world cup

पिज्जा बनाएर ख्याति कमाएका टंकको रेष्टुराँमा सुनको चुल्हो

भरत प्रधान, प्रकाशित मिति : २०७४ फाल्गुण १५ मंगलबार , १३,६७७ पटक हेरिएको

लिस्बन, पोर्चुगल ।  कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् ।

घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन् ।

इटालियन खानाका लागि सापकोटा युरोपमा बादशाह जतिकै प्रख्यात छन् । इटालियन सेफका रुपमा चर्चित सापकोटा युरोपेलीमाझ निकै लोकप्रिय छन् । इटालियन खानाका पारखीहरुलाई उत्कृष्ट स्वाद पस्किएर चकित नै पारेका सापकोटा सेफ मात्र होइनन् युरोपका एक सफल व्यवसायी पनि हुन् । सापकोटाले आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच ठूला रेष्टुराँ पनि सञ्चालन गरेका छन् ।

आफैंले केही गरेपछि मात्र बिहे गर्ने सोच बनाएका सापकोटालाई बुबाआमाले बिहे गर्न करकाप गरे तर उनी बिहे नगरी १८ वर्षकै उमेरमै विदेशिए । उच्च शिक्षा हासिल गरी नेपालमै केही गर्ने सोच बनाएका कानुनका विद्यार्थी सापकोटा सन् १९९२ मा गाउँकै एक छिमेकी दाइसँग जर्मनी छिरेका थिए । बिहान जर्मनी ओर्लेका सापकोटाले त्यही दिन साँझदेखि एक इटालियन रेष्टुराँमा काम गर्न थाले ।
 
केही सीप नभएकै कारण शुरुमा सापकोटाले दैनिक १२ घण्टा भाँडा माझ्ने काम गरे । उनलाई यो कामदेखि निकै ग्लानि भयो । तर युरोपमा श्रमको उच्च सम्मान भएकै कारण काम गर्दै जाँदा सामान्य जस्तै लाग्यो । नयाँ ठाउँ, भाषाको समस्या, त्यसमाथि सीप नभएकै कारण निकै दुःख भोग्नुपरेको स्मरण गर्दै सापकोटाले विगत सुनाए । “सीप नभएकै कारण करिब डेढ महिना भाँडा माझ्ने काम गरेँ, भाषा नबुझेर कति दिन त भोकै पनि सुतें,” सापकोटाले भने – “धेरै दुःख भोगें । विदेश आएकामा कता कता पश्चाताप पनि लाग्यो । त्यसबखत स्वदेश फर्केर अध्ययनलाई निरन्तरता दिऊँ कि जस्तो पनि भयो ।” श्रमको उच्च सम्मान अनि सबैले उस्तै मेहनत गरेको देख्दा आफूलाई पनि काम गर्ने जोश, जाँगर र उत्साह आएको सापकोटा सम्झिन्छन् ।

उनी दायाँबायाँ नलागेर पाक कलामै आफ्नो भविष्य खोज्न तल्लीन भए । सानो छँदा आमाले मीठो–मीठो पकाएर खुवाएको स्मरण गर्दै सापकोटाले भने – “बाल्यकालदेखि नै आमासँग खाना पकाउन सिकेको थिएँ । यसैकारणले पनि मलाई विदेशी खानाबारे थप जिज्ञासा, रुचि र मोह बढ्दै गयो । पाक कलामै सफल हुने अठोटका साथ मेहनत गर्दै गएँ ।” काम गर्ने फरक शैली, इमान्दारिता, लगनशीलता र जिज्ञासु स्वभावका कारण सापकोटा रेष्टुराँ सञ्चालकको नजरमा उत्कृष्ट ठहरिँदै गए ।

