- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संघीय संसद सचिवालयले मातृभाषामा सपथ लिने सांसदहरुलाई विहीबारसम्म निवेदन दिइसक्न भनेको छ ।
सचिवालयले सपथ लिनु ३ दिनअघि नै मातृभाषामा सपथ लिने सांसदहरुलाई निवेदन भनेको थियो । अहिलेसम्म ७ जनाले मातृभाषामा सपथ लिन निवेदन दिएका छन् ।
संघीय संसदका सदस्य अनिलकुमार झाले हिन्दी, प्रदीप यादव र हरिनारायणप्रसाद रौनियारले भोजपुरी, मोहमद इस्तियाक राईले अवधी तथा शान्ता चौधरी र गंगा चौधरी सत्गौवाले थारु भाषामा शपथ लिने भनि निवेदन दिएका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने छ ।
सचिवालयले आइतबार अपरान्ह ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रिय सभाका सांसदहरुको सपथ गराउने कार्यतालिका तय गरेको छ । त्यही कार्यतालिकाका विषयमा वुधबार दलहरुलाई औपचारिक जानकारी गराइएको प्रवक्ता गौतमले बताएका छन् ।
सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ५ दलसँग संघीय संसदको पहिलो अधिवेशन र सांसदहरुको सपथका विषयमा छलफल गरेको छ । आउने सोमबार अपरान्ह ४ बजे राष्ट्रपति विद्या भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आहृवान गरेकी छन् ।
संसद सचिवालयले संसदको अन्तरिम कार्यविधि तय गर्न आइतबार सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ । कार्यव्यवस्था परामर्श समिति नभएकाले सचिवालयले सर्वलदलीय बैठक बोलाएको हो ।