछ । सबै निर्वाचनका लागि समितिले सम्बन्धित क्षेत्रमा निर्वाचन सामग्रीका साथै निर्वाचन अधिकृत समेत पठाइसकेको सचिव पराजुलीले बताए  । यो अधिवेशन पार्टीको प्रारम्भिक तहको निर्वाचन भए पनि पार्टीको जिल्ला र केन्द्रको नेतृत्व चयनका लागि आवश्यक पर्ने महाधिवेशन प्रतिनिधि चयनमा महत्वपूर्ण मानिन्छ । त्यसैले यतिखेर काँग्रेसमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आआफ्ना पोल्टामा निर्वाचन परिणाम ल्याउन सक्रिय रुपमा लागेका छन् । हाल सम्पन्न निर्वाचनको परिणाम हेर्दा कोइराला र देउवा पक्षको बराबरी मत देखिन्छ । 
 
हालसम्म सभापति कोइराला, नेता देउवा र उपसभापति रामचन्द्र पौडेल केन्द्रीय सभापतिका लागि दावेदार देखिएका छन् भने महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य सुजाता कोइरालालगायतले पनि आफू सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन्  । नगरका वडा र गाउँ अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि सहितले क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिको चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था विधानमा छ । 
 
अधिवेशनमा सबै गाविस र नगर वडाबाट करिब एक लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी-सदस्य निर्वाचित हुने काँग्रेस समितिका सचिव पराजुलीले बताए । पार्टीको केन्द्रीय महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