सापकोटाको कामप्रतिको लगाव र मेहनत देखेर रेष्टुराँ मालिकले उनलाई एक पछि अर्को जिम्मेवारी दिँदै गए । भाँडा माझ्ने कामदारका रुपमा उक्त रेष्टुराँमा प्रवेश गरेका सापकोटा किचन हेल्पर, वेटर हुँदै तीन वर्षमै इटालियन सेफ बन्न सफल भए । परिश्रमले नै आफूलाई सफल सेफ बनाएको ठान्ने सापकोटाले भने – “यही क्षण नै मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण क्षण हो । ५५० युरोबाट पारिश्रमिक वृद्धि भई एक हजार १०० युरोसम्म पुगेको थियो ।”

निरन्तर चार वर्षसम्म उक्त रेष्टुराँमा काम गरेपछि उनी नयाँ सोच र सपना बुनेर सन् १९९६ मा पोर्चुगल हानिए । पोर्चुगल आएपछि फेरि अर्को संर्घष शुरु भयो । मासिक ३०० युरोमा काम शुरु गरेका सापकोटाले तीन वर्षपछि आफ्नै लगानीमा इटालियन रेष्टुराँ खोले । उनमा खानाबारे व्यावहारिक ज्ञान भए पनि सैद्धान्तिक ज्ञान थिएन । त्यसपछि उनी इटालीको रोमस्थित गाम्बेरो रोस्सो एकेडेमीमा इटालियन परिकारसम्बन्धी दुई वर्षे कोर्ष पढ्न शुरु गरे ।

ज्ञानले खारिएका सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा थप दुई वटा इटालियन रेष्टुराँ सञ्चालन गरे । सापकोटाले सञ्चालन गरेका कोमे प्रिमा, र्फोनो दे ओरो र इल मेर्कातो युरोपमै चर्चित इटालियन रेष्टुराँ हुन् । सापकोटाका अनुसार र्फोनो दे ओरो रेष्टुराँ विश्वकै उत्कृष्ट २० पिज्जेरिया अर्थात् पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो जहाँ सुनको चुल्होमा खाना पकाइन्छ । सुनको चुल्होमा खाना पकाइने उक्त रेष्टुराँ विश्वकै दोस्रो रेष्टुराँ भएको सापकोटाको दाबी छ ।

 सोही सुनको चुल्होमा सापकोटाले दैनिक इटालियन पिज्जा पकाउँछन् । अन्य रेष्टुराँ भन्दा पृथक, दाउराको चुल्होको प्रयोग र विशुद्ध इटालियन परिकार पाइने भएकै कारण आफ्नो रेष्टुराँ इटालियन खानाका पारखीहरुको रोजाइमा परेको सापकोटाको भनाइ छ । सापकोटा स्वयं अहिले पनि दैनिक १६ घण्टा खट्छन् । सापकोटाले गरेको मेहनत देखेर पोर्चुगिज नागरिकहरुले समेत उनलाई उच्च सम्मान र प्रशंसा गर्छन् ।

उनलाई भेट्न आउने जो कोहीले पनि उनी सेफ पोशाकमै खाना पकाइरहेको देख्न सक्छन् । इटालियन खाना बनाउँदा छुट्टै आनन्द र रोमाञ्चको अनूभुति हुने उनको भनाइ छ । पछिल्लो समय अन्य उत्कृष्ट पेशामा झैं खाना बनाउने कलामा विशेषज्ञता हासिल गर्नेहरुको मोह विश्वमै क्रमिक रुपमा बढ्दै गएको सापकोटाको अनुभव छ ।

युनेस्कोले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’ बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई हालै मात्र विश्व सम्पदा सूचीमा समावेश गरेको छ जसमा पोर्चुगलबाट छनौट भएका चार इटालियन पिज्जा रेस्टुराँमध्ये दुई वटा सापकोटाले सञ्चालन गरेका रेष्टुराँ परेका छन् । न्यापोलितान पिज्जाका दुई परिकार ‘मारिनारा र मागएरिता’ विश्वभरका पिज्जा पारखीहरुमाझ निकै प्रख्यात छ ।

