arrow

लिँदैछन् संघीय संसद्का सांसदहरुले सपथ, यस्तो छ तालिका  

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
samsad-bhawan.jpeg

काठमाडौँ । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो । 

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न १६ः०० बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण १७ः०० बजेका लागि तय भएको छ । 

दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी सम्पूर्ण तयारी गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही फागुन ८ गते नेपालको संविधानको धारा ९३ (१०) बमोजिम गरेको आह्वानअनुसार आइतबार दुवै सदनको बैठक बस्न लागेको हो । 

राष्ट्रपति निवासमा ज्येष्ठ सदस्यको शपथ 

दुवै सदनका सदस्यको शपथ र पहिलो बैठकको तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता डा गौतमले आइतबार १३ः०० बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ । 

राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ ग्रहणको तयारी सकिएको जानकारी दिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यले शपथ लिएपछि उनीहरुले नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई शपथ गराउने छन् ।  

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नभएसम्म उनीहरूले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ । 

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट ज्येष्ठ सदस्य छन् । 

राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरूको शपथ नहुने भएको छ । 

अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्चमा रिट निवेदन परेको थियो । 

फौज्दारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबाट कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरू आएमा शपथ लिन सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता गौतमले बताए । 

सिलवाल शनिबार आयोजित नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आयोजना गरेको दुवै सदनका सदस्यलाई आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।  

प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् । दुवै सदनको संयुक्तरूपलाई संघीय संसद् भनिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदन मानिन्छ । गत मंसिर १० र २१ मा प्रतिनिधि सभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