सापकोटाका अनुसार मीठो, स्वादिष्ट, स्वस्थकर, पकाउने सरल विधि र सबैको पहुँचमा भएकै कारण विश्वबजारमा इटालियन खानाको माग दिनप्रतिदिन बढ्दो छ । विश्व बजारमा निकै महंगो संसारकै सीमित रेष्टुराँहरुमा पाइने च्याउका प्रजातिबाट बनाइने खाना, आधुनिक वैज्ञानिक विधिबाट निश्चित तापक्रममा पकाइने मासुका परिकार, पिज्जा, पास्ता, चाउचाउ लगायतका खानासापकोटाले बनाउने विशेष इटालियन परिकारहरु हुन् । उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन् । पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन् ।

 साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन् । उनले इटालियन खानामा दर्जनौं पुरस्कारसमेत जितेका छन् । इटालियन खानामा अद्भूत कौशल प्रदर्शन गरेकै कारण इटाली सरकारले सापकोटालाई उत्कृष्ट अवार्ड नै प्रदान गरेको छ । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए । सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालियन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समेत लेखेका छन् ।

उनले नेपालको पहिचान, कला, सँस्कृति र नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानी लिस्बनमै दुई वटा नेपाली रेष्टुराँ पनि सञ्चालन गरिरहेका छन् जहाँ परम्परागत र आधुनिक नेपाली खानाका परिकारहरु पाइन्छ । उनले सञ्चालन गरेको प्रत्येक रेष्टुराँमा प्रतिदिन ३०० देखि ३५० जनाले खाना खान्छन् । पाँच वटा रेष्टुराँका मालिक सापकोटाले ६० नेपाली र २० विदेशी गरी ८० जनालाई रोजगारी समेत दिएका छन् । सापकोटाले पोर्चुगलमा पाइने ओलिभ, चेरी लगायतका वनस्पति बाग्लुङ्गमा र नेपालमा पाइने धनियाँ, तुलसी, मरहटी पोर्चुगलमा परीक्षण खेती समेत शुरु गरेको बताउछन् ।  

आफ्नो यो सफलताको श्रेय भने जर्मनीका रेष्टुराँ मालिक सँगै आफ्नो बुबाआमा र श्रीमतीलाई दिन चाहन्छन् उनी । सपरिवार पोर्चुगल बस्दैआएका सापकोटालाई उनकी श्रीमती सीता सापकोटाले व्यवसायमा सघाउने गरेकी छन् । नेपालीहरुप्रति युरोपेलीहरुको हेराइ निकै राम्रो भएको उनको बुझाइ छ ।

समाजसेवीका रुपमा समेत परिचित सापकोटा गैर आवासीय नेपाली संघ पोर्चुगलका संस्थापक समेत हुन् । पोर्चुगल आउने धेरै नेपालीलाई रोजगारीको व्यवस्था मिलाइदिने, पीडित नेपालीहरुलाई सहयोग गर्ने जस्ता काममा पनि उनी अग्रसर हुन्छन् । सापकोटाले आफ्ना बुवा जगुपति सापकोटाको इच्छा अनुरुप हरिहर सन्न्यास आश्रम देवघाटलाई ५१ लाख ५१ हजार १०१ रुपैयाँ सहयोग प्रदान गरेका छन् । यस्तै उनले बाग्लुङ जिल्लाको सरस्वती प्राविलाई ३ लाख, कालापातल प्राविलाई १ लाख २० हजार र सुन्तलाचौर उच्च माविलाई १ लाख २० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गरेका छन् ।
 
आफ्नो सीप, क्षमता र कलामार्फत विश्वमाझ नेपाल र नेपालीलाई चिनाउन आगामी दिनमा थप प्रयत्न गर्ने अठोट उनी व्यक्त गर्छन् । आफूसँग रहेका पाक कलालाई नेपालमा समेत प्रवद्र्धन गर्ने उनको योजना छ ।

नयाँ